१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुपर ओभरबाट इङ्ल्यान्डलाई उपाधि

लर्ड्स – सुपर ओभरबाट सनसनीपूर्ण जितका साथ इङ्ल्यान्डले पहिलो पटक क्रिकेट विश्वकपको उपाधि भित्र्याएको छ। न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले पनि  निर्धारित ५० ओभरमा २ सय ४२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

सुपर ओभरमा इङ्ल्यान्डले न्युजिल्यान्ड सामु १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इङ्ल्यान्डका जोफ्रा आर्चरले पहिलो बल वाइड फालेका थिए। न्युजिल्यान्डका जेम्स निसमले अतिरिक्त बलमा २ रन लिँदै दोस्रो बलमा छक्का प्रहार गरेका थिए। उनले तेस्रो र चौथो बलमा पनि समान २ रन जोडेका थिए। न्युजिल्यान्डलाई जितका लागि अन्तिम २ बलमा ३ रन आवश्यक थियो। निसमले पाँचांै बलमा १ रन मात्र जोड्न सके। अन्तिम बल खेलेका मार्टिन गुप्टिल २ रन जोड्ने क्रममा रनआउट  भएपछि इङ्ल्यान्ड नयाँ विश्वविजेता बनेको हो। एक रन सहजै लिएका गुप्टिललाई दोस्रो रन लिने क्रममा जसन रोयको थ्रोमा विकेटकिपर जस बट्लरले रनआउट गरेका थिए। समान १५ रन जोडे पनि सुपर ओभरमा प्रहार गरेको बाउन्ड्रीको आधारमा इङ्ल्यान्ड भाग्यमानी बनेको थियो। सुपर ओभरमा इङ्ल्यान्डले २ चौका प्रहार ग¥यो भने न्युजिल्यान्डले १

छक्का मात्र प्रहार गरेको थियो। यसअघि इङ्ल्यान्डले सुपर ओभरमा बिनाविकेट क्षति १५ रनको योगफल तयार पारेको थियो। इङ्ल्यान्डले यसअघि तीन पटक फाइनल प्रवेश गरे पनि  १९७९ मा वेस्ट इन्डिज, १९८७ मा अस्ट्रेलिया र १९९२ मा पाकिस्तानसँग निराश भएसँगै उपाधि जित्न सकेको थिएन। यता न्युजिल्यान्ड विश्वकप फाइनलमा निराश भएको यो लगातार दोस्रो पटक हो। यसअघि २०१५ मा न्युजिल्यान्ड अस्ट्रेलियासँग निराश भएको थियो।

आयोजक राष्ट्रले विश्वकपको उपाधि जितेको यो लगातार तेस्रो पटक हो। यसअघि २०११ मा भारत र २०१५ मा अस्ट्रेलियाले घरेलु मैदानमै उपाधि राखेका थिए। यसघि इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र दोस्रो बलमा म्यान अफ दी म्याच बेन स्टोक्सले कुनै रन जोड्न सकेनन्।तेस्रो बलमा स्टोक्सले छक्का प्रहार गर्दा इङ्ल्यान्ड जितबाट ९ रनले टाढा थियो।

चौथो बलमा स्टोक्सले २ रन लिए। यही बललाई मार्टिन गुप्टिलले रन आउट गर्न स्टम्पतर्फ फाल्दा बलले कुदिरहेका स्टोक्सको ब्याटमा लाग्दै  बाउन्ड्री पार गरेपछि इङ्ल्यान्डको खातामा थप ४ रन जोडिएको थियो। तर अन्तिम २ बलमा ३ रन आवश्यक हुँदा इङ्ल्यान्डले लगातार २ विकेट गुमायो। यद्यपि पाँचांै र छैटांै बलमा क्रमशः एडिल रसिद र मार्क उड रन आउट भए पनि समान १ रन जोडेपछि खेलको नतिजाका लागि सुपर ओभरको सहारा लिइएको थियो।

स्टोक्सले ९८ बलमा ५ चौका र २ छक्काको मद्दतमा अविजित ८४ रन बनाउँदा बट्लरले ६९ रन जोडे। यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रनको योगफल तयार पारेको थियो। न्युजिल्यान्डका ओपनर हेनरी निकोलासले ५५ र टम लाथमले ४७ रनको योगदान गरेका थिए। समान १५ रन जोडे पनि सुपर ओभरमा प्रहार गरेको बाउन्ड्रीको आधारमा इङ्ल्यान्ड भाग्यमानी बनेको थियो।

 
 

प्रकाशित: ३० असार २०७६ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App