२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विषादी परीक्षण नभएका तरकारी बजारमा

विराटनगर - प्रदेश १ सरकारले विराटनगरमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा ल्याए पनि भारत तथा तेस्रो देशबाट आयात हुने तरकारी र फलफूल विषादी परीक्षणबिनै भित्रिएका छन्। संघीय सरकारले आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएका कारण यस्तो अवस्था आएको हो।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले संघीय सरकारको निर्णयअनुसार तरकारी तथा फलफूल आयातमा विषादी परीक्षण रिपोर्ट अनिवार्य नभएका कारण पुरानै तरिकाले भित्रिरहेको जानकारी दिए। संघीय सरकारको परिपत्रअनुसार विराटनगर भन्सार कार्यालयले करिब एक साता भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण प्रमाणपत्र अनिवार्य गरेको थियो।

संघीय सरकारले नाकामै विषादी परीक्षण गरेर मात्रै तरकारी तथा फलफूल आयात गर्नुपर्ने निर्णय फिर्ता लिएपछि क्वारेन्टाइन कार्यालयको सिफारिस आधारमा भन्सार कार्यालयले आयातित तरकारी तथा फलफूल जा“चपास गरिरहेको पौडेलले बताए। उनले भने, ‘विषादी अवशेष जाँच रिपोर्ट अनिवार्य नभएकाले क्वारेन्टाइनको सिफारिस आधारमा तरकारी तथा फलफूल आयात भइरहेको छ।’

प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्यायो विषादी अवशेष विश्लेषण प्रयोगशाला

प्रदेश सरकारले नाकामै विषादी अवशेष परीक्षण गर्न नसके पनि भित्रिएपछि जाँच गर्न सक्ने पौडेलले बताए। उनले भने, ‘बाह्य मुलुकबाट तरकारी, फलफूल तथा खाद्यवस्तु नेपाल भित्रिएपछि पनि प्रदेश सरकारले विषादी परीक्षण गर्न सक्छ।’

संघीय सरकारले विषादी परीक्षण नगरी तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाउ“दा विराटनगरमा विषादी परीक्षण प्रयोगशाला थिएन। जसका कारण आयातकर्ताले झापाको बिर्तामोडसम्म पुगेर विषादी परीक्षण गराउनुपरेको थियो। प्रयोगशालाको आवश्यकता महसुस गरी प्रदेश १ सरकारले सोमबारदेखि विराटनगरस्थित बाली संरक्षण प्रयोगशालामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारले सञ्चालनमा ल्याएको प्रयोगशालामा आन्तरिक उत्पादन र बजारमा उपलब्ध तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण गरिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए। उनले भने, ‘आयात–निर्यात प्रदेश सरकारको क्षेत्राधिकारभित्र नरहेका कारण सीमानाकामा तरकारी तथा फलफूलमा विषादी परीक्षण अनिवार्य गर्न सकिँदैन।’

बिष्टले आयातित तरकारी तथा फलफूल सीमानाकामै परीक्षण गरेर भित्र्याउन नसके पनि बजारमा बिक्रीका लागि राखिएका त्यस्ता सामानको नमुना परीक्षण गर्न सकिने जानकारी दिए। उनले प्रयोगशालामा बजारबाट नमुना ल्याएर विषादी परीक्षण नियमित गरिने स्पष्ट पारे। भन्सार र क्वारेन्टाइन कार्यालयले विषादी परीक्षणका लागि नमुना पठाएमा भने परीक्षण गर्ने बिष्टले बताए। प्रदेश सरकारले २५ लाख रुपैया“ लागतमा सञ्चालनमा ल्याएको विषादी अवशेष परीक्षण प्रयोगशालामा दैनिक ६० वटासम्म नमुना जाँच गर्न सकिने बिष्टले बताए। उनका अनुसार प्रयोगशालामा हाल एक उपसचिवसहित ६ जना कर्मचारी व्यवस्था गरिएको छ। नमुना आउनेक्रम बढेको अवस्थामा २४ घण्टा विषादी परीक्षण गर्न सकिने र जनशक्ति पनि थप्न सकिने बिष्टले बताए।

प्रयोगशालामा हाल तरकारी तथा फलफूलको दुइटा समूहको विषादी परीक्षण गरिन्छ। तरकारीमा पाँच प्रकारका विषादी समूह हुने भए पनि दुइटाको मात्रा परीक्षण गरेर उपभोग गर्न योग्य भएनभएको भन्न सकिने प्राविधिकहरू बताउ“छन्। प्राविधिकहरूका अनुसार तरकारी र फलफूलको नमुनमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा पाइए उपभोग गर्ने सकिन्छ। तर ३५ देखि ४५ प्रतिशत विषादीको मात्रा पाइए ५ दिन प्लान्ट क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्छ।’ क्वारेन्टाइनमा पाँच दिन राखेर फेरि परीक्षण गरेपछि पनि विषादी मात्रा ज्यादा देखिए त्यस्ता तरकारी तथा फलफूल नष्ट गर्नुपर्ने हुन्छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार प्रदेश १ मा वार्षिक दुई अर्ब बढीको हरियो तरकारी र एक अर्ब रुपैया“ हाराहारीको फलफूल आयात हुने गरेको छ।

प्रकाशित: २५ असार २०७६ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App