१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महिला सांसदलक्षित ट्रम्पको रंगभेदी भनाइको निन्दा

रासिदा तलाइब, इल्हान ओमर, एलेक्जान्ड्रिया ओकासियो कोर्टेज र आयान्ना प्रेस्ली (बायाँबाट क्रमशः)।

वासिङ्टन – अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्यहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चार जना महिला सांसदलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको सांकेतिक रूपमा निन्दा गर्दै खेद प्रस्ताव पारित गरेका छन्। संसदले पारित गरेको उक्त खेद प्रस्तावमा ट्रम्पको अभिव्यक्ति विभेदकारी भएको र त्यसले डर एवं घृणालाई वैधता दिएको भन्ने मत छ।

ट्रम्पले आइतबार शृंखलाबद्ध रूपमा ट्विट गर्दै चार जना प्रतिपक्षी डेमोक्र्याट सांसदलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै आफ्नै देश फर्कन भनेका थिए।  ट्रम्पका ट्विट रंगभेदी भएको भन्दै चौतर्फी विरोध भइरहेको भए पनि उनले भने आफ्नो भनाइ विभेदकारी नभएको भन्दै बचाउ गर्दै आएका छन्। ‘मेरो शरीरमा रंगभेदी हड्डी छैन,’ ट्रम्पले गरेको एउटा ट्विट उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी डेमोक्र्याट सबैले उक्त खेद प्रस्तावको पक्षमा मतदान गरेका थिए। उनीहरूले सत्तादारी रिपब्लिकन  दलका समेत चार जना सांसदको समर्थन प्राप्त गरेका थिए। ‘ट्रम्पका रंगभेदी प्रतिक्रियाले मानिसको रंग र नवअमेरिकीमाथिको भय एवं घृणालाई प्रश्रय दिएको छ,’ संसद्ले पारित गरेको सो खेद प्रस्तावमा भनिएको छ।

राष्ट्रपतीय गतिविधिलाई आलोचना गरेर कानुनी रूपमा बाध्यकारी नभएको विचारको विज्ञप्ति भनिने प्रस्ताव पारित हुनु भनेको अमेरिकी संसदीय अभ्यासमा अत्यन्तै कम मात्रामा हुने विषय हो।

डेमोक्र्याटको नियन्त्रणमा रहेको अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको मंगलबारको बैठक पूर्ण रूपमा विभाजित भएको थियो। संसद्मा ल्याइएको प्रस्ताव आफैंमा राम्रो व्यवहार नभएको रिपब्लिकन सांसदहरुले जिकिर गरेका थिए। प्रस्ताव दुई सय ४० का विरुद्ध एक सय ८७ मतले पारित भएको थियो। मतदानअघि तल्लो सदनकी सभामुख न्यान्सी प्यालोसीले ट्रम्पका भनाइलाई अपमानजनक र घृणित भनेकी थिइन्। राष्ट्रपतीय गतिविधिलाई आलोचना गरेर कानुनी रूपमा बाध्यकारी नभएको विचारको विज्ञप्ति भनिने प्रस्ताव पारित हुनु भनेको अमेरिकी संसदीय अभ्यासमा अत्यन्तै कम मात्रामा हुने विषय हो।

ट्रम्पले आइतबार शृंखलाबद्ध रूपमा गरेको ट्विटमा ती सांसदको नाम उल्लेख नगरिएको भए पनि ‘द स्क्वाड’ भनेर परिचित ती चारजना डेमोक्र्याट सांसदप्रति नै उनको ट्विटलक्षित थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन्। ट्रम्पको अभिव्यक्तिलाई लिएर विपक्षी दलका नेताहरुले चर्को आलोचना गर्दै आएका छन्। ट्रम्पका ट्विटबारे रिपब्लिकन पार्टीका केही सदस्यले मात्र टिप्पणी गरे पनि सिनेटर सुसन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको बताएकी छन्।
राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी बनेकी हिलारी क्लिन्टनले पनि अमेरिकाका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यान आकर्षण गरेकाले ती सांसदमाथि आक्रमण गरिएको बताएकी छन्।

स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा ट्रम्पको निशानामा परेका चारैजना महिला सांसदहरुले व्यक्त गरेका छन्। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, रासिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट आएका अमेरिकी सांसद हुन्। ओमर बाल्यकालमा सोमालियाबाट अमेरिका प्रवेश गरेकी थिइन् भने अरु तीन जना संयुक्त राज्य अमेरिकामै जन्मे–हुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका थिए।

प्रकाशित: २ श्रावण २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App