१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तातोपानीबाट ४ वर्षपछि आयात

तातोपानी सुक्खा बन्दरगाह भन्सार। नवनिर्मित बन्दरगाहबाट भन्सार कारोबार हुन थालेको हो। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – एक महिनाअघि पुनः सञ्चालनमा ल्याएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन सुरु गरेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोबार बिस्तारै बढ्दै गएको छ।

२०७२ वैशाख १२ को बिनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झन्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोबार हुन सकेको थिएन।

‘चीनबाट सामग्री भित्रन थालेका छन्,’ भन्सार अधिकृत केशवराज ओलीले भने। भन्सारले कारोबार सुरु गरेयता विस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेनर सामान भन्सार जाँचपास भई राजधानी गइसकेको छ। सुक्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेनर सामान जाँचपासको पर्खाइमा छ। मंगलबार मात्र दुई कन्टेनर सामान चीनबाट तातोपानी भित्रिएका छन्।

दैनिक औसत एक–दुई कन्टेनर सामान भित्रन थालेको भन्सार अधिकृत ओलीले बताए। ‘तातोपानी नाका व्यापारिक कारोबारसहित सञ्चालनमा आएको सन्देश गइरहेको छ,’ उनले भने, ‘क्रमिक रुपमा व्यापार बढ्दै जाने विश्वास लिएका छौं।’ चालु अवस्थामा रहँदा पनि असार–साउन तातोपानी भन्सारको ‘अफसिजन’ मानिन्छ। साउन–भदौमा व्यापारीले दसैं, तिहार जस्ता चाडपर्वलक्षित सामान अर्डर गर्छन्। त्यतिबेला नाकाको कारोबार झण्डै–झण्डै पूर्ववत् अवस्थामा फर्कन सक्ने भन्सार अधिकारी र व्यापारी औंल्याउँछन्।

तातोपानी भन्सारले लार्चामा बनेको अत्याधुनिक सुक्खा बन्दरगाहबाट कारोबार थालेको हो। चीन सरकारकै सहयोगमा गत वैशाखमा बन्दरगाह निर्माण सम्पन्न भएको थियो। दुई अधिकृतसहित १४ कर्मचारीले काम गरिरहेका छन्। प्रशासनिक, प्राविधिक र जनशक्तिबाट ठूलै परिमाणमा कारोबार गर्न अब कुनै रोकावट नरहेको भन्सार अधिकृत ओली बताउँछन्।

भन्सारले कारोबार थालेयता चीनबाट नाका भएर ऊन, पावर ट्रेलर (जोत्ने हाते ट्याक्टर), स्पिकर, जुत्ता, चप्पल लगायत सामग्री भित्रिएका छन्। ऊन आयात बढी छ। सिजन नभएकाले तयारी पोसाक भने भित्रिएको छैन। तातोपानी नाका चिनियाँ तयारी पोसाकका लागि लोकप्रिय मानिन्छ। शिल्क ग्रुप नामक चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले नेपाली व्यापारीका सामान खासासम्म ल्याउने गरेको छ।

भूकम्पअघिका पुराना ट्रान्सपोर्टेसन कम्पनी फर्किसकेका छैनन्। उनीहरुलाई फर्काउन नोपाली व्यापारीले पहल गरिरहेका छन्। नेपाली कन्टेनर सामान लिन खासा पुग्ने गरेका छन्। भूकम्पपछि खासामा गोदामको व्यवस्था छैन। कन्टेनर–कन्टेनर जोडेर सामान लोड हुने गरेको छ। भन्सार अधिकृत ओलीका अनुसार बन्दरगाहको अवधारणा नै चिनियाँ कन्टेनर सामान बाकेर तातोपानी भन्सार यार्डसम्मै आउने भन्ने हो। खासातर्फको सडकको केही घुम्ती साँघुरा रहेकाले चिनियाँ कन्टेनर बन्दरगाहसम्म आउन नसकेको उनी बताउँछन्।

बन्दरगाह भन्सारमा वेबबेस्ड, आसिकुडा लगायत प्रणाली जडान भइसकेको छ। राजस्व कारोबार गर्न बन्दरगाहमा बैंक तथा वित्तीय संस्था फर्कन बाँकी छ। व्यापारीले हाल बाह्रबिसेस्थित नेपाल बंगालादेश बैंकबाट राजस्व कारोबार गर्दै आएका छन्। भन्सारले यही बैंकमार्फत सुरुदेखि नै राजस्व कारोबार गर्दै आएको छ। प्रमुख भन्सार कृष्ण बस्नेत अधिकृत बैंक फर्काउन प्रयास भइरहेको बताउँछन्। ‘भन्सार विभागबाट अर्थ मन्त्रालयको सहमति लिने काम भइरहेको छ,’ उनले भने।

नाका सञ्चालनमा आउनुपूर्व भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुल, नेपालतर्फको सडक मर्मत चीन आफैंले गरेको थियो। नेपालको लामो कूटनीतिक प्रयासपछि चीन गत वर्ष असोजमा बन्द तातोपानी नाका खुलाउन सैद्धान्तिक सहमतिमा पुगेको थियो। हाललाई मालबाहक सामान ओहोर–दोहोर गर्ने प्रयोजनका लागि नाका पुनः सञ्चालनमा ल्याउने सहमति नेपाल–चीनबीच भएको हो। मान्छे आउजाउ भने अझै बन्द छ। बन्द हुनुअघि नाकाबाट वार्षिक २० अर्बको आयात÷निर्यात कारोबार हुँदा भन्सारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गथ्र्यो।

प्रकाशित: २६ असार २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App