१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डेडलाइन सकियो, काम सकिएन

काठमाडौं– नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष ०७५/७६ भित्रै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गराउने लक्ष्यमा असफल भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी दुवै आयोजनाको निर्माण गएको असारसम्ममा सम्पन्न गर्ने घोषणा गरेका थिए।

तर, उक्त समय सीमामा दुवै आयोजनाको निर्माण सम्पन्न भएन। प्राधिकरणमार्फत निर्माणाधीन आयोजना वर्षौंदेखि अलपत्र छन्। माथिल्लो त्रिशूली ३ ए आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले गत असार असारभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि नसकेको बताए। ‘हामीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित काम गरिरहेका थियौं,’ उनले भने, ‘टार्गेट अनुसार काम गर्न नसक्दा निर्माण सम्पन्न भएन।’

आयोजना प्रमुख जोशीले आयोजनाको एउटा युनिटबाट बिजुली उत्पादन भइसके पनि अर्काेमा ‘रोटार इन्सटलेसन’को काम भइरहेको दाबी गरे। ‘विदेशी कामदारको भिसा समस्याले केही समय ढिलासुस्ती भएको हो,’ उनले भने, ‘त्यो समस्या हल भइसक्यो। अब १५ दिनभित्रै दोस्रो युनिट रोटारको काम सकिन्छ।’

आयोजना प्रमुख जोशी प्राविधिक काम भन्नेबित्तिकै सम्पन्न नहुने समस्या रहेको बताउँछन्। ‘साउनको दोस्रो सातासम्म रोटार जडान सकिन्छ,’ उनले भने, ‘भदौदेखि नियमित बिजुली उत्पादन गर्नेछौं।’

प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना बनाउन सन् २०११ मा चीनको गेजुबा ग्रुपसँग इन्जिनियरिङ प्रोक्युमेन्ट कन्ट्र्याक्ट (इपिसी) मोडलमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार यो आयोजना ३५ महिनाभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो। ठेकेदार र आयोजनाको ढिलासुस्तीले अझै सकिएको छैन।

वर्षाैंदेखि अल्झिइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना पनि गत असारभित्रै सम्पन्न गर्ने घोषणा थियो। तर, निर्माण कम्पनीले समयमै प्रसारण लाइन तयार नपार्दा बिजुली उत्पादन गर्न सकेको छैन। कुलेखानी तेस्राका सहायक निर्देशक रत्नकुमार श्रेष्ठ ठेकेदार कम्पनीले समयमै प्रसारण लाइन नबनाउँदा आयोजनाले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउँछन्। ‘दुईवटै युनिटको परीक्षण उत्पादन भइसक्यो। तर, ठेकेदार कम्पनीले प्रसारण लाइनको टावरमा समस्या देखाएकाले काम सम्पन्न हुन सकेको छैन,’ उनले भने, ‘भिरालो ठाउँमा रहेको टावरमा समस्या छ। हामीले उक्त समस्या समाधानको लागि कन्सल्ट्यान्टसँग छलफल गरिरहेका छौं।’

सहायक निर्देशक श्रेष्ठले १५ दिनभित्रै टावरमा देखिएको समस्या हल गरेर नियमित बिजुली उत्पादन गर्ने दाबी गरे। कुलेखानी तेस्रोबाट उत्पादन हुने बिजुली काठमाडौं–हेटौंडाको १३२ केभी प्रसारण लाइनमा जडान हुनेछ। ‘टावरको लागि आवश्यक पर्ने सम्पूर्ण तार र उपकरण आइसकेको छ,’ उनले भने, ‘केही प्राविधिक जटिलता हल गर्नेबित्तिकै तार तान्ने काम सम्पन्न गर्नेछौं।’

श्रेष्ठले उक्त समस्या १५ दिनभित्रै सल्टिने दाबी गरे। ‘भदौ १ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं,’ उनले भने, ‘एमडी सापबाट पनि समयमै सम्पन्न गर्न निर्देशन आइरहेको छ।’ कुलेखानीमा दुईवटा युनिट छन्। दुवैबाट ७–७ मेगावाट बिजुली उत्पादन हुनेछ। कुलेखानी तेस्रो २०६४ चैतमा तीन वर्ष आठ महिनामा सम्पन्न गर्ने गरी दुई अर्ब ४३ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो। अहिले आयोजनाको लागत झण्डै दोब्बर पुगेको छ। आयोजनाका अनुसार चार अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको छ।

 

प्रकाशित: २ श्रावण २०७६ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App