खरानी ‘होलसेलर’

शुक्रबार, २७ असार २०७६, १६ : ३८ युवराज गौतम

जापानका सम्राट हिरोहितो तथा ब्रिटेनकी महारानी एलिजाबेथले राजा वीरेन्द्रलाई लेखेका पत्रमा ‘मेरा प्रिय भाइ’ (माइ डियर ब्रदर) सम्बोधन गरिएको छ। जापान, ब्रिटेन र अमेरिकामा उच्च शिक्षा लिएका वीरेन्द्र तथा त्यहाँका राष्ट्राध्यक्षहरूबीच पारिवारिक वातावरणमा संवाद हुने गरेको दरबारका पुराना कर्मचारीहरू बताउँछन्।

राजा वीरेन्द्रका सहयोगी बनेर विभिन्न राष्ट्रमा अध्ययन गरेका (राजदरबारका पूर्वसचिव) नारायणप्रसाद श्रेष्ठ भन्छन्, ‘राजा वीरेन्द्र राष्ट्रियता र प्रजातन्त्रप्रति अत्यन्त संवेदनशील भएकाले जापान तथा पश्चिमा राष्ट्रले नेपाललाई ठूलो महŒव  दिए। राजा वीरेन्द्रको उच्च व्यक्तित्वबाट प्रभावित नहुने कोही थिएनन्। एउटा असल र सक्षम राष्ट्रनायकले सीमित साधन स्रोतबाट राष्ट्रोत्थानमा पु¥याएको योगदान आज पनि स्तुत्य छ। कुनै कालखण्डमा संसारमा नेपालको आफ्नै शान थियो। ‘एकोऽस्मि चन्द्र तमो हन्ति’ (एउटै चन्द्रमाले अन्धकार नाश गर्छ) भनेझैँ नेपाली राजनीति र कूटनीतिको देदीप्यमान (चम्केको) ज्योति अहर्निश (चौबीसै घन्टा) प्रज्ज्वलित रहोस् भन्ने राजा वीरेन्द्रको सदिच्छा थियो। त्यो, उनको व्यवहारमा झल्किन्थ्यो।

इतिहास, धर्म, संस्कृति, राष्ट्रिय एकता, प्राचीन मूल्य–मान्यता र नेपाली–नेपालीबीचको प्रेम भष्म पारेर होलसेलरहरू खरानीको व्यापार गर्दै छन्। हामी उनीहरूलाई ‘राजनीतिज्ञ’ भन्दै छौँ।

 

राजा वीरेन्द्रको हत्यापछि महिनौँ लगाएर पंक्तिकारकै सम्पादकत्वमा वीरेन्द्र स्मृति ग्रन्थ तयार पारियो। २०५९ असार ६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उक्त ग्रन्थ विमोचन गरियो। हाल संसद् भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हल खचाखच थियो। नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको हुँदा लाखौँ दर्शकले घरमै बसेर कार्यक्रम हेर्ने अवसर पाए। प्रथम वार्षिक पुण्यतिथिमा सो कार्यक्रम राखिएको थियो।

राजाका संवाद सचिव नरेन्द्रराज पाण्डे अत्यन्त सरल, विनम्र, अध्ययनशील र शालीन थिए। कैयन् पत्रकारका घरमा आफँै जान्थे। कहिलेकाहीँ भाटभटेनीस्थित घरमा बोलाएर छलफल गर्थे।  राजासँग भेटघाटको अवसर पनि जुटाइदिन्थे। एकजना शाही नातेदारको घरमा पंक्तिकारलाई पनि दुईपटक त्यस्तै अवसर मिलाइदिएका थिए, पाण्डेले। त्यसबेला राजा वीरेन्द्रबाट अभिव्यक्त केही विचार अहिले पनि सम्झिरहन्छु। ‘लेखक/पत्रकारले अन्तर्राष्ट्रिय घटनाक्रम अध्ययन गरेर राष्ट्रिय परिस्थितिको निष्पक्ष तुलना र समीक्षा गर्नुपर्छ।’ राजाको यो  कथन मननयोग्य थियो।

