१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा हनुमन्तेको त्रास

भक्तपुर - निरन्तरको अविरल वर्षासँगै भक्तपुरबासीमा त्रास छाएको छ । विशेषगरी हनुमन्ते खोला वरपरका बासिन्दामा डुबानको चिन्ता छाएको हो । प्रत्येक वर्षायाममा हनुमन्ते वरपरका सयौं घर डुबानमा पर्ने गरेका छन् । गत वर्ष हनुमन्तेमा आएको बढीको बितन्डा देखे–भोगेका स्थानीय यो वर्षको मनसुन सक्रिय भएसँगै डरमा बस्न थालेका हुन् ।

गत वर्ष असार २८ गते हनुमन्तेमा आएको बाढीका कारण तीनजनाको मृत्यु हुनुका साथै सयौं घर डुबानमा परेका थिए । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा डराउँंछ’ भनेझैं हनसमन्ते किनारका बासिन्दा यतिबेला सम्भावित जोखिमको चिन्ता र त्रासमा परेका छन् । हनुमन्ते खोला वरपरका हनुमानचा, लिवाली, हनुमानघाट, भेलुखेल, राममन्दिर, सल्लाघारी, सिर्जनानगर, राधेराधेलगायत क्षेत्रका बासिन्दा त्रासका बीचमा सतर्क अवस्थामा रहेको राधेराधेका सुरेश कवांले बताए । ‘निरन्तरको वर्षाले डुबान हुने निश्चित जस्तै भएकाले स्थानीय त्रासमा छन्,’ कवांले भने, ‘यही कारण कतिपय स्थानीय अस्थायी रूपमा स्थानान्तरणको योजनामा रहेका छन् ।’

निरन्तरको वर्षाले डुबान हुने निश्चित जस्तै भएकाले स्थानीय त्रासमा छन् । कतिपय स्थानीय अस्थायी स्थानान्तरणको योजनामा छन् ।

प्रत्येक वर्ष खोलामा आउने बाढीले अरनिको राजमार्गअन्तर्गत मध्यपुर ठिमी क्षेत्र डुबानमा गर्दै आएका छन् । हनुमन्ते खोलामा आएको बाढीको खोला छेउछाउका उद्यकारखाना, अस्पताल, निजी घर, धानखेती आदि डुबानमा पर्दै आएका छन् । यसैबीच, अविरल वर्षाले हनुमन्ते खोलाको असर देखिन सुरु भएको छ । खोलामा आएको बाढीले बाराहीस्थान डुबानमा परेको छ । मध्यपुर ठिमी र सूर्यविनायक नगरपालिका जोडने (नयाँ ठिमी, शंखधर चोकबाट दक्षिणबाराही जाने बाटोको पुल) भासिएर सवारीसाधन आवतजावत ठप्प भएको छ ।

गत वर्षहरू जस्तै यसवर्ष पनि हनुमन्ते खोलानजिकैको हनुमानघाटस्थित बालसेवक मावि, बाहारीस्थानस्थित शान्ति निकेतन मावि पनि डुबानमा परेका छन् । डुबानले भीमसेनस्थानस्थित हनुमन्ते खोलानजिकैको सिद्धिस्मृति महिला तथा बालबालिका अस्पताल र सल्लाघारीस्थित इमामुरा मेमोरियल अस्पतालको सेवा पनि प्रभावित बनेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरका संयोजक नारायणप्रसाद भट्टले शुक्रबार साँंझसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको बताए । प्रजिअ भट्टबा अनुसार सम्भावित दुर्घटनालाई ध्यानमा राखी उच्च सतर्कता अपनाइएको र उद्धारकर्मीहरूलाई सतर्क अवस्थामा राखिएको छ ।

गएको वर्ष पहिरो, बाढी तथा डुबानमा परी भक्तपुरमा तीनजनाको मृत्यु, चारजना घाइते हुनुका साथै ५० भन्दा बढी घरमा क्षति भएको थियो । पाँच सय ५० घर–परिवार विस्थापित भएका थिए । त्यो बेला १२ करोडभन्दा बढी धनमालको नोक्सानी भएको जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले आँकलन गरेको थियो । अविरल वर्षापछि सम्भावित दुर्घटनाबारे सचेत हुँंदै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा पुगेर निरीक्षणसमेत गरेको थियो ।

प्रकाशित: २८ असार २०७६ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App