१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिँचाई डिभिजन प्रमुख घुस लिँदै गर्दा प्रक्राउ

घुस सहित प्रक्राउ परेका मोहनबाबु यादव। तस्बिर : नागरिक

भोजपुर- भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुस रकमसहित पक्राउ परेका छन्।

प्रदेश नं. १ मातहत रहेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार मध्यान्ह अख्तियारको टोलीले पक्राउ गरेको हो। षडानन्द नगरपालिका वडा नं. १३ स्थित छाँगे खोला सिंचाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको बताइएको छ।

करिब ९८ लाख लागत अनुमान रहेको सो सिंचाई आयोजनाको यो वर्ष १७  लाख ८७ हजार १ सय ६७ रुपैंयाको काम गर्ने गरि सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ। उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मुल्यांकन गरि बील पास गरिदिने बताउँदै आएका थिए।

आर्थिक वर्षको अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिंडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपु भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सोहि होटलमा उनीहरुलाई रंगेहात पक्रेको हो।

भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिंचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले वाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको सो सिंचाईका उपभोक्ता एवं नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताए।

 

 

 

 

प्रकाशित: ३० असार २०७६ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App