१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तहको खाका आयोगमा

इलाम– स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाको पुनर्संरचनाको खाका बिहीबार स्थानीय तह पुनर्संरचना आयोगमा बुझाएको छ। औपचारिक रूपमा आयोगमा स्थानीय तहको खाका बुझाउने इलाम देशमै पहिलो भएको छ।

केही दिनअघि यहाँबाट सरुवा भएका स्थानीय विकास अधिकारी मदन कोइरालाले १० संख्याका स्थानीय तहसहितको खाका आयोगमा खाका बुझाएका हुन् । उनले इलामका राजनीतिक दल र स्थानीयको सहयोगकै कारण जिल्लाले बेलैमा आयोगमा अन्तिम खाका बुझाउन सफल भएको पनि बताए । जिल्लामा सरुवा लिइ आउने स्थानीय विकास अधिकारी ध्रुव खड्का कार्यालयमा हाजिर हुन बाँकी नै रहेकाले कोइरालाले नै आयोगमा प्रतिवेदन बुझाएको समितिका सदस्य–सचिव छविलाल खतिवडाले जनाए ।

आयोग उपसचिव अञ्जन नेउपानेले खोटाङले इमेलमार्फत् साताअघि नै आयोगमा प्रतिवेदन बुझाएपनि प्रिन्टसहितको खाका बुझाउनेमा चाहिँ इलाम पहिलो भएको बताए । ‘इमेललाई पनि आधिकारिक मान्नैपर्छ तर प्रिन्ट कपी पनि आयोगमा बुझाउनुपर्ने भएकाले इलाम त्यसमा पहिलो भएको हो,’ उनले भने । इलामसहित खोटाङ र अछामले बिहीबार आयोगमा स्थानीय तह पुनर्संरचनाको खाका बुझाएको उनले जानकारी दिए ।  

 आयोगमा बुझाइएको प्रतिवेदनअनुसार इलाममा ४ नगरपालिका र ६ गाउँपालिका प्रस्तावित छन् । जिल्लामा इलाम, माई, देउमाई र सूर्याेदय नगरपालिका तथा माईजोगमाई नगरपालिका बन्नेछन् । सन्दकपुर, रोङ, माङ्सेबुङ, फाल्गुनन्द र फाकफोकथुम गाउँपालिका बनाउने निर्णय भएको छ । निर्णयसहितको खाका गत ७ गते जिल्लामा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको थियो । त्यसअघि आयोगले जिल्लालाई ८ संख्याका स्थानीय तह तोकेको थियो । तर, कात्तिक ४ मा ‘स्थानीय तह पुनर्संरचना पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्त–२०७३’ परिमार्जन गरी जिल्लामा ८ देखि ११ संख्याका स्थानीय निकाय तोकिएपछि त्यहीअनुसार तहको संख्या १० तोकिएको हो ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App