१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी सेयर छ। यही सेयर बैंकले बेच्न लागेको हो। यसका लागि सार्वजक रुपनिमा बैंकले सूचना निकालेको छ।

राष्ट्र बैंकका अनुसार नेप्सेमा उसको १७ लाख २९ हजार नौ सय ८९ कित्ता सेयर छ। यो सेयर लिलाम बढाबढ बिक्री गर्न सार्वजनिक सूचना निकालिएको हो। यो सेयर नेप्सेको कुल सेयरको ३४ प्रतिशतभन्दा बढी हो।

बैंकले नेप्सेको सेयर प्रिमियम मूल्य राखेर बेच्ने भएको छ। सूचनाअनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वको सेयर प्रतिकित्ता एक हजार ३२ रुपैयाँ प्रिमियम मूल्य राखेको छ। यही मूल्यलाई आधार मानेर लिलाममा राखिनेछ। खरिदकर्ताले राष्ट्र बैंकले राखेको प्रिमियम मूल्यमा प्रतिस्पर्धा गर्नेछन्। नेप्सेमा रहेको राष्ट्र बैंकको सेयर सय रुपैयाँ अंकित दरको हो।

प्रिमियम मूल्य प्रतिकित्ता एक हजार ३२ रुपैयाँ

यो सेयर सर्वसाधारणले भने खरिद गर्न पाउने छैनन्। बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्। ती संस्थाले नेप्सेको चुक्ता पुँजीको पाँच प्रतिशतदेखि १० प्रतिशत सेयर किन्नु पर्नेछ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार बोलकबोलमा १० प्रतिशतसम्म अग्रिम धरौटी जम्मा गरी भदौ २ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिइसक्नुपर्ने र भदौ ४ गते बोलपत्र खोलिने बताएको छ।

राष्ट्र बैंकले केही वर्षदेखि नेप्सेको सेयर बेच्न खोजेको थियो। गत मंसिरमा बैंकले नेप्सेलाई पत्राचार गरेर सेयर बिक्री सहजीकरणका लागि आग्रह गरेको थियो। नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसीको ६.१२ प्रतिशत र ब्रोकरको ०.६२ प्रतिशत सेयर हिस्सा छ।

प्रकाशित: १ श्रावण २०७६ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App