१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्यप्रति चनाखो बन्दै दुर्गमका गर्भवती

कुँडारी स्वास्थ्यचौकीमा गर्भजाँचका लागिआएकी महिला। तस्बिरः नागरिक

जुम्ला– कुँडारी गाउँकी नानी तिरुवा ९ महिनाकी गर्भवती हुन्। उनी आफ्नो स्वास्थ्यप्रति निकै संवेदनशील छिन्। गर्भावस्थामा गर्नुपर्ने खानपान र आरामका विषयमा निकै चनाखो छिन्।

गर्भावस्था निकै जटिल भएकाले नियमित चेकजाँच गर्नेदेखि पेटमा रहेको बच्चाको स्वास्थ्यप्रति निकै चिन्तित बनेको उनी बताउँछिन्। ठूलो र गह्रुगो काम परिवारले नलगाउने गरेको उनको भनाइ छ।

स्थानीय जानकी भट्टराई पनि आफ्नो स्वास्थ्यप्रति निकै ख्याल पु-याउँछिन्। ९ महिनाकी गर्भवती उनी सफा खानेपानी र पोषिलो खाना अनिवार्य खाने गरेको बताउँछिन्। ‘पहिलेका गर्भवती घरायसी काममै व्यस्त हुन्थे, निकै गह्रुगो भारी बोक्ने, बीचमै बच्चा खस्ने र स्वास्थ्य अवस्थामा ठूलो समस्या आउने खतरा बढ्थ्यो,’ उनले भनिन्, ‘अहिले सामान्य समस्या आउने बित्तिकै स्वास्थ्य संस्था पुगिहाल्छौँ।’

पहिले गोठमा सुत्केरी हुने र हप्ता दिनसम्म गोठमै बस्ने चलन थियो। जसकारण गोठमा रहेको फोहोरले आमा र बच्चाको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्थ्यो। तर, अहिले त्यो अवस्था छैन।

जानकी र नानी प्रतिनिधि उदाहरण मात्र हुन्। उनीजस्ता थुप्रै गर्भवती महिला आफ्नो स्वास्थ्यप्रति चिन्तित बन्न थालेका छन्। कुँडारी स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्याय स्वास्थ्य संस्थामा चेकजाँच गर्न र सुत्केरी हुन आउने संख्या बढेको बताउँछन्। उनका अनुसार चालू आर्थिक वर्षमा ५२ जना गर्भवती स्वास्थ्यचौकीमै आएर सुरक्षित सुत्केरी भएका हुन्। ‘स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर भएकाले चौबीसै घण्टा स्वास्थ्यकर्मी बस्छन्,’ उनले भने, ‘जुनसुकै समयमा जस्तोसुकै समस्या आए पनि उपचार गर्न सकिने अवस्था छ।’ पछिल्लो समय अल्ट्रासाउण्ड मेसिन आइसकेकाले गर्भजाँच गराउन आउने महिलाको संख्यामा वृद्धि हुन थालेको हो।

तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक गणेशबहादुर शाही शुद्ध खानेपानी पिउनेदेखि गर्भवती र सुत्केरीको संरक्षणका लागि अभिभावक पनि सचेत रहेको बताउँछन्। सरकारले चारपटक गर्भजाँच गर्न आउने गर्भवतीलाई प्रतिपटक दुई सय रुपैयाँका दरले आठ सय रुपैयाँ उपलब्ध गराउँछ। स्वास्थ्य संस्थामा सुत्केरी भएबापत् यातायात खर्चस्वरुप तीन हजार रुपैयाँ प्रदान गर्छ। यसका साथै स्वास्थ्य शाखाले पनि स्वास्थ्य संस्थामा सुत्केरी र गर्भवतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन थालेको उनले जानकारी दिए।

तिला–९ की देवु बुढा स्वास्थ्य संस्थामा सुत्केरी हुन थालेपछि घरमा सुत्केरी हुने दर घटेको बताउँछिन्। उनका अनुसार पहिले गोठमा सुत्केरी हुने र हप्ता दिनसम्म गोठमै बस्ने चलन थियो। जसकारण गोठमा रहेको फोहोरले आमा र बच्चाको स्वास्थ्यमा संक्रमण हुने खतरा हुन्थ्यो। तर, अहिले त्यो अवस्था नभएको उनले बताइन्। यो गाउँपालिकामा झण्डै चार सय गर्भवती छन्। स्थानीय सरकारले पनि गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पु-याउनका लागि प्रोत्साहनका क्रियाकलाप गर्न थालेको छ। आवतजावतका लागि एम्बुलेन्स खरिद प्रक्रियालाई अघि बढाएको छ।

प्रकाशित: २९ असार २०७६ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App