१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डर्टमन्ड अर्को चरणमा, लेस्टर र मड्रिड रोकिए

पेरिस (एएफपी)– जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमन्डमात्र नकआउट चरणमा प्रवेश गरेको बुधबारको रात च्याम्पियन्स लिगमा साबिक विजेता रियाल मड्रिड र इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीले विजयविमुख हुँदा अगाडि बढ्न थप प्रतीक्षा गर्नुपर्ने भएको छ।

प्रिमियर लिगमा अनपेक्षित रूपमा च्याम्पियन भएपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्न पाएको लेस्टरले पहिलो तीन खेलमा शतप्रतिशत नतिजा निकालेको थियो । तर बुधबार राति कोपेनहेगनमा गोलरहित बराबरीमा सिमित भएपछि टोलीको नकआउट चरण यात्रा तत्कालका लागि रोकिएको छ । बराबरीका बावजुद टोली समूह ‘जी’ मा १० अंकसाथ शीर्ष स्थानमा कायम छ । क्लब ब्रुगमाथि १–० को जित दर्ता गराएको पूर्व विजेता एफसी पोर्टो ७ अंकसाथ दोस्रो स्थानमा छ भने एफसी कोपनहेगन ५ अंक लिएर तेस्रो स्थानमा छ । चार खेलमा एउटै अंक जोड्न नसकेको क्लब ब्रुग पुछारमा थन्किएको छ।

नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउने क्रममा पोर्टोले पोर्चुगलमा क्लब ब्रुगमाथि कठिन जित निकालेको थियो । घरेलु टोलीको जितमा टोमस सिल्भाले मध्यान्तर हुन आठ मिनेट बाँकी रहँदा गरेको एउटै गोल पर्याप्त भयो ।

‘१० अंक भनेको राम्रो नतिजा हो, तर यो पर्याप्त चाहिँ होइन । पोर्टोले निकै नजिकबाट हामीलाई पछ्याइरहेको छ । तथापि अझैसम्म हाम्रो यात्रा हाम्रै हातमा छ । हामीले आगामी दुई खेलमा राम्रो नतिजा ल्याउन सक्यौं भने अरुको नतिजामा भर पर्नुपर्दैन,’ समूह चरणमा अझैसम्म एउटै गोल नखाएको लेस्टरका प्रशिक्षक क्लाउडियो रेनरीले भने, ‘युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा टोलीले गरेको प्रदर्शनबाट म सन्तुष्ट छु । हामीले युरोपकै शीर्ष टोलीहरूसँग सन्तोषजनक नतिजा निकालिरहेका छौं। हाम्रो अबको चुनौती भनेको यसलाई निरन्तरता दिनु हो ।’

समूह ‘एफ’ मा ११ पटकको कीर्तिमानी युरोपेली च्याम्पियन रियाल मड्रिड सुरुमै अग्रता लिनाका बावजुद लेगिया वार्सासँग ३–३ को बराबरीमा रोकिएको छ । पहिलो मिनेटमै वेल्सका सुपरस्टार गारेथ बेलको गोलमा अग्रता लिएको रियाल मड्रिडका लागि ३५ औं मिनेटमा करिम बेन्जेमाले दोस्रो गोल गरेका थिए । तर त्यसको ५ मिनेटपछि भाडिस ओड्जिडजा ओफोइले एक गोल फर्काएर पोल्यान्डमा घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । पहिलो हाफसम्म रियाल २–१ ले अघि रहे पनि ५८ औं मिनेटमा मिरोस्लाभ राडोभिचले वार्साका लागि बराबरी गोल गरे । जसमा थियाबाउट माउलिनले समय सकिन सात मिनेट बाँकी रहँदा गोल थपेपछि घरेलु टोलीले रियालसँग ३ अंक खोस्ने संकेट गरेको थियो । तर जिनेदिन जिदानको साबिक विजेताका लागि ८५ औं मिनेटमा माटियो कोभासिकले बराबरी गोल गरेर एक अंक बाँडे।

रियाल बराबरीमा रकेएिको रात १९९७ को च्याम्पियन बोरुसिया डर्टमन्डले घरेलु मैदानमा स्पोर्टिङ लिस्बनमाथि १–० को विजय हासिल गर्दै नकआउट चरणमा स्थान पक्का ग¥यो । जर्मन बुन्डेसलिगाको महारथी डर्टमन्डको जितमा पहिलो हाफमै एड्रियान रामोसले गरेको गोल पर्याप्त बन्यो । रामोस पिरे इमेरिक औबामेयाङको ठाउँमा खेलेका थिए । औबामेयाङलाई खेल सुरु हुनुभन्दा केहीबेरअघि क्लबले निलम्बन गरेका कारण रामोसले मौका पाएका थिए ।

