१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकर्मी लम्साल र अधिकारी पुरस्कृत

काठमाडौं – ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट नागरिककर्मी हिमाल लम्साल र खगेन्द्र अधिकारीसहित १० पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति र केन्द्रीय बालकल्याण समितिले उनीहरुलाई पुरस्कृत गरेको हो।

पुरस्कृत पत्रकारहरुलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र केन्द्रीय बाल कल्याण समिति निर्देशक कृष्णप्रसाद भुसालले नगद, सम्मानपत्र र खादा ओढाएर सम्मान गरे। पत्रकारिताका माध्यमबाट नेपालमा बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनमा पु¥याएको योगदारको कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो।

‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ रेडियोतर्फ रेडियो उज्यालोकी रामकुमारी खड्का र रेडियो सप्ताकोशी, सुनसरीकी रुमा रिजाल संयुक्त रुपमा पुरस्कृत भए। छापा माध्यमतर्फबाट राससका प्रकाश सिलवाल, नागरिकका हिमाल लम्साल संयुक्त रुपमा पुरस्कृत भए भने उपत्यकाबाहिरबाट छापामाध्यमबाट नागरिक दैनिकका ताप्लेजुङ संवाददाता खगेन्द्र अधिकारी सम्मानित भएका हुन्।

टेलिभिजनतर्फ नेपाल टेलिभिजनका रुकुम संवाददाता धनवीर दाहाल, बुद्ध आवाज टेलिभिजन, कपिलवस्तुकी कोपिला पोखरेल र जनता टेलिभिजन, नवलपरासी पूर्वकी धनमाया भुसाल संयुक्त रुपमा पुरस्कृत भए। कार्यक्रम प्रस्तोतातर्फ सिआइएनकी सोभिता रिसाल र कान्तिपुर एफएमकी शर्मिला खनाल पनि पुरस्कृत भए। बालसंवेदनशिल सामुदायिक रेडियो राष्ट्रिय पत्रकारिता पुरस्कारबाट रेडियो बाजुरा सम्मानित गरिएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले आमसञ्चार माध्यमले बालबालिकको विषयमा संवेदनशील भएर समाचार संम्प्रेषण गर्नुपर्ने बताइन। ‘सानो कुराले पनि बालबालिकामा ठूलो प्रभाव पार्ने गर्छ। त्यसैले बालबालिकाको समाचार संकलन र रिपोर्टिङको क्रममा आमसञ्चारमाध्यम संयमित हुनुपर्छ,’ उनले भने, ‘आम सञ्चारमाध्यमले बालबालिकासम्बन्धि खोजमूलक समाचार संकलन गरेर बालबालिको अधिकारको वकालत गर्नुपर्ने देखिन्छ।’

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले बालकल्याण समितिसँग सहकार्य गर्दै बालसंवेदनशील पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताए। ‘हामीले सरकारी निकायबाहेक अन्य निकायसँग सहकार्य गरेर पुरस्कार वितरण गरेका छैनौं,’ उनले भने, ‘यस्ता खाले पुरस्कारले पत्रकारिता गर्दै आएका पत्रकारलाई प्रोत्साहन गर्न सहयोग पुग्नेछ।’

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद भुसालले बालबालिकाको मुद्दासम्बन्धि समाचार आमसञ्चारमाध्यममा आउनुपर्ने बताए। ‘अहिले सञ्चारमाध्यममा बालसंवेदनशील समाचार आए पनि पर्याप्त देखिदैंन,’ उनले भने, ‘बालबालिका भविष्यका कर्णदार भएकाले पनि आमसञ्चार माध्यमले प्रथामिकता दिनुपर्ने देखिन्छ।’ उक्त कार्यक्रममा पुरस्कृत पत्रकारको तर्फबाट नागरिककर्मी खगेन्द्र अधिकारी र सोभिता रिजाल लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित: ३० असार २०७६ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App