१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा बन्ने अत्याधुनिक कारागार निर्माण अन्योलमा

बाँके – विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरबाही बाहिर आएको छ। पप्पु कन्स्ट्रक्सनकै लापरबाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३, नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ। निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ।

तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दा समेत चार प्रतिशतमात्र निर्माण कार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ। निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको हो।

हालसम्म चार प्रतिशत मात्रै काम भएपछि मोबिलाइजेसनबापतको सात करोड ६ लाख फिर्ता लिइएको आयोजना एकाइ कार्यालय नेपालगञ्ज प्रमुख सुवास बस्नेतले जानकारी दिए। निर्माण कम्पनीको तीनवर्षे ठेक्का सम्झौताको अवधि कात्तिक ४ गते सकिँदैछ।

तीन हजार जना अट्ने क्षमताको निर्माणाधीन कारागारको ५३ करोड कूल बजेट रहेकामा पप्पु–रसुवा कन्स्ट्रक्सनले २०७३ कात्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार दुई सय ८१ मा ठेक्का सकार गरेको थियो। कारागारको २५ भवन संरचना बनाइने लक्ष्य रहे पनि अहिले पाँच संरचनामा अत्यन्तै सुस्त गतिमा काम भइरहेकाले पेश्की रकम फिर्ता लिनुपरेको कार्यालय प्रमुख बस्नेतले जानकारी बताए।

पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको छ। मानववस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि क्षेत्रीय कारागार निर्माण सुरु गरिएको थियो।

अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको नौवस्तामा क्षेत्रीय कारागार र गनापुरमा खुला कारागार निर्माणको काम सुरु गरिएको थियो। दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानवबस्तीको बीचमा रहेको जिल्ला कारागारलाई विस्थापित गरिने योजना रहेको थियो। रासस

प्रकाशित: २५ असार २०७६ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App