१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

समिरले दिलाए स्वर्ण

दक्षिण एसियाली शारीरिक सुगठनकाे ६५ केजी ताैल समूहमा स्वर्ण विजेता समिर श्रेष्ठ (बीच), रजत विजेता भारतका दिनेश काम्ले र कांस्य विजेता नेपालकै प्रज्वलमान शाक्य ट्रफिका साथ। तस्बिरः नागरिक

काठमाडौं– नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी प्रतियोगितामा शुक्रबार उनले भारत र आफ्नो देशका खेलाडीलाई पछि पादै स्वर्ण जितेका हुन्। भारतका दिनेश काम्लेले रजत जित्दा नेपालकै प्रज्ज्वलमान शाक्यले कांस्य पदकमै चित्त बुझाए। तौल समूहमा पहिलो भएका समिरले शनिबार हुने ओभर च्याम्पियनको लागि पनि प्रतिस्पर्धा गर्नेछन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो। पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे। माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोस्रो भए।

पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोस्रोमै खुम्चिए। भारतका दिपु पहिलो र अफगानिस्तानका मोहम्मद कसिम हुसैन तेस्रो भएका थिए। पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे। अफगानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेस्रो भए।

महिला एथलेटिक फिजिक्समा नेपालले दुई पदक हासिल ग-यो। रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते। भारतकी निसाा भोयर पहिलो भइन्। पुरुष फिट्नेस फिजिकमा नेपालका राजु राईले रजत प्राप्त गरे। अफगानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेस्रो भए।

विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे। त्यसअघि प्रतियोगिताको खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: ४ श्रावण २०७६ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App