१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

लन्डनमा नेपाली चिया महोत्सव

लन्डन- नेपालमा कार्यरत ब्रिटिश गैर सरकारीसंस्थाहरुबीच आपसी सहयोग र समन्वय बढाउने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रम आयोजना गरियो।

नेपाल विकास सम्मेलन- ८ तथा नेपाली चिया महोत्सव कार्यक्रममा 'नेपालको विकासका लागि ब्रिटिश कल्याणकारी संस्थाहरुलाई प्रोत्साहन' विषयमा विभिन्न प्रस्तुतिहरु गरिएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद मार्कस जोन्सले नेपाल ब्रिटेनको भरपर्दो मित्र भएको बताउंदै नेपालको विकासमा सघाउन बेलायत प्रतिबद्ध रहेको बताए। उनले हाल ब्रिटेनले नेपाललाई प्रति वर्ष झन्डै १० करोड पौण्ड सहयोग उपलब्ध गराउँदै आएको जनाउँदै नेपालमा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा कार्यरत ब्रिटिश संस्थाहरुको प्रशंसा पनि गरे।

'ब्रिटेन इन नेपाल एनजीओज' (ब्रांगो) का संयोजक डेविड थोमसले नेपालमा काम गरिरहेका ब्रिटिश कल्याणकारी संस्थाहरु तथा अन्य संगठनहरुबीच कुराकानी, सहकार्य र सहयोग बढाउने उद्देश्यले उक्त संस्था स्थापना गरिएको बताए। उनले १०० भन्दा बढी ब्रिटिश कल्याणकारी संस्थाहरु नेपालमा कार्यरत रहेकोमा ४२ ओटा आफ्नो संस्थामा आबद्ध भैसकेको जनाए।

नेपालका लागि पूर्व ब्रिटिश राजदूत तथा ब्रिटेन-नेपाल सोसाइटीका अध्यक्ष एन्ड्रयु स्पर्क्सले नेपालमा कार्यरत ब्रिटिश कल्याणकारी संस्थाहरुलाई ब्रिटिश राजदूतावाससंग समन्वय गरी काम गर्न सुझाव दिए। उनले चेभनिंग स्कलरशिपजस्ता छात्रवृत्तिका लागि थप रकम छुट्याउन ब्रिटिश सरकारलाई आग्रह पनि गरे।

सहभागीहरुलाई स्वागत गर्दै ब्रिटेनका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल तथा ब्रिटेनबीच जनस्तरको सम्वन्ध बलियो बनाउन ब्रिटिश गैर सरकारी संस्थाहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे। उनले गत महिना प्रधानमंत्री के पी शर्मा ओलीको बेलायत भ्रमण निकै सफल र उपलब्धिपूर्ण रहेको बताए । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न ब्रिटिश कल्याणकारी  संस्थाहरुलाई आग्रह पनि गरे।

कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य, ब्रिटेन नेपाल च्याम्बरका अध्यक्ष राजेन्द्र खेतान, ब्रिटेन नेपाल मेडिकल ट्रस्टकी सह अध्यक्ष डा. जिलियन होल्डस्वर्थ लगायतका वक्ताले नेपाल- ब्रिटेन सहयोगका विविध पक्षबारे बोलेका थिए।

कार्यक्रमको अर्को चरणमा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाली चियाका बारेमा प्रस्तुति गरेका थिए। सो अवसरमा सहभागीहरुलाई  अर्ग्यानिक नेपाली चिया उपहार पनि दिइएको थियो।

प्रकाशित: ३ श्रावण २०७६ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App