१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘केका निम्ति मर्ने, मार्ने’

खोटाङ – लामो खडेरीपछि पानी परेको मौका पारेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुुङका शेरबहादुर राई बुधबार बिहान धानको बीउ राख्न खेतमा पुगेका थिए। पत्नी श्यामकुमारी घरधन्दामा थिइन्। सधैझैं घरभित्रबाहिरको नियमित काममा व्यस्त रहेको अवस्थामा आएको दुःखद खबरबाट अहिले राई दम्पती मर्माहत छन्। नेपाल प्रहरीमा कार्यरत जेठो छोरो सञ्जीव राई भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासँगको मुठभेडमा मारिएको खबरले राई दम्पतीलाई मर्माहत बनाएको हो। घटना बुधबार बिहान भोजपुरमा भएको थियो।

इनरुवामा रहेकी सञ्जीवकी पत्नीले घटनाबारे घरमा जानकारी गराएको आफन्त पुष्प राईले बताए। एकाएक छोराको मृत्युको खबर आएपछि परिवार मात्र नभएर सिंगो गाउँ शोकमा छ। घरमा बुबाआमालाई सहानुभूति दिन आफन्त तथा शुभेच्छुकको आवतजावत भइरहेको छ। इमानदार, सहयोगी र मिजासिलो स्वभावका सञ्जीवको मृत्युको खबरले उनका सहकर्मी, स्वदेश तथा विदेशमा रहेका दौंतरी र शुभेच्छुकले सामाजिक सञ्जालबाट दुःख व्यक्त गरिरहेका छन्।

२०४५ पुस ९ गते जन्मिएका सञ्जीव शान्ति प्रक्रियाकै क्रममा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनी भोजपुरमा महिनाको उत्कृष्ट प्रहरीबाट समेत पुरस्कृत भएका थिए। परिवारका जेठो सन्तान उनका पत्नी र दुई नाबालक छोरा छन्। तराई सरुवा भए पनि उनलाई काजमा निकै समय भोजपुरमै राखिएको आफन्तको भनाइ छ। सरुवा भएपछि उनले परिवारलाई भने इनरुवा झारिसकेका थिए। उनका भाइ खडेन्द्र पनि नेपाली सेनामा कार्यरत छन्। शव शुक्रबार गाउँमा ल्याएर अन्त्येष्टि गरिने आफन्तको भनाइ छ।

यो घटनाले दस वर्षे माओवादी द्वन्द्वको याद दिलाएको छ। त्यसबेला दैनिक मरेको, मारिएको वा घाइते भएको सुनिन्थ्यो। हरपल सर्वसाधारण त्रसित देखिन्थे। बुधबार भोजपुरमा भएको घटनाले मैतुङबासीलाई त्यही द्वन्द्वकालको याद दिलाइरहेको छ। घटनामा दुईजना मारिएका छन्। एक प्रहरी हुन् भने अर्का विप्लव समूहका जिल्ल नेता। ‘हामीलाई यो घटनाले फेरि त्यो द्वन्द्वकालको सम्झना गराएको छ। गाउँमा त्रास फैलिएको छ,’ हलेसी तुवाचुङ नगरपालिका–१ का वडाध्यक्ष रुद्र राईले भने, ‘यो आफू–आफूबीचमा सुरु भएको झगडा तत्काल अन्त्य हुनुपर्छ। यसले हामीलाई नै पछि पार्छ।’ करिब १७ हजारजनाले ज्यान गुमाएको माओवादी दस वर्षे द्वन्द्वको घाउ अझै पुरिएकै छैन। अहिले आएर फेरि विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच हुन थालेका मुठभेडका घटनाले डेढ दशकअघिकै अवस्थामा समाजलाई पु¥याउने बाहुनीडाँडाका यानकुमार राईले बताए। ‘जो मरे पनि नेपाली मर्ने हुन्। केका लागि मर्ने ? केका लागि मार्ने ?’ उनले भने, ‘यो राजनीतिक मुद्दा हो, राज्यतर्फबाट हल गरिनुपर्छ। अनि मात्र समृद्धिको नारा पूरा हुन्छ।’

प्रकाशित: २६ असार २०७६ ०४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App