२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालक कुट्ने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

वडा अध्यक्षले कुटपिट गरेका बालक र उनकी आमा। तस्बिरः नागरिक

दाङ– आफ्नो बगैचाको फूल टिपेको भन्दै घोराही उपमहानगरपालिकाका एक वडा अध्यक्षले एक बालकलाई कुटपिट गरेका छन्। वडा अध्यक्षको कुटपिटबाट बालकको कानमा चोट लागेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले आफ्नो आँगनमा रहेको फूल टिपेको भन्दै स्थानीय ९ बर्षीय भरत घर्तीलाई कुटपिट गरेका हुन्। बालकलाई कुटपिट गरेको भन्दै ति बालकको परिवारले वडा अध्यक्ष सार्की विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा समेत दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले जिप्रका महिला तथा बालबालिका सेलमा पीडित परिवारले मुद्धा दर्ता गरेको जानकारी दिए। ‘कुटिएको भनिएका बालकको आमाले महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गराउनु भएको छ,’ उनले भने ‘शुक्रवार यो विषयमा दुवैपक्ष बीच छलफल गराउने छौँ।’

वडा अध्यक्षको कुटपीटबाट घाइते भएका बालकको बिहीबार बिहान उपचार गरिएको छ। ‘कानमा फोहर बढि जमेका कारण कानको जाली देख्न सकिएन,’उपचारमा संलग्न डा. बिक्रम बुढाथोकीले भने ‘कानमै हानेको भनिएकाले कानको जाली फुटेको हुन सक्छ, फोहर गलाउने औषधि हालेर फोहर फालेपछि मात्रै यसबारेमा क्लियर हुन्छ।’ ती बालकले कानमा धेरै पीडा भएको बताएका छन्।

साउने संक्रान्तीको दिन बुधवार बेलुका लुतो फाल्ने कार्यक्रम चल्दै थियो। गाउँका बालबालिकाहरु रमाइलो गरिरहेका थिए। भरत पनि ति बालबालिकाहरुसंगै थिए। छिमेकमै रहेका वडा अध्यक्ष सार्कि एकाएक भरत तिर दौड्दै आए। भरत भाग्दै आफ्नो घर सम्म पुगे। घरमै पुगेर वडा अध्यक्ष सार्किले भरतलाई कानमा हिर्काएको भरतकी आमा रैबता घर्तीले वताइन्।

‘नेताले घरमै आएर कानमा जोडेले हिर्काए,’उनले भनिन् ‘उनले हानेपछि बाबु भित्तामा ठोक्कियो, कान दुख्यो भनेर धेरै सतायो।’ रातीनै उपचारका लागि घोराही ल्याउन खोजेको भए पनि आर्थिक अभावका कारण ल्याउन नसकेको उनले बताइन्। ‘कान दुख्यो भनेर रातभरी सुत्न दिएन, रातीनै उपचारका लागि ल्याउन पैसा पनि भएन,’उनले भनिन् ‘बिहान ऋण खोजेर बल्ल अस्पताल ल्याएँ।’

वडा अध्यक्षलाई किन हानेको भन्दा उल्टै हकारेको उनले वताईन्। ‘बाबु कान दुख्यो भनेर रोएको रोयै  गर्न थालेपछि गाउँका महिलाहरु उनको घरमै पुगिम्,तर हामीलाई उल्टै हकारे,’उनले भनिन् ‘फूल टिपेको पाँच हजार रुप्पे तिर भनेर उल्टै थर्काए।’

यता वडा अध्यक्ष सार्किले भने आँफूले गम्भिर अवस्थामा पुग्ने गरि नहानेको वताउँछन्। टाउकामा सुस्त हानेको भएपनि गम्भिरै चोट लाग्ने गरि नहानेको उनले वताए। फूलवारीमा फूल टिपेपछि आँफूले सामान्य चेतावनी दिनका लागि मात्रै टाउकामा सुस्त हानेको भन्दै उनले भने ‘त्यति धेरै चोट लाग्ने गरि हानेको हैन, टाउकामा सामान्य प्याट्ट मात्रै पारेको हुँ।’ सानो घटनालाई ठूलो बनाईएको भन्दै उनले आफ्नो कुटाईबाट बालकलाई ठूलो चोट नलागेको दाबी समेत गरे।

प्रकाशित: २ श्रावण २०७६ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App