१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बन्दुक हराएको सूचना

एकदेव अधिकारी

एकदेव अधिकारी

प्रहरी जवानको पदबाट सेवानिवृत भएपश्चात सन्तबहादुरको पछिल्लो दस वर्ष लाटोकोसेरोसँग प्रतिष्पर्धा गर्दै बितेको थियो। जवानीका दिनहरू राष्ट्रका लागि समर्पित गरेको सन्तबहादुरको चालीस कटेपछि रमाउने योजनालाई साकार गरिदिने कुनै साहिँलीसँग धैर्य तथा समर्पण रहेन। फलस्वरुप उसको पछिल्ला वर्षहरू एक्लै बिताउँदै आएको थियो। पड्किने या नपड्किने ठेगान नभएको ब्रिटिस सरकारको पालाको एउटा दुईनाले बन्दुक उसको पछिल्लो दस वर्षदेखिको एक मात्र साथी थियो।

बैंक भवनको रात्रिकालीन सुरक्षापश्चात घर फर्केपछि बन्दुकको नाल खोलेर राइफलको तेलले सफा गरेर घाममा सुकाएपश्चात ऊ आराम गर्न पल्टेको थियो।

दुई–तीन घन्टाको आरामपश्चात जब ऊ उठेर बन्दुक सुकाएको ठाउँमा पुग्यो, उसको मन ढक्क फुलेर आयो। उसले सुकाएको ठाउँमा बन्दुकको नाल थिएन।

बारूद पड्काउने बन्दुकको नालबाट पहिलो पटक प्रेमको रंग बर्सियो।

उसले घरको कुना–काप्चा सबैतिर खोज्यो। तर, पाउन नसकेपछि बन्दुक हराएको सूचना दिन प्रहरी चौकीमा गयो। बन्दुक हराएको सूचना दर्ता गराइसकेपछि घर फर्कियो। उसको घरमा छिमेकीको बाह्र वर्षे छोरो विनोद उसैलाई पर्खिरहेको थियो।

घरमा आइपुग्नासाथ उसले सोध्यो, ‘हजुरबा, हजुरलाई थाहा छ– बन्दुकले के गर्छ ?’
उसको मनस्थिति यो प्रश्नको उत्तर दिने त थिएन तर पनि बच्चासँग के गुनासो गरोस्। उसलाई हेर्दै उसले मुख खोल्यो, ‘हैन के भन्छ यो, मैले त्यत्रो वर्ष सेनामा के गुच्चा खेलेर आ’को हुँ र ? त्यसले त मान्छे मार्छ नि।’

‘हैन हजुरबा, हजुरलाई त केही थाहै रहेनछ, एक छिन पर्खिनुस् है त,’ ऊ त्यहाँबाट पर्खाल नाघेर आफ्नो घरको कम्पाउण्डमा हामफाल्यो र उसको हराएको बन्दुकको नालको पिचकारी बनाएर उसलाई रंग छेप्दै भन्यो– ह्याप्पी होली हजुरबा।’

तीन दशकदेखि युद्धको बारूद पड्काउने बन्दुकको नालबाट पहिलो पटक प्रेमको रंग बर्सिँदै थियो। अचानक रसाएका उसका आँखा पुछ्दै उसले विनोदलाई अंगालोमा बे¥यो र प्रेमपूर्वक उसलाई आफ्नो छातीमा टाँस्यो।

प्रकाशित: ४ श्रावण २०७६ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App