१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द

राैतहट - रौतहटमा दुई नदीको बाँध भत्किएर दर्जन बढी गाउँ डुबानमा परेका छन्। कटहरियास्थित लाल बकैया र गढीमाईको बागमती नदीको बाँध भत्किएर त्यस क्षेत्र वरपरका गाउँ डुबानमा परेका हुन्। बाँध भत्किएर गाउँको बाटो हुँदै भारततिर  बगेको पानी सीमा नाकामै जम्मा हुन थालेकाे छ। उता भारतीय पक्षले सीमा नाकामा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन थालेकाे हाे।

भारतले मनोमानी ढंगबाट सीमा नाकामा बाँध बनाएपछि पानी फेरि बस्तीतर्फ फर्किएको छ। जसले त्यस क्षेत्रका अधिकांश गाउँ डुबानमा परेका छन्। भारतीय पक्षले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द भएको छ।  पानीको निकास नहुँदा यहाँका जनता त्रसित देखिएका छन्।

लाल बकैयादेखि बागमती नदीसम्म दशगाजापारि बैरगनिया, अशोभी, बलुवा, भकुरहर, मुसाचप,बुरेनहवा, हिरापुर लगायतका भारतीय गाउँमा बाँधलाई कृत्रिम तवरले बलियो बनाएपछि पानी गाउँ हुँदै सदरमुकाम गौर जम्मा हुन लागेको छ। बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाँध भत्केर बस्तीमा पानी प्रवेश गरिरहेकाे बताए ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको उनले बताए। यस्तै बागमती नदीको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास  गरे पनि पानीको बहाव तीब्र भएकोले प्रयास असफल भएको मेयर श्याम प्रसाद यादवले बताए। दुई वर्षअघि बागमती नदीमा आएको बाढीले उक्त स्थानमा बाँध भत्काएको थियो। सो भत्केको बाँध बलियो नबनाएका कारण पुन: भत्केर गाउँमा पानी पस्न पसेकाे स्थानीयले बताए।

गौरका स्थानीय सादानन्द झाले भारतीय पक्षले मनोमनी तवरले बाँध बनाएपछि गौर सदरमुकामको अधिकांश स्थान डुबान परेको बताए। उनले भने, 'भारतले नेपालसँग रोटी बेटीको सम्बन्ध रहेको भन्छ तर आपत परेको बेला दशगजामा बाँध बनाएर झन् आपतमा हाल्ने काम गरेकाे छ।' उनले भारतको नीति नेपाललाई दु:ख दिने मात्र रहेको बताए।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरेको बताए ।चुरे क्षेत्र र  चाँदी खोलामा आएको बाढीको कारण पूर्वपश्चिम  राजमार्गसमेत अवरुद्ध भएको छ। निरन्तर पानी परिरहेका कारणले ठूलो बाढी आउने खतरा देखिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। उनले डुबान क्षेत्रमा २५ वटा डुंगा उद्धारका लागि पठाएको बताए। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताए।

प्रकाशित: २७ असार २०७६ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App