राजा वीरेन्द्रका विचार धेरैले बुझेनन्।  अन्तर्राष्ट्रिय स्तरको त्यो ओजस्वी व्यक्तित्व वास्तवमै अतुल्य थियो। काठमाडौँ धोबीधारास्थित निवासमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले राजा वीरेन्द्रबारे भनेका थिए– ‘दक्षिण एसियाको सबैभन्दा ठूलो राष्ट्र भारतका जवाहरलाल नेहरू, इन्दिरा गान्धी र पाकिस्तानका नेता अलि जिन्नाका पनि ‘राइभल’ धेरै थिए। तर स्वदेश र विदेशमा राजा वीरेन्द्रलाई सबैले निकै सम्मान गर्थे। वीरेन्द्रका कोही शत्रु वा प्रतिस्पर्धी थिएनन्। नागरिकता, राष्ट्रिय सुरक्षा र जलस्रोतलगायत नेपालको हितसँग गाँसिएका विषयमा उनले कहिले पनि सम्झौता गरेनन्। चीनका प्राध्यापक वाङ चुङले लेखेको ‘नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति’ पुस्तक  पढ्नोस्। वीरेन्द्रका हत्यारा को हुन्, छर्लंग हुन्छ।’

भारतका बृहत् इतिहास (भाग १) मा रमेशचन्द्र मजुमदार, हेमचन्द्र राय चौधुरी तथा कालिकिंकर दत्तले लेखेका छन् –‘राजतन्त्रको अवधारणा नै सबैलाई समदर्शी भएर हेर्ने उदार व्यक्तित्वको परिकल्पना हो।’ २०२५ सालतिर त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका हितनारायण झाले प्राचीन कला, साहित्य र संस्कृतिमा नेपाल हजाराँै वर्षअघिदेखि समृद्ध थियो भनेका छन्। तसर्थ, दल–गुट– क्षेत्र वा कुनै भेदभावबेगर सबैलाई आफ्नो ठान्ने चिन्तन र परम्परामा हुर्केका महान् व्यक्तिहरूले गुण र दोषका आधारमा असल मानिस चिन्ने गर्छन्। राजा वीरेन्द्रमा पनि ती सद्गुण थिए।

राष्ट्रले एउटा मात्र योग्य नेता पायो भने धेरै फरक पर्दोरहेछ। ‘नेपालको जनक्रान्ति’ पुस्तकमा इतिहासविद् भुवनलाल प्रधानले जनताको हक सुरक्षित रहनुपर्छ भन्ने उद्देश्यले वि.सं. १९८० मा खुलेको पहिलो संगठन ‘प्रचण्ड गोरखा’ तथा १९९३ मा खुलेको प्रजापरिषद् पार्टी व्यक्तिगत सुख, सुविधा, सत्ताको प्रलोभन र बाह्यशक्तिको स्वार्थका निम्ति थिएनन् भनेका छन्।  स्वतःस्फूर्त  रूपमा जनता संगठित हुदै गए, तर दुर्भाग्यवश पछि गएर स्थापना भएका दलहरू प्रदूषित भए। परिष्कृत, अनुशासित, शालीन, सुसंस्कृत, इमान्दार तथा राष्ट्रवादी मार्ग हिँड्नुपर्नेमा अधिकतर दलमा विदेशी शक्तिको कालो छाया देखियो। ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेझैँ देखिन थाल्यो, राष्ट्रवाद र देशभक्ति नारा।

२००७ सालपछि बिपी कोइरालासमेत कतिपय ठाउँमा चुकेको उनका दाजु मात्रिकाप्रसाद कोइरालाको पुस्तकमा उल्लेख छ। उमेर, आवेग, आवेश, प्रतिशोध वा मनोविज्ञानको प्रभावले मानिसले राजनीति वा सामाजिक व्यवहारमा पनि अपरिपक्व व्यवहार देखाउँछ। जवाहरलाल नेहरू र अलि जिन्ना युवक थिए, सन् १९४७ मा। शिक्षित भए पनि ब्रिटिसहरूको डिजाइनमा फसे, उनीहरू। महात्मा (मोहनचन्द्र करमचन्द) गान्धी पनि फसे। कतिपय भारतीय पत्रकार ठट्टा गर्छन्– ‘नेहरू, गान्धी र जिन्ना वकिल थिए। उनीहरूले नै राष्ट्रिय एकता ‘किल’ गरे। फलतः भारत टुक्रियो।’