बुधबारका नतिजापछि समूहमा चार खेल समाप्तिमा १० अंक जोडेको डर्टमन्ड अगाडि बढ्दा ८ अंकसाथ दोस्रो स्थानमा रहेको रियालले भने प्रतीक्षा गर्नुपरेको छ । तेस्रो स्थानको लिस्बनको खातामा ३ तथा पुछारको वार्सासँग १ अंक छ । समूहमा बाँकी दुवै खेल जिते पछि तेस्रो स्थानको लिस्बनले शीर्ष टोली डर्टमन्डलाई नभेट्टाउने पक्का भएकाले डर्टमन्ड अन्तिम १६ प्रवेश गरेको हो ।

पछिल्ला तीन वर्ष लगातार युरोपा लिग जितेको स्पेनिस ला लिगाको टोली सेभिया बुधबार डिनामो जाग्रेबमाथि फराकिलो जित हासिल गर्दै नकआउट चरणको नजिक पुगेको छ । तर गणितीय रूपमा अझै तेस्रो स्थानको लियोनले भेट्ने सम्भावना रहेकाले सेभियाको नकआउट चरण यात्रा औपचारिकताका लागि मात्र बाँकी छ ।

समूह ‘एच’ को खेलमा बुधबार लुसियानो भिइटो, सर्जियो स्कुडेरो, स्टेभन एनजोन्जी र विसाम बेन येडारले गोल गरेपछि सेभियाले जाग्रेबमाथि ४–० को प्रभावशाली जित दर्ता ग¥यो । यो जितपछि टोली चार खेलमा १० अंक जोड्दै समूहको शीर्ष स्थानमा कायम छ ।

सोही समूहको अर्को खेलमा युभेन्ट्सले पनि नकआउट चरण पुग्ने अवसर घरेलु मैदानमा लियोनसँग १–१ को बराबरी खेल्दै गुमायो । नतिजापछि युभेन्ट्स शीर्ष स्थानको सेभियाभन्दा २ अंकले पछि रहँदै दोस्रो स्थानमा कायम छ । लियोनको खातामा ४ अंक छ भने डिनामो जाग्रेवले एकै अंक जोड्न सकेको छैन ।

इङ्लिस प्रिमियर लिगको अर्को टोली टोटेनह्यामका लागि वेम्बलीको मैदान यसपालि पनि सुखद नतिजा निकाल्न सफल भएन । टोलीको आफ्नै ह्वाइट हार्ट लेनको रंगशाला पुनर्निर्माण भइरहेका कारण टोटेनह्यामले वेम्बलीलाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको छ ।

वेम्बली टोटेनह्यामका लागि भाग्यशाली मैदान साबित हुन नसक्दा टोली बुधबार समूह ‘इ’ को खेलमा जर्मन प्रतिद्वन्द्वी बायर लेभरकुसनसँग १–० को नतिजामा पराजित भयो । टोलीले घरेलु कपका चार खेल वेम्बलीको मैदानमा पराजय बेहोरेको थियो भने इङलिस फुटबलको मुख्यालयमा भएको मोनाकोविरुद्धको जारी सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा पनि टोटेनह्याम पराजित भएको थियो ।

बुधबार दोस्रो हाफमा केभिन काम्पलले गोल गरेपछि लेभरकुसन विजयी भयो । यो नतिजाले लन्डनको टोली टोटेनह्यामलाई समूहमा शीर्ष स्थानको मोनाको (८) भन्दा ४ तथा लेभरकुसनभन्दा २ अंकले पछि पारेको छ ।

समूहको अर्को खेलमा मोनाकोले सिएसकेए मस्कोलाई ३–० को नतिजामा निराश पा¥यो । मोनाकोको जितमा राडामेल फाल्काओले दुई गोल गरे भने त्यसअघि भालारे जर्मेनले टोलीलाई अग्रता दिलाएका थिए।

‘मेरो विचारमा हामीले नतिजा ल्याउन नसके पनि राम्रो फुटबल खेलिरहेका छौं । हरेक खेलमा हामीले पर्याप्त मात्रामा अवसर सिर्जना गरिरहेका छौं, तर दुर्भाग्यवश ती अवसर उपयोग हुन सकेका छैनन्,’ टोटेनह्यामका मिडफिल्डर डेले अलीले भने, ‘अवसरलाई फिनिस गर्नु र नतिजा निकाल्नु फुटबलमा महŒवपूर्ण हुन्छ। त्यसमा हामी चुकिरहेका छौं । तर यस्तै राम्रो फुटबललाई निरन्तरता दिने हो भने यो समस्याबाट पनि पार पाइन्छ।’

प्रकाशित: १९ कार्तिक २०७३ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App