१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सोनावतीको विवाह

डा. पुष्करराज भट्ट
प्रायः सधैं विद्यालय आउने सोनावती आज स्कुल आइनन्। बिरामी भएर होला भन्ने साथीहरूले लख काटे। उनको घरबाट विद्यालय आधा घण्टा टाढा छ। चौथो दिनपछि विद्यालय आउँदा उनको मुख निन्याउरो थियो। सरले बोलाउँदा पनि उनी बोलिनन्, निकैबेर टोलाइरहिन्। उनका साथीहरू सोधपुछ गर्न थाले।                 

‘यतिका दिन विद्यालय आइनौ ? कुनै समस्या प¥यो कि ?’ चम्पाले सोधिन्।
‘होइन–होइन, त्यस्तो केही होइन।’ सोेनावतीले कुरा लुकाउन खोजिन्।    

‘ठीकै छ, मलाई केही भएको छैन।’ उनले कुरा टार्ने हिसाबले भनिन्। साथीहरू अचम्ममा परे। सधँै हाँसेर बोलिरहने मानिस पनि कस्तो भएको ? उनीहरूले कुरा बुझ्नै सकेनन्। ‘तिमी सधैँ विद्यालय आउँथ्यौं। यसपटक किन आइनौ ? तिमीलाई कुनै समस्या छ भने भन। हामी समाधानको उपाय खोज्न सक्छौँ कि ?’ रामकलीले कुरा पत्ता लगाउने उद्देश्यले भनिन्।

अर्को दिन आउँदा पनि उनको अवस्था अघिल्लो दिनको जस्तै थियो। यस्तो अवस्था देखेपछि सबै साथीहरू गएर प्रधानाध्यापकलाई सोनावतीको अवस्था बताए। उहाँले कुरा बुझेर समस्याको समाधान खोज्ने आश्वासन दिनुभयो। प्रधानाध्यापकले सोनावतीलाई बोलाएर सोध्नुभयो,‘तिमी निकै दिनदेखि निराश छ्र्यौ। तिमीलाई के भएको छ ? हामीलाई भन। हामी कुनै समाधान खोज्न सक्छौं कि ?’
‘हैन, ठीकै छ, सर।’ सोनावती उम्किन खोजिन्।

स्थिति साह्रै गम्भीर भएजस्तो ठानेर प्रधानाध्यापकले दयाराम गुरुलाई कुरा बुझ्न लगाउनुभयो। दयाराम गुरुले पाँचौ घन्टीमा पढाउनु हुन्थ्यो। कक्षा सकिएपछि सोनावती एकाएक रुन लागिन्। ‘तिमीलाई कसले के गरेको छ ? हामीलाई भन।’ गुरुले आश्वस्त पार्न खोज्नुभयो।

‘मेरो घरका मानिसहरू मेरो विवाह गर्न लागिरहेका छन्। मलाई अझै पढ्ने मन छ। तर, कोही पनि भनेको मानिरहेका छैनन्।’ सोनावती साथीहरूमाझ खुलस्त भइन्।
‘ए, त्यस्तो पो रहेछ ! तिमी अहिले तेह्र वर्ष मात्र भयौ। अहिले विवाह गर्न हुन्छ त ?’  चम्पा बोलिन्।

‘के गर्ने, घरमा कोही पनि मेरो कुरा सुन्दैनन्। म के गरूँ ?’  सोनावती निराश देखिइन्। रामवतीले केही सोचेर भनिन्, ‘तिमी चिन्ता नलेऊ। हामी केही गर्छौँ।’ दयाराम गुरुको सल्लाह लिएर सोनावतीका साथीहरू प्रधानाध्यापककहाँ गए। उनीहरूले प्रधानाध्यापकलाई सबै कुरा बताए। उनीहरूको कुरा सुनिसकेपछि उहाँले भन्नुभयो, ‘तिमीहरू चिन्ता नगर। म सोनावतीको घरमा गएर कुरा गर्छु।’