उमेर छिप्पिँदै जाँदा बिपीले राष्ट्रियता बचाउन परम्परागत शक्तिसँग मेलमिलाप गर्नैपर्छ भन्ने आत्मसात् गरे। उनी लेख्छन्,– ‘राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्किएको सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिँदै, फराकिलो हुँदै, दृढतर हुँदै जान्छ। इङ्ल्यान्डको इतिहासमा रहेका पार्टीले ह्विग, टोरी, कम्युनिस्ट र अरू अनेक दलले घोर मतभिन्नताका बाबजुद राष्ट्रिय हितमा आँच आउन दिएनन्। तिनीहरूको वर्तमान इङ्ल्यान्डको राष्ट्रिय स्वरूपको निर्माणमा ठूलो योगदान छ भन्ने तथ्य हामीले पनि स्वीकार गर्नुपर्छ’ (स्रोतः बिपी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता, बिपी संग्रहालय समिति, सुन्दरीजल)।

राजा महेन्द्रसँग नजिक बसेर काम गरेका पुराना नेता तथा कूटनीतिज्ञ हृषिकेश शाहले लेखेका छन्– ‘चाउ एन लाइको भनाइमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू ब्रिटिसहरूबाट प्रशिक्षित भएकाले सरकारी कर्मचारीहरूबाट गुमराह तुल्याइएका थिए। त्यसैले सीमा समस्यालाई उनी ब्रिटिसहरूकै आँखाबाट हेर्ने गर्थे’ (शाहद्वारा लिखित  प्रारब्ध र पुरुषार्थ)।

मानिस कहाँ र कसरी हुर्किन्छ, जीवनमा त्यसको प्रभाव अवश्य पर्छ। भारतमा जन्म लिए पनि बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए। उनीहरूको जीवनमा भारतीय राजनीति र कूटनीतिको प्रभाव देखिन्थ्यो। तर जर्मन मूलका अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जर र पाकिस्तानमा जन्मेका भारतका पूर्वप्रधानमन्त्री इन्दरकुमार गुजरालको ‘डक्ट्रिन’ ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने मान्यताबाट विचलित भएन।

सन् १७८९ मा अमेरिकामा संविधान बन्यो, जसलाई उनीहरू ‘फिलाडेल्फिया कन्स्टिच्युसन’ भन्छन्। सय करोड रुपैयाँभन्दा बढी रकम र झन्डै ७÷८ वर्ष लगाएर तयार पारिएको नेपालको कन्स्टिच्युसन झैँ निरन्तर संक्रमणकाल निम्त्याएर कन्स्टिपेसन (कब्जियत) गराउने संविधान थिएन, त्यो। अमेरिकामा नेता, दल वा कुनै व्यक्तिको स्वेच्छामा होइन, विधिको शासनलाई मेरुदण्ड मानेर चलेको छ, राजकाज। राष्ट्रपतिले जात, धर्म, क्षेत्र, आरक्षण आदि हेरेर होइन, क्षमता, दक्षता, इमान्दारी र योग्यता हेरेर मन्त्री छान्छन्। त्यसैले २७ पल्ट मात्र संशोधन भयो, संविधान।

थियोडर रुजबेल्ट अत्यन्त लोकप्रिय राजनेता थिए। उनले चारपल्ट राष्ट्रपतिको चुनाव जिते। यसले गर्दा नीतिभन्दा नेता प्रबल हुँदै जाने खतरा देखियो। विधिको शासन नेताको शासनले विस्थापन गर्ने सम्भावना देखियो। संविधानविद्हरूको सुझाव आयो– ‘अब एक व्यक्ति दुईपल्ट मात्र राष्ट्रपति हुन पाइने व्यवस्था गर्नुपर्छ।’ संविधान संशोधन गरेर त्यस्तै व्यवस्था गरियो।

