१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत -  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए । “बाटो बन्द भएमा खुलाउनेबाहेक  अरु काम हुँदैन”, थापा मगरले भन्नुभयो, “अरु काम मौसमले गर्न दिएन । ” उनले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाए।

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ ।

यो खण्डमा अहिलेसम्म भौतिक  प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकाम कुश्मा बजार क्षेत्रको चार किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब दुई किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन् । दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ ।

प्रकाशित: ४ श्रावण २०७६ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App