१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागकाे तयारीका लागि काम थालियाे

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि काम थालनी भएको बताएका छन्।   नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले राखेपका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको दिन सिलवालले यस्तो बताएका हुन्।

एनएनआइपिएले सदस्यसविच सिलवाललाई बिहीबार खेलाडीको हकहितबारे १३ बुँदे ध्यानकार्षण पत्र बुझाएको थियो। नेपालले आउँदो डिसेम्बर १ बाट आयोजना हुने १३औं सागको तयारी, खेलाडी हकहितका विषय, खेलजीवनपश्चात् देशका लागि पदक दिलाउने खेलाडीलाई आर्थिक ग्यारेन्टी, आवधिक रूपमा प्रतियोगिता तथा प्रशिक्षणको उचित व्यवस्थालगायतका विषय उल्लेख गर्दै संघले १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो।

ध्यानकर्षण पत्र बुझेपछि सदस्यसचिव सिलवालले उल्लेख गरेका माग आमखेल र खेलाडीका लागि निकै महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिए। सदस्यसचिव सिलवालले अभिभावकलाई माग पत्र बुझाउने नभई भेटेर कुरा गर्न आग्रह गरेका थिए।

‘तपाईंहरूलाई केही चाहियो भने बुवाआमालाई पक्कै पनि मागपत्र दिनुहुन्न होला। कुरा गर्नहुन्छ होला। म पनि खेलकुदको अभिभावक हुँ। केही समस्या छ भने भेट्न आउनुस्, बसेर कुरा गरांैला र हल निकालौं ला। मागपत्र दिइरहनु पर्दैन,’ सदस्यसचिव सिलवालले भने, ‘देशका लागि खेल्ने खेलाडीको विषयमा म पनि चिन्तित छु। आउन लागेको साग खेलमा पदक ल्याउने खेलाडीका लागि विशेष प्राथमिकता दिइन्छ। चौथो भएको टोलीलाई सामान्य मिहिनेतमा केन्द्रित गरेर पदक र कांस्य पदक ल्याएकालाई स्वर्ण ल्याउनका लागि विशेष प्रशिक्षणको मौका दिनेछौं।’

‘साग हुने नहुनेमा धेरैमा अन्योल थियो। पोखरा र अन्य स्थलको भ्रमणपछि मलाई थाहा भयो। सामान्य कठिनाइले रोकिएका रहेछन्। उक्त ठाउँको भ्रमणपछि सामान्य कठिनाइ फुकेका छन्,’ सदस्यसचिव सिलवालले थपे, ‘साग खेल समयमा नै हुन्छ। त्यसका लागि खेलाडीले तयारी थालिसकेका छन्। निर्धारित समयमा नै खेल हुन्छ।’
एनएनआइपिएको स्वागतका अवसरमा संघले आफ्ना गतिविधिबारे सदस्यसचिवलाई जानकारी गराएको थियो। साथै एनएनआइपिएले भौतिक पूर्वाधार र खेलाडीको तयारी दुवै पक्षमा ठोस तयारीका लागि राखेपलाई सल्लाह दिएको थियो।  

सदस्यसचिव सिलवालले सेप्टेम्बर ५ मा कुवेतविरुद्ध नेपालमा हुने विश्वकप २०२२ को दोस्रो चरणको पहिलो खेल दशरथ रंगशालामा खेलाउने उद्देश्यले काम अगाडि बढाउने बताए। उक्त खेल दशरथ रंगशालामा आयोजना भएको खण्डमा डिसेम्बरमा हुने १३औं साग आयोजना गर्न हौसला मिल्ने भएकाले पनि सदस्यसचिव सिलवालले पहिलो छनोट खेललाई उद्देश्य राखेर कामलाई प्राथमिकता दिने बताए।

प्रकाशित: ३ श्रावण २०७६ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App