१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वर्षाले जनजीवन अस्तव्यस्त, ६ हजार विस्थापित

संघीय ब्युरो
काठमाडौं - अविरल वर्षाका कारण आएको बाढीले मुलुकका विभिन्न भूभागमा वितण्डा मच्चाएको छ। बाढीपहिरो र डुबान बढेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। बाढीले रौतहतको सबै क्षेत्र प्रभावित बनेको छ। बाढीले बगाउँदा त्यहाँका दुईजना बेपत्ता भएका छन्। बिहीबार ईशनाथ नगरपालिका–३ औरैयाका ४० वर्षीय रामपुकार पटेललाई बेपत्ता पारेको थियो। यसैगरी शुक्रबार दिउँसो गढीमाई नगरपालिका–७ धर्मपुरकी ४० वर्षीया दुलारी देवीलाई बाढीले बगाएको छ।

बाग्मती र लालबकैया नदीको जलस्तर खतराभन्दा माथि पुगेपछि सदरमुकामवासीमा त्रास बढेको छ। दुवै नदीले तटबन्ध भत्काएका छन्। गढीमाई नगरपालिकाको लक्ष्मीपुरस्थित बाग्मती नदीको तटबन्ध भत्किँदा वरिपरिका गम्हरिया, बलुवा, समनपुर, पर्सा, संग्रामपुर, धरमपुरलगायत आधा दर्जन गाउँ खतरामा परेका छन्। स्थानीय सुरक्षित बासस्थानको खोजीमा लागेका छन्। त्यस्तै लालबकैया नदीको तटबन्ध कटहरियाका दुई ठाउँमा र सदरमुकाम गौरदेखि पश्चिम बन्जरहानजिक एक ठाउँमा भत्केको छ। सदरमुकाम गौरका स्थानीय त्रासित बनेका छन्।

शुक्रबार साँझसम्म बाढीप्रभावित हजारजनाभन्दा बढीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उद्धार गरिएकाहरू बाग्मती र लालबकैया किनार बस्तीका बासिन्दा हुन्। सम्भव भएको ठाउँमा फसेकाको उद्धार गरिएको छ। तर बागमती र चाँदीखोलाको बीचमा फसेका वृन्दावन नगरपालिकाका १७ जनाको उद्धारमा स्थानीय सुरक्षाकर्मी असमर्थ भएपछि शुक्रबार साँझ हेलिकोप्टर मगाइए पनि मौसमको खराबीका कारण त्यो सम्भव नभएको बताइएको छ। जिल्ला प्रशासनले दुवै बाँध खोल्न भारतीय पक्षसँग गरेको आग्रह अस्वीकृत भएको छ।

यसैगरी गढीमाई–६ पकहा बखरी टोलका करिब अढाइ सय घरपरिवार बाढीमा फसेका छन्। बाग्मती नदीको मूलधारको पूर्वपट्टि रहेको एउटा बस्ती डुबानमा परेको छ। त्यहाँ करिब तीन सयजनाको बसोबास रहेको अनुमान गरिएको छ। बिजुली पनि नभएकाले बाढीले घेरिएका गाउँका बासिन्दासित सम्पर्क हुन नसकेको गढीमाईका मेयर श्यामप्रसाद यादवले बताए। बाढीले जिल्लामा शुक्रबार साँझसम्म लगभग सय घर भत्काइसकेको छ। घर भत्केकाहरू अलपत्र परेका छन्। बागमती र लालबकैया नदीमा निरन्तर पानी बढिरहेकोले गढीमाई, कटहरिया, राजपुर, परोहा, ईशनाथ र गौर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरिएको बताए। चुरे क्षेत्र र चाँदी खोलामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। उनले डुबान क्षेत्रमा २५ वटा डुंगा उद्धारका लागि पठाइएको जानकारी दिए। शुक्रबार रातिसम्म जिल्लामा दुई हजार पाँच सयभन्दा बढी विस्थापित भइसकेको रौतहट प्रहरीले जनाएको छ।

