१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भक्तपुर फुटबलमा जथाभाबीको आरोप

काठमाडौं – भक्तपुर जिल्ला फुटबल संघले अस्तित्वमा रहेका क्लबहरूलाई बेवास्ता गरी मनपरी ढंगबाट संघ सञ्चालन गर्दै आएको आरोप लगाएका छन्। लिग आयोजना गर्न अस्तित्वमा रहेका क्लबलाई बेवास्ता र अन्य क्लबलाई समावेश गर्दै लिग सञ्चालन गर्न लागेको भन्दै भक्तपुर जिल्लाका ८ क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर भक्तपुर जिल्ला फुटबल संघप्रति आक्रोश व्यक्त गरेका हुन्। उनीहरूले भक्तपुर जिल्ला संघले लिग गर्न नसकेको, अनियमितता गरेको र जिल्लामा सक्रिय क्लबहरूलाई नै बेवास्ता गरेको आरोप लगाएका हुन्।

८ क्लबका पदाधिकारीहरुले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै जिल्लामा कायम क्लबलाई जिल्ला लिगका लागि स्थान नदिएको तर जिल्ला प्रशासन र जिल्ला खेलकुद विकास समितिमा दर्ता नै नभएका क्लबलाई समावेश गर्दै जिल्ला लिग खेलाउन लागेको आरोप लगाएका हुन्।

‘अस्तित्वमा रहेका हामी आठ क्लबलाई थाहै नदिई लिग सञ्चालन गर्ने योजनासहित टाइसिट सार्वजनिक गरिएको छ,’ भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले भने, ‘हामीलाई किन सहभागी नगराइएको भन्ने जिज्ञासामा उहाँहरूले हामीलाई कारबाही गरेको मौखिक जानकारी दिनुभयो। तर हामीले आधिकारिक कारण के हो? लिखित रूपमा के कारबाही गर्नुभएको दिनुहोस् भन्दा उहाँहरूले दिन सक्नुभएन। यसको तात्पर्य हो उहाँहरूले केही गडबडी गर्नुभएको छ।’

‘जिल्ला लिगका लागि नामै नसुनेको ६ वटा क्लबको नाम दर्ता भएको छ। तर हाम्रो नाम दर्ता भएको छैन,’ भक्तपुर फुटबल क्लबका अध्यक्ष  प्रजापतिले थपे, ‘जिल्लामा दर्ता नभएको क्लबलाई समावेश गर्दै लिग आयोजना गर्ने सोचमा जिल्ला संघ छ। कोठामै लिग सकाउने चलखेल भएको छ। अरू नै ६ क्लबलाई समेटर जिल्ला संघले लिगको टाइसिट नै प्रकाशित गरिसकेको छ।’

अखिल नेपाल फुबल संघ (एन्फा) को वार्षिक क्यालेन्डरअनुसार भक्तपुरमा जेठ १५ बाट असार १५ सम्म लिग हुने कार्यक्रम थियो। तर भक्तपुर जिल्ला फुटबल संघले सार्वजनिक गरेको टाइसिटअनुसार भने लिग असार २६ देखि साउन ४ सम्म हुने उल्लेख छ। तर अहिले भक्तपुर जिल्लामा लिग सञ्चालन भएको छैन।

प्रकाशित: ३ श्रावण २०७६ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App