१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिराेले घर पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगा– ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

शनिबार घरमाथि एक्कसी खसेको पहिरोले पुरेपछि घरभित्र रहेका आमा छोरीको ज्यान गएको मोलुङ गाउँपालिका ७ पात्लेका वडा अध्यक्ष हेमकुमार सुनुवारले जानकारी दिए। पानी पर्न रोकिएपछि शेर्पाका श्रीमान घरबाहिर निस्किएको ५ मिनेटमै घरमाथिको सडक हुँदै आएको पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो। 

घरभित्र एउटै खाटमा आमाछोरी सुतिरहेको अवस्थामा पहिरोले पुरेको वडा अध्यक्ष सुनुवारले बताए। ढुंगा र माटोले बनेको घर पहिरोका कारण पुर्ण रुपमा ध्वस्त भएको छ। पहिरोले घर पुरिएपछि वडा अध्यक्ष सुनुवारसहित २ सय जना स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा एउटै खाटमा दुई आमाछोरीको शव फेला परेको थियो। 

यो संगै ओखलढुंगामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि बाढीले बगाएर दुई जनाएको मृत्यु भएको छ। लगातारको अविरल बर्षापछि आएको बाढीले बगाएर चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र शुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो। बिहीबार बेलुकादेखि नै बेपत्ता भएकी पासाङकुटी शेर्पाको शव शुक्रबार दिउँसो स्थानीय लसुने खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। गाउँ डुल्न हिँडेकी शेर्पा राती अबेरसम्म घर नफर्किएपछि प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा चिसंखुगढी गाउँपालिका ७ स्थित खोला किनारमा शव फेला परेको थियो। 

त्यस्तै मोलुङ खोलाले बगाएरशुनकोसी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको छ। खेतमा पसेको भल काट्ने क्रममा अचानक बढेको खोलाले राईलाई बगाएको थियो। बाढीले बगाएपछि राईलाई मोलुङ दोभानबाट स्थानीयले उद्धार गरेका थिए। उद्धारपछि उपचारका लागि उदयपुरको घुर्मी लैजाने क्रममा मृत्यु भएको स्थानीय बुद्धिमान राईले बताए। 

यता सिद्धिचरण नगरपालिका– ६ जन्तरखानिमा गुन बहादुर श्रेष्ठकी श्रीमती पहिरोमा परि बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

प्रकाशित: २८ असार २०७६ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App