१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विषादी जाँच प्रयोगशाला ‘देखाउने दाँत’ मात्र

काठमाडौं - सरकारले तरकारी र फलफूलमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार बर्षभन्दा बढी भयो। तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन्। विषादी मात्रा परीक्षण गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ। जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएको तरकारी र फलफू आउने गरेका छन्। नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन। झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँतमात्र भएका छन्।

बिर्तामोडमा जनशक्ति अभाव
झापाको बिर्तामोडस्थित कृषि बजारमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला छ। चार वर्षअघि स्थापना भएको यो प्रयोगशालामा किसान र व्यापारीले तरकारी र फलफूलमा विषादीको मात्रा कति छ भने र जाँच गराउदैनन्। कार्यालयका कर्मचारीलाई शंका लाग्यो भने बजारमा गएर नमुना ल्याएर विषादीको मात्रा जाँच गरिन्छ।

प्रयोगशालाकी प्राविधिक अन्जु आचार्यका अनुसार कर्मचारीले आफैंले गएर जाँच्ने हो। ‘किसान र व्यापारीले ल्याएको जाँच गर्दैनौं। त्यसैले सम्भव भएसम्म बजारमा जान्छौं। तर सबै ठाउँमा नमुना संकलन गर्न सकिएको छैन।’

पूर्वी नाका काँकडभिट्टाभन्दा झन्डै २० किलोमिटर पश्चिम बिर्तामोडमा विषादी मापन केन्द्र भए पनि यसले प्रभावकारी काम गर्न नसकेको उपभोक्ता बताउँछन्। नमुना जाँच नभएका आयातित तरकारी र फलफूल पूर्वका विभिन्न बजारमा निर्वाध बिक्री वितरण हुने गरेका छन्।

जनशक्ति र उपकरणको व्यवस्था गरी विषादी जाँच अनिवार्य गर्नुपर्ने उपभोक्तको माग

एउटै कोठामा प्रयोशाला र कार्यालय छ। साँघुरो कोठामा भए पनि विषादी मापन गर्ने मेसिन छ। कार्यालयलाई जाँच्ने अधिकार पनि छ। तर काम गर्ने कर्मचारी २ जना मात्र छन्। एक संघीय सरकारकी प्राविधिक आचार्य र अर्का स्थानीय सरकारले खटाएका प्राविधिक छन्। पर्याप्त जनशक्ति नभएकाले काम गर्न मुस्किल परेको आचार्यले बताइन्। किसानले निर्यात गर्ने र व्यापारीले आयात गर्ने फलफूल र तरकारीमा अनिवार्य विषादी परीक्षण गर्ने नियम भए काम गर्न सहज हुने उनले बताइन्।

भुइकटहर र केरा खाना अयोग्य

जाँचबाट तरकारी र फलफूलमा विषादीको मात्रा धेरै पाइए पनि नष्ट गर्ने अधिकार कर्मचारीलाई छैन। रिपोर्टको आधारमा बजार विकास समितिलाई सिफारिस गर्ने हो। समितिले कहिलेकाहीं मात्र नष्ट गर्ने उनले बताइन्।

दुईजनाको भरमा नवलपुर प्रयोगशाला

सर्लाही नवलपुरको उष्णप्रदेशीय बागवानी केन्द्र परिसरमा २०७४ सालमा स्थापना भएको प्रयोगशालामा दरबन्दीअनुसार कर्मचारी छैनन्। उष्णप्रदेशीय बागवानी केन्द्रका बाली विकास अधिकृत भाग्यनारायण झाले वैशाखमा अवकाश पाएपछि अहिले गोकर्ण पौडेल प्रमुखको रुपमा छन्। उनी काजमा आएका हुन्। झाले अवकाश पाएपछि सरोज यादवलाई कार्यालय सहयोगीका रुपमा करारमा भर्ना गरिएको र दुईजनाले कार्यालय धानेको पौडेलले बताए।

उनले भने, ‘भारतबाट आउने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण गरिरहेका छौं तर कर्मचारी अभावले समस्या छ। दुईजना कर्मचारी बिहान ७ देखि राति ९ बजेसम्म खटिनु पर्ने अवस्था छ। यसरी जाँच गरेको तरकारी र फलफूलमा विषादीको मात्रा धेरै पाइए पनि रोक्ने र नष्ट गर्ने कार्य गर्न सकिएको छैन।’

असार ७ देखि २२ गतेसम्म भारतबाट आयात भएको तरकारी तथा फलफूलका ८्र५० वटा नमुना परीक्षण गरियो। दुई सातासम्म परीक्षण गरिएको भारतीय तरकारी एवं फलफूलमा भने कार्बामेट र अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम देखिएको कार्यालयले जनाएको छ। कार्बामेट र अर्गानोफस्फेटको मात्रा बढी भए मानव शरीरमा इन्जायम प्रक्रिया अवरुद्ध हुने जानकारी पौडेलले दिए।

