१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाका लागि बेलायतका राजदूतद्वारा राजीनामा

क्याप्सन : सर किम डारक।

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै सर किमले लेखेको इमेल चुहिएपछि ट्रम्पले बेलायतका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको संज्ञा दिएका थिए। बेलायतको विदेश मन्त्रालयले बुधबार सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ।

सर किमप्रति उनी किन समर्थक देखिएनन् भन्ने प्रश्नमा उनले भने, ‘कर्मचारीलाई राजनीतिक क्षेत्रमा तान्नु गलत हुन्छ।’

सर किमले आफूले सबैखाले अड्कालबाजी रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा आफ्नो काम गर्न ‘असम्भव’ भएको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजदूत सर किम डारकसँग आफूले काम गर्न नसक्ने बताए पनि १० डाउनिङ स्ट्रिटस्थित बेलायतकी प्रधानमन्त्री थेरेसा मेको कार्यालयले आफ्ना राजदूतप्रति आफ्नो समर्थन रहेको बताएको थियो। राष्ट्रपति ट्रम्पले सोमबार अमेरिकाले सर किमसँग कुनै पनि व्यवहार नगर्ने बताएका थिए।

राजदूत सर किमको इमेल बाहिरिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई मूर्ख व्यक्तिको संज्ञा दिएका थिए।

राजदूत सर किम डारकले आफूले राजदूताका रूपमा अब निरन्तरता दिन असम्भव रहेको भन्दै राजीनामा दिएको समाचार बाहिरिएपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले उनको बर्हिगमन ‘गहिरो पछुतोको विषय भएको’ बताएकी छन्।
यसैबीच बेलायतका एकजना मन्त्री बोरिस जनसनले भने राजदूत सर किम डारकलाई समर्थन गरेका छैनन्। राजदूत सर किमको इमेल बाहिरिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई मूर्ख व्यक्तिको संज्ञा दिएका थिए। आइतबार चुहावट भएको आफ्नो इमेलमा सर किमले ट्रम्प प्रशासन ‘निष्प्रभावी र अक्षम’ रहेको बताएका थिए।

‘वर्तमान अवस्थाले मलाई अहिलेको पदमा बसेर काम गर्न असहज बनाइरहेको छ,’ सर किमले देशको विदेश मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ। ‘मेरो पदावली यो वर्षको अन्त्यसम्म भए पनि वर्तमान अवस्थामा सरकारले नयाँ राजदूत नियुक्त गर्नु नै उपयुक्त हुन्छ,’ उनको पत्रमा भनिएको छ।

चुहावट भएको इमेललाई ‘हिंस्रक’ भएको भन्दै परिभाषित गरेका बेलायतका कूटनीतिक सेवाका प्रमुख तथा स्थायी उपसचिव सर साइमन म्याकडोनाल्डले राजीनामा दिएका अमेरिकाका लागि बेलायती राजदूत सर किमलाई ‘तपाईं हामीमध्येकै सबैभन्दा उत्कृष्ट हो’ भनेका थिए।

उनले संसद्को विदेश मामिला समितिमा कुनै पनि राज्य प्रमुखले बेलायती राजदूतसँग काम गर्दिन भनेर भनेको आफ्नो करियरकै पहिलो पटक भएको जिकिर पनि गरेका छन्। बेलायती प्रधानमन्त्री मेले सर किमप्रति मन्त्रिपरिषद्को पूर्ण समर्थन रहेको र उनले आफ्नो जीवन नै बेलायतको सेवामा दिएको बताएकी थिइन्। उनले सर किमले बेलायतका लागि गरेको सेवाका लागि उनलाई असंख्य धन्यवाद दिनुपर्ने समेत बताएकी छन्।

‘राम्रो सरकार निजामति कर्मचारीको पूर्ण र खुला सुझावमा निर्भर रहेको हुन्छ,’ प्रधानमन्त्री मेले बताइन्। विशेषगरी कुनै पनि कर्मचारी दबाबमा रहेको बेला देशको मूल्य र सिद्धान्तलाई प्रतिरक्षा गर्नुको महŒवबारे पनि प्रधानमन्त्री मेले बोलेकी छन्। सर किमको राजीनामालाई लिएर देशभरबाट उनको समर्थनमा आवाज उठिरहेको छ भने केहीले बोरिस जनसनको आलोचना गरिरहेका छन्।

थेरेसा मेको उत्तराधिकारी बन्ने दौडमा लागेका टोरी नेता जनसनले भने मंगलबार भएको छलफलमा उनी प्रधानमन्त्री भए भने सर किमलाई नै पदमा राखिरहन्छन् भन्ने विषयमा केही बोलेनन्। यद्यपि सर किमले राजीनामा दिएपछि भने उनले मुख खोलेका छन्। उनले सर किम ‘एकदमै सक्षम कूटनीतिज्ञ भएको’ बताउँदै जसले पनि इमेल चुहाएको छ, त्यसले देशको कर्मचारीको मनोबल गिराउने काम गरेको छ भनेका छन्।

प्रकाशित: २६ असार २०७६ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App