१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मुखर्जीलार्इ प्रमुख दलका नेताले साँझ भेट्दै

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग बिहीबार साँझ विभिन्न दलका शीर्ष नेताले भेट्ने कार्यक्रम छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताले होटल हयातमा पुगेर मुखर्जीसँग भेटवार्ता गर्ने छन् ।

अन्य दलका नेताले छुट्टाछुट्टै र मधेसी मोर्चा नेताहरूले सामूहिक रुपमा मुखर्जीसँग भेटेर कुुराकानी गर्ने छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुखर्जीसँग पार्टी प्रमुखको हैसियतमा भेट गर्नेछन् । दाहालले प्रधानमन्त्रीको हैसियतमा बुधबार नै मुखर्जीसँग भेटवार्ता गरिसकेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले राष्ट्रपति मुखर्जीको सद्भाव भ्रमण भएकाले अध्यक्षले भेटमा राजनीतिक विषयमा पनि कुराकानी गर्ने बताइन् । ‘यो सद्भाव भ्रमण  हो । भेटमा राजनीतिक विषयमा पनि कुराकानी हुनेछ’, प्रवक्ता भुसालले भनिन् ।

त्यस्तै दाहालपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हयात होटलमा पुगेर मुखर्जीसँग भेट्ने छन् । सो भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा. रामशरण महतलगायत रहने तय भएको जानकारी सभापति देउवाका सहयोगी भानु देउवाले दिए । भेट दुईक्षीय हितमा हुने नेताहरूले बताएका छन् ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अन्य वरिष्ठ नेतासहित भारतीय राष्ट्रपति मुखर्जीसँग हयातमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी उनका सञ्चार सहयोगी प्रमोद दाहालले दिए ।

त्यस्तै मोर्चामा आबद्ध सातवटै दलका अध्यक्षले मुखर्जीसँग सामूहिक भेट्ने कार्यक्रम छ । मुखर्जीसँगको भेटमा के–के विषयमा कुराकानी गर्ने भन्नेबारेमा मोर्चाका शीर्ष नेताले बिहीबार बिहान आन्तरिक छलफल  गर्ने छन् ।  सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रपति मुखर्जीसँगको भेटका खास एजेन्डा नभए पनि राजनीतिक विषयमा कुराकानी हुनसक्ने बताए । ‘उहाँ (राष्ट्रपति मुखर्जी) ले जिज्ञासा राख्नुभयो भने संविधान संशोधन तथा अन्य राजनीतिक विषयमा छलफल हुनसक्छ’, महतोले भने, ‘उहाँले राख्ने जिज्ञासामा हामीले जवाफ दिनेछौं ।’

हयात होटलमा राप्रपा नेपालका नेताले भने मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छैन । सो पार्टीका अध्यक्ष कमल थापा मुलुक बाहिर भएकाले अन्यलाई भेट्ने कार्यक्रम तय नगरिएको राप्रपा नेपालका नेताले बताए । मधेसी मोर्चामा आबद्ध नभएका मधेस केन्द्रित दलहरूका अध्यक्षले पनि मुखर्जीसँग भेट्ने कार्यक्रम बनेको छैन ।

प्रकाशित: १८ कार्तिक २०७३ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App