१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाढीले निर्माणाधीन सिमेन्ट उद्योगमा ठूलाे क्षति

बाढीले क्षति पु-याएको ह्वासिङ सिमेन्ट उद्योग। तस्बिर : नागरिक

धादिङ – मध्यरातमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा करोडौंको क्षति पुगेको छ। आइतबार रातभरको वर्षासँगै मलेखु खोलाको बहाव बढेपछि सिमेन्ट उद्योगमा क्षति पुगेको हो। खोलाले उद्योगमा रहेको एउटा स्काभेटर, दुइटा जिप, र दुइटा टिप्पर बगाएको छ भने निर्माणका क्रममा प्रयोग हुने सबैजसो मेसिनरी सामान बगाएको छ।

दुई दिनअघिदेखि लगातार परिरहेको वर्षाले मलेखु खोलाको बहाव बढाएको थियो। आइतबार रातिको सिफ्टमा काम गरिरहेका मजदुर सोमबार बिहान एक बजेसम्म निर्माण स्थलमै रहेका थिए। राती खोलाको बहाव बढ्दै गएपछि उद्योगले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थलतर्फ जान भनेका थिए। बगरमा रहेका केही मजदुर तथा प्राविधिकलाई आवास खाली गराएर नजिकैको पिपलभन्ज्याङ माविमा सारिएको थियो।

बाढीले सिमेन्ट उद्योगको मूल स्टोरमा क्षति पुगेको छ। निर्माणस्थल बाढीले भरिएको छ भने उद्योगका संरचना पुरिएका छन्। उद्योग रहेको ठाउँको बीचबाट खोला पसेपछि कामदारको समेत बिचल्ली भएको छ। मानवीय क्षति नभए पनि कामदार बस्ने सबै घरमा क्षति पुगेको उद्योगका नेपाली प्रतिनिधि डिल्ली पोखरेलले बताए। ‘मध्यरातमा आएको बाढीले मजदुरका आवास, उद्योगका निर्माणाधीन संरचनामा पूरै क्षति गरेको छ,’ उनले भने, ‘क्षतिको पूर्ण मूल्यांकन नभए पनि एक करिब भन्दा बढी क्षति भएको अनुमान गरेका छौं।’

बाढीले उद्योग परिसरलाई बीचमा टापु बनाएर दुईतिरबाट पानी बगेको थियो। बाढीमा फसेका पाँच मजदुरलाई उद्योगका कर्मचारी, प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी सोमबार बिहान सकुशल बाहिर निकालेका छन्। दुवैतर्फबाट खोला बगेकाले मध्य भागमा रहेको फलामका पोल समातेर उनीहरु रातभर बसेका थिए। उद्योग निर्माणस्थलमा बिजुली नभएका कारण राति उद्धारमा कठिनाइ भएको स्थानीयले बताए। उद्योगले जेनेरेटर चलाएर काम गर्ने गरेको भए पनि बाढी पसेपछि जेनेरेटर खोल्नसमेत नसकिएको उद्योगका कर्मचारीले बताए। अढाई सय चिनियाँ र तीन सय नेपाली मजदुरले भने आफ्ना सरसामान झिक्न पाएनन्।

त्यस्तै काठमाडौं इन्जिनियरिङ कलेजबाट अध्ययन भ्रमणमा आएका विद्यार्थीको बस पनि बगाएपछि विद्यार्थी अलपत्र परेका  छन्। यसअघि मलेखु खोलामा २०५० साउन ४ गते आएको बाढीले धान खेतलाई बगरमा परिणत गरेको थियो। त्यही बगरको जग्गा अधिग्रहण गरी सिमेन्ट उद्योग निर्माण गरिएको हो ।

चिनियाँ र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा निर्माण थालिएको १५ अर्ब लगानीको सिमेन्ट उद्योग चार महिना अघिदेखि निर्माण सुरु गरिएको हो। चार महिनाअघि संघीय संसदका सभामुख कृष्णबहादुर महराबाट शिलान्यास भएको सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम भइरहेको छ। उद्योग निर्माणका लागि चीनकै हन्दन सिनोमा कम्पनीले ठेक्का लिएको थियो।

पृथ्वी राजमार्गको मलेखुबाट ११ किलोमिटर दक्षिणस्थित ताल्तीमा ६ सय २० जना कामदार तीन सिफ्टमा निर्माणको काममा जुटेका छन्। उद्योग निर्माण कार्यमा दुई सय ७० चिनियाँ र तीन सय ५० नेपाली कामदार खटिएका छन्। उद्योग नौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने उद्योग सञ्चालनमा आएपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगले लिएको छ।

उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत सेयर रहेको छ। अहिले नेपाली लगानीकर्ताको प्रतिनिधित्व बैद्य गुप्रको तर्फबाट सुरज बैद्यले र चिनियाँ लगानीकर्ताको प्रतिनिधित्व ह्वासिन सेन्ट्रल एसिया इन्भेस्टमेन्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ। दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगको आगामी ९ महिना भित्रमा उत्पादन थाल्ने लक्ष्य थियो।

प्रकाशित: ३१ असार २०७६ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App