१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई दिनदेखि टापुमा फसेकाकाे उद्धार

कमला नदीको बीचमा बनेको टापुमा दुई दिनदेखि थुनिएका वृद्धवृद्धाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएपछि मेयर यादवसहित। तस्बिरः नागरिक

जनकपुर– दुई दिनदेखि बाढीले कमला नदीको बीचमा बनाएको टापुमा फसेका ९ जनालाई शनिबार बिहान सुरक्षित उद्धार गरिएको छ। सिरहाको कल्याणपुर नगरपालिका–५, निर्दनाका पाँच र धनुषाको कमला नगरपालिका–७ का चार जनालाई सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले सुरक्षित स्थानमा ल्याएको सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले जानकारी दिए। मेयर बरबरियाको सक्रियतामा शुक्रबारै साँझदेखि उनीहरूलाई बाढीको घेराबाट निकाल्न प्रयास थालिएको थियो।

धनुषा र सिरहाको सीमा नदीको रुपमा बग्ने कमला नदीमा आएको बाढीले धनुषास्थित इनर्वाको बाँध भत्काएर गाउँ पसेको बाढीले आधा दर्जन गाउँ डुबानमा परेका छन्।

कमलाको बाढी अनियन्त्रित भएर जनकनन्दनी गाउँपालिकामा पर्ने इनर्वा, कठाल, बरियर्वा, बनरझुलालगायत गाउँ डुबानमा परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। उनका अनुसार इनर्वामा कमलाको बाँध भत्केर गाउँमा बाढी पसेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान स्थानीय सुरक्षाकर्मीले सहयोग गरिरहेका छन्।

बाढीले कठाल गाउँ पूरै डुबेको छ भने अन्य गाउँलाई बाढीले चारैतिरबाट घेरेको प्रजिअ कणेलले बताए। डुबानमा परेकालाई नजिकको गाउँमा आश्रयका लागि आह्वान गरिएको उनले बताए।

प्रकाशित: २८ असार २०७६ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App