१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पेनाल्टीबाट बच्न, प्रसारण लाइन रोक्ने प्रयास

काठमाडाैं– ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले आफ्ना कम्पनीले तोकिएको समयमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली दिन नसक्ने भएपछि घुमाउरो बाटोबाट प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन्।

न्यौपाने कार्यकारी निर्देशक रहेको रैराङ हाइड्रोपावर र अध्यक्ष रहेको अरुण कावेली पावर कम्पनीले ऊर्जा खरिदबिक्री सम्झौता (पिपिए) मा उल्लेखित मितिमा बिजुली उत्पादन गर्न नसक्ने भएपछि प्रसारण लाइनमा ढिलाइ गरेर जरिवानाबाट जोगिने प्रयास भएको हो।

प्राधिकरणसँग पिपिए गरेका प्रवद्र्धकले प्रतिबद्धता जनाएको मितिमा प्राधिकरणलाई बिजुली उपलब्ध गराउनुपर्छ। उक्त मितिमा बिजुली दिन नसके प्राधिकरणले जरिवाना (पेनाल्टी) लिन्छ। प्रसारण लाइन निर्माण गरिदिन नसके प्राधिकरणले पनि उत्पादित बिजुलीबापत पिपिए गरेको उत्पादकलाई पैसा तिर्नुपर्छ। न्यौपानेका कम्पनीहरुले पिपिएमा निर्धारित मितिमा आयोजना सम्पन्न गरेर बिजुली दिन नसक्ने निश्चित भएपछि प्रसारण लाइन निर्माणमा अवरोध गरेर पेनाल्टीबाट जोगिने प्रयास गरेका हुन्।

प्रसारण लाइन निर्माणमा ढिलाइ गर्न रैराङकै निर्देशक कुवेरमणि नेपालको निर्माण कम्पनी पलाञ्चोक भवगती कन्सट्रक्सन प्रयोग गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा नेपालको निर्माण कम्पनी पलाञ्चोक भगवतीले नियोजित रुपमा अवरोध खडा गरेको छ।

पलाञ्चोक भगवतीले आयोजनाको मुख्य ठेकेदार कम्पनी जागुअर ओभरसिज एन्ड एस्टर जेभीबाट पेटी ठेकेदारको रुपमा जिम्मा लिएको काम गरेबापतको भुक्तानी रोकेर कामदारलाई आन्दोलित बनाई प्रसारण लाइन निर्माणमा ढिलाइ गर्ने रणनीति अपनाएको हो। यसो गर्दा प्रसारण लाइन नबनेको निहुँमा रैराङ र अरुण कावेली जरिवानाबाट जोगिन्छन्।

न्यौपाने रैराङ हाइड्रोपावरका कार्यकारी निर्देशक र अरुण कावेली पावर कम्पनीका संस्थापक हुन्। प्राधिकरणका अनुसार पलाञ्चोक भगवतीले मुख्य ठेकेदारसँग प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो। तर, उक्त कम्पनीले काम गरेको पैसा नदिएपछि शेर्पा र कार्की अन्तर्गतका कामदारले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका छन्।

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा करिब दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ। यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड सञ्चालनमा आइसकेको छ। लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा छन्। तेस्रो खण्ड असारभित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो।

काबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजना (अरुण कावेली र रैराङ) का प्रवद्र्धकले प्रसारण लाइनको पेटी ठेक्का आफैंले लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। ‘प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना (पेनाल्टी) तिर्नुपर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ,’ उनले भने, ‘बाहिरबाहिर प्राधिकरणले प्रसारण लाइन समयमा नबनाई दिँदा बिजुली खेर जाने भयो भन्दै हल्ला गर्ने, भित्रभित्र आफैं पेटी ठेक्का लिने पेनाल्टीबाट बच्न नियोजित रुपमा काममा अवरोध गर्ने, योभन्दा ठूलो अराजकता अरु के हुन्छ?’

पलाञ्चोक भगवती कन्सट्रक्सन रैराङ हाइड्रोपावर डेभलपमेन्टको आयोजना निर्देशक कुवेरमणि नेपालको कम्पनी हो। रैराङले पाँचथर र ताप्लेजुङको सीमामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको बिजुली कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ। प्राधिकरणसँग भएको पिपिए अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) अगामी १ साउनमा छ।

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा न्यौपानको अरुण कावेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको कावेली बी १ जलविद्युत् आयोजना जोडिने छ। प्राधिकरणसँग गरेको पिपिए अनुसार अरुण कावेलीको आरसिओडी गत ९ वैशाख हो। अरुण कावेलीका अध्यक्ष न्यौपाने र रैराङमा कार्यकारी निर्देशक छन्।

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैंले काम लगाएका व्यक्तिलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए। उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायत खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो। झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ। प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो।
कावेली करिडोर प्रसारण लाइन निर्माण करिब १० वर्षअघि सुरु गरिएको थियो। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो।

तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैकको सहुलित ऋणमा निर्माण भएको हो।

 

प्रकाशित: २७ असार २०७६ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App