१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कसले उडाउँछन् मुखर्जी चढेको जहाज ?

काठमाडौं- नीजि वायुसेवा कम्पनी बुद्ध एयरबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा जाँदै छन्। उनको लागि तयार पारिएका जहाज बुद्धका उडान सुरक्षा विभागका निर्देशक तथा प्रशिक्षक पाइलट रञ्जन शर्मा र एटिआर चिफ पाइलट सुनिल गुरुङले उडाउनेछन् भने अर्को जहाज प्रशिक्षक पाइलटहरू एजी शेर्पा र मनोज केसीले उडाउनेछन्। अतिविशिष्ट उडान भएका कारण बुद्धले को–पाइलटलाई उडानमा नराखी चारै जना क्याप्टेनलाई जहाज कमान्डमा खटाएको हो।

भारतीय टोलीका लागि तीन जहाज (दुइटा उडान र एउटा स्ट्यान्ड बाई) प्रयोग हुने भएपछि शुक्रबारको नियमित पोखरा उडान सबै स्थगित गरेको छ। तीन थान एटिआर–४२ जहाजले सामान्य दिनमा पोखराका लागि दैनिक सात, भरतपुर ६, जनकपुर दुई र विराटनगरका लागि दैनिक एक उडान गर्थे।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट जनकपुर उडान अवधि आधा घन्टाको हुनेछ । त्यसपछि जनकपुरमा दुई घन्टा बिताएर भारतीय टोली त्यहाँबाट सिधै करिब १ बजे पोखरा उड्नेछ । जनकपुरबाट पोखराको उडान अवधि एक घन्टा हुनेछ । पोखरा भ्रमणपछि उक्त टोली दिउँसो ४ बजे काठमाडौंका लागि उड्नेछ । त्रिभुवन विमानस्थलमा साढे ४ बजे ओर्लिनेछ।

‘काठमाडौंस्थित भारतीय दूतावास र दिल्लीबाट आएको सुरक्षा अधिकारीको टोलीले मुखर्जीको आन्तरिक उडानका लागि १० दिनअघि नै बुद्ध एयरको जहाज छनोट गरेको थियो,’ सम्बद्ध स्रोतले भन्यो ।

स्रोतका अनुसार जनकपुर र पोखरा जान सुरुमा नेपाली सेनाको जहाज र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्ने भनिएको थियो। तर, सेनासँग अतिविशिष्ट उडानका लागि जहाज नभएको र निगमको चिनियाँ जहाज वा अन्य साना जहाजको ‘भर’ नभएपछि निजी क्षेत्रको विश्वसनीय वायुसेवा बुद्ध एयरको जहाज प्रयोग गर्ने निर्णय भएको थियो।

राष्ट्रपति मुखर्जी पोखराबाट फर्केर दिउँसो साढे ४ बजे काठमाडौं ओर्लिएपछि साँझ ५ बजे भारतीय हवाई सेनाको ‘बि७३७’ सिरिजको जहाजबाट भारत फर्कने छन् । यो जहाजमा मुखर्जी र उनको टोली गत बुधबार काठमाडौं आएको थियो । जहाज तीन दिनदेखि त्रिभुवन विमानस्थलमै रहेको छ। यो जहाजको ल्यान्डिङ, पार्किङ, नेभिगेसनल लगायत अन्य शुल्क सबै निःशुल्क गरिएको विमानस्थलले जनाएको छ।

 

प्रकाशित: १९ कार्तिक २०७३ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App