१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वन्यजन्तुको आक्रमणले एक वर्षमा १२ को मृत्यु

चितवन – आर्थिक वर्ष २०७५/७६ मा चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा मात्रै वन्यजन्तुको आक्रमणमा परेर १२ जनाको ज्यान गइसकेको छ। पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर मंगलबार पनि एकजनाको मृत्यु भएसँगै मृतकको संख्या त्यति पुगेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जंगली हात्तीको आक्रमणमा परेर सातजनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाघ र गैंडाको आक्रमणबाट दुई÷दुई र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको उनको भनाइछ।

एक आर्थिक वर्षमा वन्यजन्तु आक्रमणका २ सय ५५ वटा घटना भए। मानिसको मृत्यु र आक्रमणका घाइते हुनुका साथै १२ वटा घर तथा गोठमा क्षति भएको छ।

प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार वन्यजन्तुको आक्रमणमा परी घाइते हुनेको संख्या ४५ पुगेको छ। हात्तीको आक्रमणबाट मंगलबार रत्ननगर नगरपालिका–७ बद्रहनीका ६२ वर्षीय कान्छा दराईको मृत्यु भएको हो। उनलाई बिहान साढे ६ बजेतिर हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाघमारा चौरनजिकै हात्तीको आक्रमणमा परेका उनलाई हात्तीले करिब ४० मिटर परसम्म घिसारेको थियो। दराईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। बद्रहनी चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र, राप्ती नदी र मध्यवर्ती वनले घेरिएको छ। दराई सौराहामा मजदुरी गर्थे। बिहान काममा हिँडेका बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

सौराहा नजिकै भए पनि बद्रहनीमा वन्यजन्तुको डर हुने गरेको स्थानीय बताउँछन्। वन्यजन्तुले बालीनाली नोक्सानी गर्ने, गाउँघरमा आएर तर्साउने समस्या स्थानीयले वर्षौंदेखि भोग्दै आइरहेका छन्। एक आर्थिक वर्षमा वन्यजन्तु आक्रमणका २ सय ५५ वटा घटना भए। मानिसको मृत्यु र आक्रमणका घाइते हुनुका साथै १२ वटा घर तथा गोठमा क्षति भएको छ।

वन्यजन्तुले ८० वटा घरपालुवा पशु क्षति गरेको तथ्यांक निकुञ्जको छ। अन्न क्षतिका सात र बालीनाली क्षतिका सयवटा घटना भएका छन्। माछा मार्न, घाँस काट्न जाँदा धेरैजसो वन्यजन्तुको आक्रमणमा पर्ने गरेको ढकाल बताउँछन्। वन्यजन्तुको आक्रमणबाट बच्न व्यक्ति आफैं पनि सचेत हुनुपर्ने उनको भनाइ छ।
मध्यवर्ती क्षेत्र वरपर वन्यजन्तुले आक्रमण गरे राहत दिने व्यवस्था गरिएको छ। मानिसको मृत्यु भए १० लाख र घाइते भए उपचारको व्यवस्था सरकारले बेहोर्छ। निकुञ्जले यो आर्थिक वर्षमा भएका वन्यजन्तु आक्रमणका घटनामा मात्रै १ करोड ५६ लाख रुपैयाँबराबरको राहत रकम वितरण गरिसकेको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए। गत वर्षको वितरण गर्न बाँकी राहतसमेत गरी २ करोड ३२ लाख रुपैयाँबराबरको रकम यो आर्थिक वर्षमा वितरण गरिएको उनले बताए।

प्रकाशित: १ श्रावण २०७६ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App