बारामा खोलाछेउछाउका स्थानीय त्रसित
केही दिनदेखिको निरन्तर वर्षाले खोलानाला बढ्दै जाँदा स्थानीय त्रसित बनेका छन्। लगातारको वर्षाले जिल्लाका बालगंगा, लालबकैया, पसाह, दुधौरालगायत खोलामा बाढी आएकाले कताभाग्ने भनेर वरपरका स्थानीयमा चिन्ता थपिएको छ। दुधौरा खोलादायाँबायाँका बेहरा, बलुवा, हरिपुर, प्रसौनीलगायत गाउँ बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। पसाह खोलाछेउछाउका भोडहा, खमवा, बिजुलपुर, सेमरा तेगछियालगायत गाउँ पनि बाढीको उच्च जोखिममा रहेको जनाइएको छ। पसाह खोलामा आएको बाढीले गाउँनजिकै कटान गर्न थालेको र गाउँमा बाढीको पानीसमेत पस्न थालेको सेमरा तेगछिया निवासी सुरेश प्रसादले बताए।

वर्षा भइरहे खोलाको सतह बढ्दै गई गाउँ नै डुबानमा पर्ने र धनजनको ठूलो क्षति हुने उनले बताए। बाढीमा धनजनको क्षति हुन नदिन रातभरि नै जाग्राम बस्नुपर्ने अवस्था आएको सुरेशको भनाइ छ। कलैया र जितपुर सिमरा उपमहानगरपालिका तथा महागढीमाई नगरपालिकालगायत स्थानीय तहका खोलाकिनारका बस्तीहरू उच्च जोखिममा परेको बाराका प्रजिअ राजेश पौडेलले बताए। बाढीबाट हुने सम्भावित दुर्घटना रोक्न सुरक्षाकर्मीलाई सतर्क अवस्थामा राखिएको उनले बताए। वर्षाका कारण निजगढ डुबानमा परेको छ। त्यसैगरी वर्षाका कारण निजगढको सहिद चोकलगायत आसपासको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ बजारको जमुना पैनी क्षेत्रमा बाढीले गर्दा सवारी आवागमनमा समस्या भएको छ।

ओखलढुंगामा पनि क्षति
चार दिनदेखिको निरन्तर झरीका कारण आएको पहिरोले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटे बजारस्थित धनबहादुर तामाङको तीनतले घर भत्काएको हो। शुक्रबार बिहान घरपछाडिको भागबाट आएको पहिरोले तामाङको घर भत्किएको हो। मान्छे बस्न थादिनसकेका कारण मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ। प्रहरीले भत्किएको घरनजिकका छिमेकीहरूलाई सतर्क रहन आग्रह गरेको छ। निरन्तर वर्ष भइरहेकाले पहिरोको जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्नसमेत आग्रह गरिएको छ।

वीरगन्ज जलमग्न
निरन्तरको झरीले व्यापारिक नगरी वीरगन्ज जलमग्न बनाएको छ। वीरगन्जका रानीघाट, श्रीपुर, मुर्ली नयका, टोला, नगवा, भिसुवा, रामगढवा, बिर्ता, छप्कैया आदर्शनगरलगायत क्षेत्र डुबानमा परेका छन्। वीरगन्जको मुख्य बजार क्षेत्रमा समेत पानीले निकास नपाउँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ। नगर क्षेत्रको घरायसी र बर्खे पानी निकासका लागि सवा २ अर्ब रुपैयाँमा कार्यान्वयन गरिएको ‘एकीकृत मझौला सहरी वातारण सुधार परियोजना’का नालाहरूले सहरी क्षेत्रमा जम्मा भएर बग्ने पानीको निकास धान्न सकेका छैनन्।
नाला निर्माण योजनाका कारण पुराना बहाव मासिएका छन्। नयाँ नाला निर्माणले समस्या घट्नुको साटो बढेको र समस्याले नयाँ रूप लिएको स्थानीयको भनाइ छ। ‘योजनाअन्तर्गत नाला निर्माण भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी चिन्तित छन्,’ स्थानीय व्यवसायी ध्रुव राहले भने, ‘पहिले नालातिर पानी हुन्थ्यो अब सडकैमा भेल छ, योजना असफल हुनु वीरगन्जवासीको दुर्भाग्य हो।’

