१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जहाँ सडक, त्यहीं पहिरोको क्षति

खोटाङको खोटेहाङ गाउँपालिकामा तीनजनाको ज्यान लिनेगरी सडकबाट झरेको पहिरो। तस्बिर सौजन्य : इन्द्र नारथुंगे

खोटाङ  - माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ बाप्लुखाका विष्णु राईकी पत्नी रेखा, ३ वर्षका छोरा रोमन र ७ महिनाका छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहानको पहिरोमा विष्णु घाइते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट निकालेका थिए।

एकै परिवारका तीनजनाको ज्यान लिनेगरी गएको पहिरोको मुख्य कारण भने घरभन्दा माथि निर्माण गरिएको सडक देखिएको छ। २०७१ सालमा निर्माण गरिएको भीरखर्क–सावाकटहरे–चिसापानी सडकको डिल वर्षाले भिजेर पहिरोको रुपमा खस्दा राई परिवारको घर मात्र बगाएन, तीनजनाको ज्यान पनि लियो। मृतक परिवारलाई किरिया खर्च प्रदान गर्न घटनास्थल पुग्दा घरभन्दा माथिको सडकको डिल झर्दा क्षति भएको देखिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। ‘घरको सिरानमा सडक छ। त्यही सडकको डिल पहिरोको रुपमा खस्दा घर पुरेको रहेछ,’ अध्यक्ष राईले भने, ‘यो यहाँको मात्र समस्या होइन, सबैतिरको समस्या हो।’ बाप्लुखा मूल घर भए पनि राई परिवार खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा बस्दैआएका थिए।

वर्षाकै क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका राजेन्द्र राई विस्थापित भए। घरभन्दा माथिबाट निर्माण गरिएको टुवाखोला–पञ्चमीबजार सडकको डिलबाट झरेको भलबाढीले घर जोखिममा परेपछि राजेन्द्रको परिवार असार २७ गते विस्थापित भएको हो। उनीहरुलाई छिमेकी गंगाबहादुर राईको घरमा राखिएको वडाध्यक्ष लोकेन्द्र राईले बताए। सोही सडकका कारण स्थानीय गणेश विकको घरसमेत जोखिममा परेको छ।

संघीय सरकार वा प्रदेश सरकारबाट आउने अधिकांश बजेट सडक निर्माण शीर्षकमा विनियोजन गर्ने क्रम घट्नुको सट्टा बढ्दो छ। स्थानीय तहले पनि अधिकांश बजेट सडक निर्माणकै लागि ओइराइरहेका छन्।

वर्षा लागेसँगै जिल्लामा जताततै पहिरोको जोखिम बढेको छ। साना तथा ठूला पहिरोले उत्तिकै मात्रामा धनजनको क्षति पु¥याइरहेको छ। यी सबै पहिरोको प्रमुख कारणका रुपमा भने जताततै आफुखुसी खनिएका कच्ची सडक देखिएका छन्। जहाँ जथाभावी कच्ची सडक निर्माण गरिएका छन्, त्यही ठाउँमा बढीजसो पहिरोको क्षति देखिएको छ। डिपिआर तयार नगरी सडक निर्माण गर्नाले पहिरो गएको समाजवादी पार्टीका नेता टंकबहादुर थापाले बताए। ‘विकास भनेकै सडक हो भन्ने बुझाइ भयो। त्यसमा पनि नाली नकाटी मनलाग्दो तरिकाले सडक खन्ने क्रम तीव्र छ,’ थापाले भने, ‘जसका कारण पहाडमा भूःक्षय भइरहेको छ। पानीका मुहान सुक्दैछन्। समग्रमा पहाड नष्ट भइरहेको छ।’

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका सबै ७९ वडामा कच्ची सडक पुगेका छन्। खेतीयोग्य जमिन चिराचिरा परेको छ। सडकले नछोएका गाउँ बिरलै भेटिन्छन्। सकेसम्म घरघरमा सडक पु¥याउने प्रयास भइरहेको देखिन्छ। तर कुनै पनि सडक वातावरणमैत्री विधि अपनाएर निर्माण गरिएको छैन। प्राविधिक इस्टिमेटबिनै स्काभेटर चालकले आफूले चाहेको दिशामा ग्रेड नमिलाई सडक विस्तार भइरहेको थापाले बताए।

पहाडी जमिन छियाछिया परिसक्दा समेत कच्ची सडक विस्तारको क्रम रोकिएको छैन। संघीय सरकार वा प्रदेश सरकारबाट आउने अधिकांश बजेट सडक निर्माण शीर्षकमा विनियोजन गर्ने क्रम घट्नुको सट्टा बढ्दो छ। स्थानीय तहले पनि अधिकांश बजेट सडक निर्माणकै लागि ओइराइरहेका छन्। योजनाबद्ध र दिगो विकासका बारेमा कम जानकारी हुँदा जताततै सडक खन्ने क्रम बढेको दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यापक ध्रुव श्रेष्ठले बताए। ‘जनप्रतिनिधि तत्काल देखिने विकास गर्न चाहन्छन्, जनता पनि तत्काल देखिने विकास चाहन्छन्,’ श्रेष्ठले भने, ‘अर्कोतिर जो पावरमा छ ऊसँग डोजर छ। डोजरलाई काम मिलाउन पनि सडकलाई बढी बजेट विनियोजन गर्नेगरिएको पाइन्छ।’ बिलभर्पाई मिलाउन सहज हुने र फाइदा बढी आउने भएकाले पनि कतिपय ठाउँमा सडकमा बजेट खर्च गर्न हौसिने प्रवृत्ति बढेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App