विद्यालय छुट्टी भएपछि प्रधानाध्यापक सोनावतीको घर जानुभयो। आफ्नो घरमा प्रधानाध्यापक आएको देखेर सोनावतीका बुवाले स्वागत गर्नुभयो। सोनावतीका बुवा कृपारामले शङ्काउँदै सोधे, ‘सर, हाम्री छोरीले कुनै बिगार गरिन् कि ?’ ‘त्यस्तो केही होइन। तपाईकी छोरी पढाइमा तेजिली र अनुशासित छिन्। यस्ती असल छोरीलाई पढाउन छोडेर किन सानै उमेरमा विवाह गरिदिन लाग्नुभयो ?’ प्रधानाध्यापकले सोनावतीको प्रशंसा गर्दै आफ्नो जिज्ञासा पनि राख्नुभयो।

‘के गर्ने हजुर, हामी गरिब मान्छे। धेरै दाइजो दिन सक्दैनौं। त्यहीमाथि हजुरलाई हाम्रो जातिको चलन थाहा छँदै छ। सानैमा ‘सट्टा विवाह’ हुन्छ। यसको दाजुको विवाह गरेपछि यसको पनि दाजुको माइतीमा विवाह गर्नुपर्ने भयो। अहिले बुहारीको माइतीबाट खबर गरेपछि हामीले विवाह गरिदिन खोजेका हौँ। अहिले उहाँहरूको कुरा नमाने छोराको पनि घरबार बिग्रने डर छ।’ कृपारामले आफू जातीय चलनका अगाडि विवश भएको बताए।

‘म पनि थारु जातिकै मानिस हुँ। मलाई पनि यो सब थाहा छ। अहिलेको जमानामा बालबच्चालाई सही बाटो देखाउन सकिएन भने उनीहरूको भविष्य बिग्रने डर हुन्छ। छोराछोरीको भविष्यभन्दा ठूलो नातागोता होइन। भोलि तपाईंको छोरी योग्य भए विवाहको समस्या पर्दैैन।’ प्रधानाध्यापकले सम्झाउन खोज्नुभयो।
कुराकानीकै क्रममा आफूले आफ्ना छोराछोरीलाई पढाएर योग्य बनाएको र उनीहरूको भविष्य बनेको कुरा बताउँदै कृपारामलाई पनि छोराछोरीको विवाहभन्दा उनीहरूको भविष्यतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

‘सरको कुरा मलाई चित्त बुझ्यो। मैले सानो उमेरमा विवाह गर्नुपर्दा घरपरिवारमा व्यस्त भएँ। प्रगति गर्न पाइनँ। अब भाइबहिनीलाई भने पढाउनुपर्छ।’ सोनावतीको दाजु रामकुमारले समर्थन जनाउँदै भन्यो।

‘मैले त पहिले भनेकी हुँ। सोनावतीको बुबाले जोर गरेर मात्र हो।’ आमा बासमतियाले पनि छोरीको विवाह गर्ने कुरामा सहमत नभएको कुरा बताइन्। ‘पहिले कोही पनि बोलेनन्। अहिले सबको कुरा एउटै छ। सरले भनेको कुरा मैले पनि मानें। अहिले छोरीको विवाह गर्ने कुरा भएन। अब छोराछोरीलाई जतिसक्दो पढाउने कोसिस गर्छु।’ बाबु कृपारामले पनि सबैको कुरामा सहमति जनाए। घरभित्रबाट उनीहरूको कुरा सुनिरहेकी सुनावती आएर प्रधानाध्यापकलाई धन्यवाद दिँदै भनिन्,‘धन्यवाद सर ! तपाइँले मलाई बचाइदिनुभयो।’ अर्को दिन सोनावतीलाई खुसी देखेर सबै साथीहरू खुसी भए।

प्रकाशित: ४ श्रावण २०७६ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App