१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई इस्टर्न रिजन क्रिकेट उपाधि

काठमाडौं – हङकङमाथि ६ विकेटको जित निकालेको नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। उपाधिका साथ नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ। अब नेपालले अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कप खेल्नेछ। यसअघि भएको २०१७ को संस्करण पनि नेपालले फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै जितेको थियो।

किनरारा ओभल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर नेपालसामु ९६ रनको सामान्य लक्ष्य दिएको थियो। ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो। लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ र रित गौतमले ५२ रनको साझेदारी गरेका थिए। रित १३ रन बटुल्दै गर्दा मोहम्मद हसन खानको बलमा बोल्ड हुँदै पवेलियन फर्किए। पवन ३९ रन बटुल्दै गर्दा मोहम्मद हसनको बलमा एलबिडब्लुको धरापमा परे। पवन ३९ रनमा पवेलियन फर्किंदा नेपालले आफ्नो खातामा ७६ रन जोडेको थियो। खडकबहादुर बोहोरा पनि ८ रन जोड्दै आउट हुँदा नेपालले जित निकाल्न ३ रन बाँकी भए पनि टोलीले कप्तान रोहित पौडेललाई गुमायो। १२ रन जोडेका रोहितपछि भीम सार्कीले विजयी रन जोड्दा नेपालको एसिया कपको ढोका खुलेको हो। भीम ८ रनमा नटआउट रहे।
यसअघि पहिला ब्याटिङ गरेको हङकङका लागि कप्तान अदित ग्रोबरले सर्वाधिक २४, कल्हन चल्लुले १९ तथा रौन कपुरले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकाल एक्लैले ५ विकेट लिए। ५ मेडनसहित  सागरले १० ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए। यस्तै बलर कमलसिंह ऐरीले ३ विकेट हात पार्दा कुशल मल्ल र तिलक राजभण्डारीले समान एक÷एक विकेट लिए। प्रतियोगितामा यसअघि सागरले चीनसँग ६ विकेट, सिंगापुरसँग १ विकेट तथा मलेसियासँग ३ विकेट लिएका थिए। आज लिएको ५ विकेटसहित कुल १५ विकेट लिंदै सागर प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन्।
यसअघि समूहचरणका खेलमा नेपालले चीनलाई १० विकेटले र सिंगापुरलाई २ सय १७ रनले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा उत्रिएको थियो।

यु–१९ एसिया कपमा नेपालसहित ८ टोली सहभागिता जनाउनेछन्। २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म आयोजना हुने प्रतियोगितामा एसियाली टेस्ट राष्ट्र श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तानसहित युएई, कुवेत र नेपालले सहभागिता जनाउनेछन्। ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो।

प्रकाशित: २५ असार २०७६ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App