१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपति भ्रमणले सर्वसाधारणलाई सास्ती

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले सर्वसाधारणको तीनदिने सास्ती सुरु भएको छ । भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा बुधबार राजधानी आइपुगेपछि सर्वसाधारणले सास्ती पाएका हुन् ।
अत्यावश्यक सेवा एम्बुलेन्स समेत सवारीका बेला गुड्न दिइएन । त्यसैगरी ट्राफिक प्रहरीले फुटपाथमा पैदलयात्रुलाई नरोकेको बताए पनि प्रतिक्षालयमा गाडी कुरेर बसिरहेका, फुटपाथमा हिँडिरहेका सर्वसाधारणलाई गस्तीमा हिँडेका सुरक्षाकर्मीको टोलीले हटाएको थियो ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय राष्ट्रपति मुखर्जीको सवारी हुनुभन्दा एक घन्टाअघि गौशाला–एअरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सुन्धारा–जमल–केशरमहल–लैनचौर–लाजिम्पाट–नारायणगोपाल चोक–पुरानो बानेश्वर–शंखमूल–पुतलीसडक सडक खाली गराइएको थियो । सडकमा सुरक्षाकर्मी बाहेक अरु कोही थिएनन् ।

त्यसैगरी गौशाला–एयरपोर्ट–तीनकुने–नयाँ बानेश्वर–माइतीघर–सिहंदरबार–मित्रपार्क–चाबहिल–बौद्ध–थापाथली–कुपण्डोल–त्रिपुरेश्वर–टेकु–भोटेबहाल–कालिमाटी–सोल्टीमोड–कंलकी–बल्खु–कोटेश्वर–पुरानो बानेश्वर–शंखमूल समेत भारतीय राष्ट्रपति सवारीका लागि सडक खाली गराइएको थियो ।

सर्वसाधारणले एक जना व्यक्तिको सवारीको नाममा यसरी सडक खाली गराएर सबैलाई सास्ती दिन नहुने गुनासो गरेका छन् । ‘पैदल समेत हिँड्नै नदिनु, अत्यावश्यक सवारीसाधन चल्नै नदिनु त अति भयो,’ डिल्लीबजार ओरालोमा भेटिएका टिकाराम कार्कीले आक्रोश पोख्दै भने, ‘गत वर्ष यही बेला लामो नाकाबन्दी लगाएर सास्ती दिएको देशका राष्ट्रपति आउँदा फेरि सडकमा चरोमुसो समेत हिँड्न नदिएर सर्वसाधारणलाई सास्ती दिन मिल्छ ?’ वागबजार हिँडेका कार्की डिल्लीबजारमै सुरक्षाकर्मीले अगाडि नबढ्न भनेपछि उनले आक्रोश पोखेका हुन् । यसरी आक्रोश पोख्ने कार्की एक्लो होइनन् । राष्ट्रपति मुखर्जीको भ्रमणका कारण सर्वसाधारणले झेल्नुपरेको सास्तीबारे सामाजिक सञ्जालमा  समेत सर्वत्र आक्रोश पोखिएको छ ।

मेनुका बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा ट्राफिक प्रहरीले रोक्दै गरेको एम्बुलेन्सको तस्बिर पोस्ट गर्दै सरकारले सर्वसाधारणको बाँच्ने अधिकारको समेत रक्षा नगरेको भन्दै आक्रोश पोखेकी छन् । सरकारले राष्ट्रपति मुखर्जी आउने दिन सार्वजनिक बिदा दिने घोषणाले समेत आक्रोशित सर्वसाधारणले यसपटक सरकारले अतिचार गरेको भन्दै खुलेर आक्रोश तथा विरोध जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने अति विशिष्ट व्यक्तिको सवारी हुँदा सडक खाली गराउनुपर्ने भएकाले खाली गराएको बताएको छ । महाशाखाले सवारी हुने स्थानमा सवारीसाधनको चाप कम होस् भनेर वैकल्पिक सडक अपनाउन अनुरोध गरेको बताएको छ । सवारीका बेला रोकिने सवारीसाधन सडक खुल्नासाथ एकैपल्ट गुड्दा घन्टौं जाम हुने भन्दै वैकल्पिक सडक अपनाउन अनुरोध गरेको महाशाखाले जनायो ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App