१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोरङमा ३ हजार विस्थापित, एक बेपत्ता

विराटनगर–  अविरल वर्षाका कारण मोरङमा ३ हजार जना भन्दा बढी विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लामा ३ हजार १३ जना बिस्थापित भएका छन्  भने ७ सय ५५ घर डुवानमा परेका छन्।

मोरङको विराटनगर महानगरपालिकाको  १, २ ,४,८,१२,१५ र १९ नम्बर वडामा बाढी र डुवानका कारण  जनजीवन प्रभावित भएको छ। यस्तै  मोरङको कटहरी, जहदा, रतुवामाई, बुढीगंगालगायतका स्थानिय तहहरूका विभिन्न वडामा  बाढीले क्षति पु-याएको छ। मोरङको जहदामा सिंघिया खोलाको बाँध फुटेर खोला गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिए।

मोरङमा खोला तर्नेक्रममा बाढीले बगाउँदा एक जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङको रंगेली —कानेपोखरी  सडक खण्डको कानेपोखरी —२ स्थित गेउरिया खोला तर्नेक्रममा मोटरसाईकलसहित एक युवा वेपत्ता भएका छन्। बिहीबार वेपत्ता भएका करिब २५ वर्षेमा युवक अझै फेला नपरेको प्रहरीले जनाएको छ। यस्तै बाढीका कारण घाइते भएका एक जना उपचार पछि घर फर्किसकेको प्रहरी प्रबक्ता श्रेष्ठले बताए।

विस्थापित भएका धेरैजसो खोला किनारमा बसोवास गर्दै आएका सुकुम्वासीहरू छन्। विस्थापित भएकाहरूलाई  सार्वजनिक भवनहरूमा राखिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। उनका अनुसार मोरङमा स्थानियतहका वडाकार्यालय मार्फत   विस्थापितहरूलाई  तत्काल राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

मोरङमा विस्थापितहरूका लागि त्रिपाललगायतका राहत सामाग्री नेपाल रेडक्रस सोसाईटी, वल्डभिजन इन्टरनेशनललगायतका संस्थाहरूले उपलब्ध गराएको केसीले बताए। मोरङमा बाढीका कारण विभिन्न खोलाका पुलहरू पनि जोखिममा परेका छन्। विराटनगरको हाटखोलास्थित  सिंघिया खोलाको पुल र सुनसरी – मोरङको सीमानास्थित  केशलिया खोलाको पुल जोखिममा परेको छ। बाढीका कारण मोरङका अधिकांश स्थानमा लगाएको तरकारी डुवानमा परेर नोक्सान भएकोछ। मोरङको सिंघिया, केसलिया, लोहन्द्रा, रतुवा लगायतका खोला केहि ठाउँमा बाँध फुटाएर र धेरैजसो स्थानमा  ‘ओभरफ्लो’ भएर   बस्ती तथा खेतमा पसेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App