१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रोकिएन नदी उत्खनन

उदयपुर– ‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र बिक्री वितरण गर्न रोक लगाए पनि  उत्खनन र चोरी निकासी रोकिएको छैन। यसरी अवैध नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री वितरण गरेको अभियोगमा यहाँको प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ।

मंगलबार एउटा ट्याक्टरलाई बालुवा निकाल्दै गरेका बेला फेला पारेर पक्राउ गरी जिल्ला समन्वय समितिबाट जरिवाना गराएर छाडेको प्रहरीले बुधबार पुनः अर्को ट्याक्टरलाई त्यसैगरी बालुवा चोरी अभियोगमा रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा धमाधम बालुवा झिकिरहेको स १ त ३१३७ नं. को ट्याक्टर नियन्त्रणमा लिइएको हो।

मंगलबार बिहान झिसमिसेमै त्रियुगा खोलामै बालुवा झिक्दै गरेको भेटेर गस्ती टोलीले स १ त ५८६९ नं. को ट्याक्टर नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले असार लागेदेखि नै उदयपुरका कुनै पनि खोला खहरेबाट ढुंगा गिटी बालुवा निकाल्न र बिक्री वितरण गर्न नपाउने मन्त्रालयको कडा निर्देशन रहेको बताए। तर, स्थानीय खोला खहरेबाट लुकी चोरी बालुवा गिटी निकाल्ने क्रम नरोकिएको जनगुनासो आएसँगै प्रहरीले निगरानी बडाउने क्रममा ट्याक्टरहरू पक्राउ पर्न थालेका हुन्।

मंगलबार पक्राउ परेको ट्याक्टर जिल्ला समन्वय समितिको जिम्मा लगाइएकोमा समन्वय समितिले पहिलो पटकलाई भनेर ५ हजार रुपैयाँ जरिवाना गरी छाडेको थियो। बुधबार फेरि अर्को ट्याक्टर पक्राउ परेको र त्यसलाई पनि समन्वय समितिकै जिम्मा दिइएको एसपी मगरले बताए। उनका अनुसार नदीजन्य पदार्थको उत्खननमा रोक लगाउने या पक्राउ सवारी साधनमाथि कारबाही गर्ने अधिकार समन्वय समितिलाई भएकाले उसको जिम्मा लगाइएको हो।

प्रकाशित: २६ असार २०७६ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App