१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भालु आक्रमणमा परेका जीवनको दृष्टि फर्कियो

काठमाडौं - गत पुसमा भालुले आँखा निकालिदिएको जुम्ला चन्दननाथ नगरपालिका जाँतेभीरका २० वर्षीय जीवन सुनारले बिहीबार घाउले पुरिएको एउटा आँखाले देख्नसक्ने भएका छन्।

तिलगंगा आँखा अस्पतालमा भएको पटकपटकको शल्यक्रियापछि उनको आँखामा दृष्टि आएको हो। सुनारलाई भालुले आक्रमण गर्दा दाहिने आँखा, देबे्र आँखाको बाहिरी भाग र अनुहारमा चोट लागेको थियो। घटनामा उनको दाहिने आँखा बाहिरै निस्केको थियो। सो आँखा भेटिएन। उनलाई छ महिनाअघि घरबाट दुई घण्टा टाढा जंगलमा निगालो लिन जाँदा भालुले आक्रमण गरेको थियो। छ महिनादेखि उनी काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पताल र तिलगंगा आँखा अस्पतालमा उपचार गराइरहेका छन्।

घाउले पुरिएको देब्रे आँखा तिलगंगाका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले शल्यक्रिया गरिरहेका छन्। आँखाको ढकनीसमेत निस्केकाले सुरुमा ढकनी निर्माण गरिएका थियो। बिहीबार आँखाको चौथो शल्यक्रियाको क्रममा उनले आँखा देखेका हुन्। उनको आँखाको ढकनी पुरै नबनेको र नानीभित्र सेतो पदार्थ भरिँदा बिहीबारै पूर्ण रुपमा देख्न नसकेको डा. सैंजुले बताए। ‘डाक्टरहरुको प्रयासले धमिलो भए पनि देखेँ। खुसी लागेको छ,’ उनले नागरिकसँग भने, ‘सुष्मा कोइराला अस्पतालमा अनुहारका अन्य संरचना निर्माणको उपचार भइरहेको छ। दुवै अस्पतालका डाक्टरले मेरा लागि धेरै दुःख गर्नु भएको छ।’

जीवनको दाहिने आँखाबाहिर निस्केर हराएकाले अब त्यो आँखामा दृष्टि आउन सम्भव छैन तर देबे्र आँखामा दृष्टि ल्याउन निरन्तर प्रयास भइरहेको डा. सैंजुले बताए। ‘शल्यक्रिया गरेर नानी फेर्छौं। नानी फेर्नका लागि आँखाको ढकनी पुरै बन्नुपर्छ,’ उनले भने। अस्पतालले जीवनको उपचार निःशुल्क गरेको र बाँकी उपचार पनि निःशुल्क गर्ने डा. सैंजुले बताए।

प्रकाशित: २७ असार २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App