२०१५ सालपछि वेदानन्द झाले पहिलो क्षेत्रीय दल खोले– तराई कांग्रेस। तेह्रथुमका साहित्यकार काजीमान कन्दङ्वा (लिम्बू) ले ‘मतवाली पार्टी’ खोले। त्यो जातीय दल थियो। त्यो पनि चलेन। अधिकतर नेपाली जात, क्षेत्र वा कुनै संकीर्ण पिँजडामा बस्न चाहँदैनन् भन्ने उदाहरण अहिले पनि देखिन्छ। ‘राष्ट्र’ बनिसकेको प्राचीन कालदेखिको स्वतन्त्र भूमिमा विदेशी धनले सबैको मन बराल्न सक्दैन। पार्टीले मूल बाटो बिर्सियो भन्दै कृष्णप्रसाद भट्टराई तटस्थ बसे, २०६५ सालपछि। वामपन्थी राजनीतिमा ६० बर्ष बिताएका कमल कोइराला नेपाल कम्युनिस्ट पार्टी बिस्तारै नेपाल कन्दनी पार्टी भएको विश्लेषण गरिरहेका छन्। कन्दनी पनि मक्किएको !

भारतका प्रसिद्ध कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ कविता संग्रहमा एउटा रोचक पंक्ति छ– ‘मन्दिर–मस्जिद बैर कराती, मेल कराती मधुशाला।’ अर्थात् समाजमा मन्दिर र मस्जिदले शत्रुता बढाए पनि रक्सीभट्टीले मेल गराएको छ। नेपालको राजनीतिमा पृथ्वीनारायण शाहदेखि राजा महेन्द्र र वीरेन्द्रसम्मका बारेमा विभिन्न दलका मतभिन्नता छन्। जब विदेशीले दिएको मोटो रकम खान पाउने प्रस्ताव आउँछ, तब महकाली सन्धि र नागरिकता विधेयकमा झैँ सबै जातका कमिला चिनीकै वरिपरि झुम्मिन्छन्, मधुशालामा रक्सीप्रेमीहरू झुम्मिएझैँ।

राजनीतिक संस्कृति निर्माण प्रक्रिया निरन्तर चलिरहन्छ। जर्मनी, फ्रेन्च, स्विस र इटाली भाषा बोल्नेहरू एकताबद्ध छन्, स्विट्जरल्यान्डमा। स्विस भएकामा गर्व छ, उनीहरूलाई। फ्रान्समा त्यस्तै छ। राष्ट्रवादले आफ्नो माटो, परम्परा, संस्कृति र मूल्य–मान्यता बचाउने कुरा सिकाउँछ। देशभक्तिको भावनाले सार्वभौमिकता बचाए मात्र पुग्छ भन्ने परिभाषा गर्छ। दुई खुट्टा टेकेर उभिँदैमा स्वावलम्बी बन्दैन, मान्छे। साँच्चैको मान्छे बन्न केही योग्यता चाहिन्छ।

क्षमता, दक्षता, स्वाभिमान, इतिहासप्रति चेतना, अस्तित्वबोध र राष्ट्रप्रति समर्र्पण तथा नागरिक दायित्व सिकाउँछ, राष्ट्रवादले। देशभक्ति बाह्रखरी मात्र हो तर राष्ट्रलाई बुझ्ने गतिलो पुस्तक हो– राष्ट्रवाद। राष्ट्रवाद बुझेका असल नागरिकले विदेशी दासत्व स्वीकार गर्दैन। गोपाल योञ्जनका शब्द, संगीत र स्वरमा एउटा गीत बज्छ, रेडियोमा– ‘मेरो शिर उडाऊ बरु यो सहन्छु, परायाले शिर टेके सहन्न।’ राष्ट्रवादले त्यस्तै कुरा सिकाउँछ। त्यसैले विदेशी षड्यन्त्रकारी र उनका दासहरू राष्ट्रवादीसँग डराउँछन्।

राजनीति र कूटनीतिका नाममा खरानीको व्यापार गरिँदैछ, आज। इतिहास, धर्म, संस्कृति, राष्ट्रिय एकता, प्राचीन मूल्य–मान्यता र नेपाली–नेपालीबीचको प्रेम भष्म पारेर होलसेलरहरू खरानीको व्यापार गर्दै छन्। हामी उनीहरूलाई ‘राजनीतिज्ञ’ भन्दै छौँ। राजनीतिले राष्ट्र ढाल्ने, शत्रु पाल्ने र राष्ट्रिय एकता बाल्ने कुरा सिकाउँदैन। राजनीतिका नाममा राष्ट्र नै परास्त र ध्वस्त पारिँदै छ। यसमै रमाउने कि असत्यविरुद्ध जुरुक्क जाग्ने ? निर्णय गर्ने तपाईं/हामीले नै हो।





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad