१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काम नगर्ने ठेकेदारको म्याद नथप्न दबाब

काठमाडौं – प्रतिनिधिसभाका सांसद गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा निर्धारित समयमा सडक सम्पन्न नगर्ने ठेकेदारका हकमा बारम्बार म्याद थप नगर्न सडक विभागलाई दबाब दिएका छन्।

सांसद थापासहित गएको स्थानीयको टोलीले सडक विभागले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको आरोप लगाए। क्षेत्र नम्बर ४ थापाको निर्वाचन क्षेत्र हो।

टोलीको नेतृत्व गरेका सांसद थापाले निर्वाचन क्षेत्र ४ मा १२ वटा सडक रहेकोमा सातको अवस्था बेहाल रहेको बताए। ‘हाम्रो निर्वाचन क्षेत्रमा १२ वटा सडक निर्माणाधीन अवस्थामा छन्। तीमध्ये सातवटा सडक बेहाल अवस्थाबाट गुज्रिएका छन्,’ उनले सडक विभागका अधिकारीहरुसँग भने, ‘सडक विभागले बारम्बार ठेकेदारलाई म्याद थप गर्ने तर, ठेकेदारले काम नगर्ने प्रवृत्ति देखियो। त्यसैले अब ठेकेदारलाई आवश्यक कारवाही नगरेसम्म म्याद थप गर्नु भएन।’

सांसद थापाले सडक विभागले दुई वर्षसम्म लगातार म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सहजै ढंगले अर्को म्याद थप नगर्न विभागका महानिर्देशक केशवकुमार शर्मालाई अनुरोध गरे।

‘तपाईंहरुले फेरि पनि काम नगर्ने ठेकेदारलाई म्याद थप गर्नुभ-यो भने गडबड गरेको देखिन्छ,’ सांसद थापाले महानिर्देशक शर्मालाई लक्षित गर्दै भने, ‘हामीले भन्दाभन्दै जबर्जस्ती ठेकेदारको पक्षमा म्याद थप गर्नुभ-यो भने तपाईंका विरोधमा आन्दोलन गर्नेछौं।’

सांसद थापाले म्याद थप गर्नै पर्ने अवस्था सिर्जना भयो भने सर्वसाधारण जनता र सांसदसँग पनि छलफल गर्नुपर्ने धारणा व्यक्त गरे। सांसद थापाले ठेकेदार कम्पनीले म्याद थप गर्न साइट क्लियर नगरेको, बिजुलीको पोल, ढलको व्यवस्थापन नगरेकोलगायत बहाना देखाएर निवेदन दिने गरेको भन्दै अब त्यस्तो हुन नदिने बताए। ‘काम नगर्ने तर बारम्बार म्याद थप मात्रै गर्ने ठेकेदार कम्पनीलाई कारवाही नगरेसम्म सडक निर्माण सम्पन्न हुने देखिँदैन,’ सांसद थापाले भने, ‘स्थानीय स्तरमा केही समस्या देखिएको भएमा हामी सहजीकरण गर्न तयार छौं।’

यी सडक पर्छन्
काठमाडौं निर्वाचन क्षेत्र चारमा रहेका मुख्य बेहाल सडकमा आकाशेधारा, राममन्दिर, कृष्णमन्दिर सडक रहेको छ। उक्त सडक निर्माणको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सन प्रालिले लिएको छ। उसले २०७४ असोज ३० गतेभित्र निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो। तर, म्याद सकिएको दुई वर्ष बित्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन।

साप/कालिका जेभी २०७४ असोज ३० ले सम्पन्न गर्ने भन्दै बूढानीलकण्ठ, पूर्व तैलुङ स्कुल, देउवाचोक सडक ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले दुई वर्ष म्याद थप भइसक्दा पनि सडक निर्माण सम्पन्न गर्न सकेको छैन। तुँदी/प्रेरा जेभीले २०७५ जेठ २२ गतेसम्म सम्पन्न गर्ने गरी चुनिखेल, चपली, बूढानीलकण्ठ सडकको ठेक्का सम्झौता गरेको थियो। तर, कम्पनीको आलटाल र ढिलासुस्तीले उक्त सडक अहिलेसम्म निर्माण सम्पन्न गरेको छैन।

शैलुङ कन्सट्रक्सनले २०७५ जेठ २२ गते सम्पन्न गर्ने गरी सुन्दरवस्ती, आर्दशनगर, चुनिखेल, टुपेक, टुसाल,जगडोल, राष्ट्रिय सहिद पार्क सडक निर्माण गर्ने जिम्मा लिएको थियो। तर, एक वर्ष म्याद थप हुँदा समेत कम्पनीले सडक तयार पार्न सकेको छैन। त्यस्तै गरी दिवा/शैलुङ कन्सट्रक्सनले २०७५ जेठ २२ गते निर्माण सम्पन्न गर्ने गरी साततले, भण्डारी गार्मेन्ट, आकाशेधारा, बालुवाखानी, सुन्दरवस्ती सडक सम्झौता गरेर लिएको थियो। तर, अहिलेसम्म उक्त सडक निर्माण सम्पन्न गर्न सकेको छैन। जसको कारणले सर्वसाधारण आवातजावतमा निकै समस्या भोग्दै आइरहेका छन्।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक विभागले आवश्यक अध्ययन गरेर मात्रै ठेकेदार कम्पनीको म्याद थप गर्ने बताए। ‘म्याद थप गर्नुपर्ने औचित्य देखिए मात्रै म्याद थप गरिन्छ,’ उनले भने, ‘सरकारी निकायकै अवरोधकै कारणले भए पनि सहजै ढंगले म्याद थप गरिन्छ। नत्र म्याद थप गरिँदैन।’

महानिर्देशक शर्माले विभागले जथाभावी ढंगले कुनै पनि आयोजनाको म्याद थप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘जथाभावी हुचवाको भरमा म्याद थप गर्दैनौं,’ उनले भने, ‘म्याद थपको लागि आवश्यक प्रक्रिया पूरा गरेर मात्रै थप्ने गर्छाैं।’

महानिर्देशक शर्माले  म्याद थपको विषयमा आवश्यक परेमा सबै पक्षसँग छलफल गरेर टुंगो लगाउने बताए। चाबहिल–चुच्चेपाटीको ठेकेदार कम्पनीले भदौसम्म उक्त सडक खण्डमा बेस तथा सबबेस तयार पार्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App