खोटाङमा पहिरो
अविरल वर्षाका कारण खोटाङका विभिन्न ठाउँमा क्षति पुगेको छ। खोटेहाङ गाउँपासिलकाको बाप्लुखा दिप्तुङका कृष्ण खड्कासँगै केहीको घर जोखिममा परेका छन्। पहिरोले खोर बगाउँदा खड्काका १२ वटा बाख्रा पुरिएका छन्। यसैगरी पहिरोले गर्दा खोटेहाङ–७ खोटाङबजारमा मिलन लम्साल बस्दै आएको शिवराज राईको घरको एउटा कोठा र बरन्डा भत्काएको वडाध्यक्ष शिव फुयाँलले बताए।

यस्तै पहिरोकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कम्पिना राईको घर पुरिएको छ। मध्यपहाडी लोकमार्गको भित्तापट्टि निर्माण गरिएको घर पुरिएपछि राई परिवार विस्थापित भएको स्थानीय नेता राजुविक्रम चाम्लिङले बताए। सोभन्दा माथिको अर्को घर पनि जोखिममा परेको बताइएको छ। विभिन्न ठाउँबाट गाईबाख्रा, सुँगुर मरेको जानकारी आइरहेको खोटाङ प्रहरीले जनाएको छ।

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
तीन दिनदेखिको अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा मध्यपहाडी राजमार्गमा दुई गाडी पुरिएका छन्। घुर्मीबाट काठमाडांैतर्फ जाँदै गरेको ना१ज ३७६४ नम्बरको सुमो फिक्कल गाउँपालिकास्थित सोखुखोलामा आएको बाढीको लेदोमा पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फिक्कल गाउँपालिकाकै बाँदरेखोलामा आएको बाढी र लेदोका कारण एउटा ट्रक पुरिएको छ। ट्रकको नम्बर भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए। यद्यपि दुवै गाडीमा मानवीय क्षति भने भएको छैन। एसपी सिंहका अनुसार राजमार्गका विभिन्न ठाउँमा माथिबाट झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको छ। यस्तै बीपी राजमार्गअन्तर्गत खनियाँखर्क, माथिल्लो बारा, कमेरे, नेपालथोकलगायत स्थानमा पहिरो झरेपछि यातायात अवरुद्ध भएको छ। ‘खनियाँखर्कमा एकतर्फी गाडी खुलाएका छौं,’ एसपी सिंहले भने, ‘अन्य स्थानमा खुलाउने प्रयास जारी छ, माथिबाट पहिरो निरन्तर झरिरहेकाले समस्या भइरहेको हो।’
विराटनगरमा तीन हजार बढी विस्थापित

अविरल वर्षाका कारण मोरङमा तीन हजारजनाभन्दा बढी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ३ हजार १३ जना विस्थापित भएका छन् भने ७ सय ५५ घर डुबानमा परेका छन्।

मोरङको विराटनगर महानगरपालिका–१, २ ,४, ८, १२, १५ र १९ वडामा बाढी र डुबानका कारण जनजीवन प्रभावित भएको हो। यस्तै मोरङका कटहरी, जहदा, रतुवामाई, बुढीगंगालगायत स्थानीय तहका विभिन्न वडामा बाढीले क्षति पु¥याएको छ। मोरङको जहदास्थित सिंघिया खोलाको बाँध फुटेर गाउँमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउजूले जानकारी दिए। मोरङमा खोला तर्नेक्रममा बाढीले बगाउँदा एकजना बेपत्ता भएको मोरङ प्रहरीको भनाइ छ। मोरङको रंगेली–कानेपोखरी सडकखण्डको कानेपोखरी–२ स्थित गेउरिया खोला तर्नेक्रममा मोटरसाइकलसहित एक युवा बेपत्ता भएका हुन्। बिहीबार बेपत्ता भएका करिब २५ वर्षमा युवक अझै फेला नपरेको प्रहरीले जनाएको छ।

हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध
बाढी र पहिरोका कारण प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने चारवटै सडक अवरुद्ध भएका छन्। त्रिभुवन राजपथ र कान्तिलोकपथसहित छोटो दूरीको हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं र हेटौंडा–फाखेल–काठमाडौं सडकमा सवारीसाधन आवतजावत ठप्प भएको हो। भीमफेदी गाउँपालिका–१ भैंसेस्थित बागझोरा खोलामा आएको बाढीले त्रिभुवन राजपथ तथा सिस्नेरी, फाखेल हँुदै काठमाडौं चल्ने सडक अवरुद्ध भएको हो।

बेला–बेला वर्षाद रोकिएर खहरे खोलामा पानी कम हुँदा यात्रुहरू आवतजावत गरे पनि बागझोराको बाढीले बिहीबार साँझदेखि सवारी सञ्चालनमा असर पारेको प्रहरी उपरीक्षक सिंहले बताए। शुक्रबार बिहान साढे ९ बजेदेखि बागझोरामा आएको बाढीको कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएकाले डोजर लगाएर खुलाउने प्रयास गरिए पनि भारी र निरन्तरको वर्षाका कारण खुलाउन नसकिएको उनले बताए। पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ चार दिनदेखि अवरुद्ध छ।
शुक्रबार बिहान साढे ४ बजेतिर आएको पहिरोका कारण हेटौंडाबाट भीमफेदी–फाखेल हुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको प्रहरी उपरीक्षक सिंहले बताए। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिस्नेरी र इन्द्रसरोवर–३ ज्यामिरे, महालक्ष्मी खोलानजिकै र इन्द्रसरोवर–१ कलंकीमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको उनले बताए। हेटौंडाबाट भीमफेदी, सिस्नेरी हुँदै काठमाडौ जाने सडक भने पहिरोका कारण बिहीबारबाटै अवरुद्ध छ। कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका–८ गंगटे, कालोपहिरो, लेनडाँडा सिमात खोलानजिकै सडकमा पहिरो खस्दा राजपथ अवरुद्ध बनेको हो। त्यस्तै ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण मकवानपुरको छतिवन–फापरबारी–राईगाउँ र पश्चिमी राक्सिराङमा यातायात सेवा ठप्प भएको छ।

सिरहाका दुई सय घर डुबानमा
भारी वर्षाका कारण कमला नदीमा आएको बाढी सिरहा नगरपालिका–६ स्थित बसपिट्टा र वडा १२ स्थित सारश्वर गाउँमा पस्दा करिब दुई सय घर डुबानमा परेका छन्। असार लागेपछि हतारहतारमा निर्माण भइरहेको ‘एन्टी फल्ड स्विलिस’ (बाँध) भत्काएर बाढी गाउँ पसेपछि डुबान भएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले प्लास्टिकका बोरामा बालुवा भरेर बाँधमा छेकबार लगाएपछि तत्काललाई बाढी गाउँ पस्न रोकिएको छ तर खतरा टरेको छैन।

सप्तकोसीमा पानीको बहाव उच्च
सप्तकोसी नदीमा पानी बहाव यस वर्षकै उच्च स्थानमा पुगेको छ। बिहीबार बिहानैदेखि पानीको बहाव बढिरहेकोमा शुक्रबार दिउँसो एक लाख ९१ हजार ३ सय ७५ क्युसेक पुगेको छ। बहाव बढेसँगै सुरक्षामा संवेदनशील भएको भन्दै सतर्कता अपनाइएको छ। कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २५ वटा खुलाइएका छन्। वर्षकै कारण कोसी राजमार्गअन्तर्गत सुनसरी–मोरङ जोड्ने दुहवीको बुढीखोलाको पुल उच्च खतरामा परेको छ। कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकअन्तर्गत नै अहिलेको पुल विस्तार गर्न दायाँबायाँ जग खनिएकाले पनि वर्षासँगै बढेको पानीले कटान गरेपछि पुल उच्च खतरामा परेको हो।

प्रकाशित: २८ असार २०७६ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App