भारतबाट आयात हुने आलु, प्याजलगायत तरकारी तथा अनार, मेवाजस्ता फलफूलमा विषादी परीक्षण गरिएको पौडेलल बताए। पौडेलका अनुसार प्रयोगशालामा तरकारी तथा फलफूलमा विषादिको विभिन्न तत्वमध्ये कार्बामेट र अर्गानोफस्फेटको मात्रा मात्र परीक्षण हुन्छ।

कर्मचारी नहुँदा विषादी जाँच ठप्प

२०७४ साल भदौदेखि सञ्चालनमा आएको बुटवलस्थित विषादी जाँच प्रयोगशालाले दुई महिनादेखि काम गर्न सकेको छैन। काठमाडौं कालिमाटीपछिको दोस्रो ठूलो भनिएको बुटवल कृषि उपज थोक बजारभित्र सञ्चालित विषादी अवशेष दु्रत विश्लेषण एकाइ कर्मचारी अभावमा दुई महिनादेखि ठप्प जस्तै छ। यो प्रयोगशालामा थोक बजारभित्र आएका तरकारी र फलफूलको बिषादी परीक्षण गरिन्थ्यो।

प्रयोगशालाका बाली संरक्षण अधिकृत रामबहादुर खत्री कर्मचारी समायोजनमा प्रदेशको कृषि निर्देशानालयमा सरुवा भएलगत्तै परीक्षण कार्य बन्द भएको हो। वैशाखदेखि कार्यालय सहायकको भरमा चलेको छ। भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि काठमाडौं जानुपर्दा ठूलो मर्का भोग्नुपरेको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवरले बताए। उनले पटकपटक प्रदेश मन्त्रालय,

निर्देशानालय र संघीय मन्त्रालयका अधिकारीसँग गुनासो राख्दा पनि विषादी प्रयोगशाला सञ्चालन हुन नसकेको बताए।
बुटवलसहित आसपासका तरकारी र फलफूलको विषादी परीक्षण गरेर बजारमा लैजान अनुमति दिने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो।

रुपन्देहीको बेलहिया नाका हुँदै ठूलो मात्रामा फलफूल तथा तरकारी नेपाल भित्रिन्छ। बुटवलस्थित थोक बजार केन्द्रमा दैनिक डेढ करोड रुपैयाँसम्म तरकारी र फलफूल भित्रिन्छ। त्यसैले पनि बुटवलको विषादी प्रयोगशाला सञ्चालनमा आउनुपर्ने माग जोडतोडका साथ उठेको छ। अहिले सरकारले अनिवार्य परीक्षण गर्नुपर्ने निर्णय फिर्ता लिएपछि भने बेलहिया नाकाबाट सहज रुपमा तरकारी र फलफूल आयात भइरहेको व्यवयसायीले बताएका छन्।

प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विषादी प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बुटवल र नेपालगन्जका विषादी प्रयोगशाला प्रदेशस्तरबाट सञ्चालन गर्न प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ। तर कहिलेदेखि विषादी परीक्षण गर्ने भन्ने टुंगो लागेको छैन।

सुनसान प्रयोगशाला
नेपालगन्जस्थित रानी तलाउ तरकारी मण्डीमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण एकाइ अहिले बन्द अवस्थामा छ। एकइ बन्द भएसँगै विषादी परीक्षण गर्ने ‘इस्पेक्टोफोटो मिटर’ मेसिन पनि प्रयोगविहीन भएको छ। सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गरेपछि आफू

फुर्सदिलो भएको अधिकृत सकिल अहमदले बताए। ‘फलफूल र तरकारीको विषादी अनिवार्य परीक्षण गराउने निर्णय भएपछि कामको धेरै चाप थियो तर अहिले परीक्षणको काम नभएपछि फुर्सद छ,’ उनले भने। विषादी परीक्षण गर्ने मेसिन उपलब्ध भए पनि पर्याप्त जनशक्ति भने नभएको उनले बताए। विषादी परीक्षणको काम संवेदनशील भए पनि सरकारले खासै महŒव नदिएको कर्मचारीको गुनासो छ। ‘सरकारले इच्छाशक्ति मात्रै देखाउनुप-यो। भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्न समस्या छैन,’ एक कर्मचारीले भने, ‘सरकार र मन्त्रीले दोषजति कर्मचारीमाथि थोपरेर आफू उम्किन खोज्नु हुँदैन।’

जनशक्ति र उपकरण दुवै छैन
सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमानाकाबाट तरकारी, फलफूललगायत खाद्य पदार्थ विषादी जाँचबिनै भित्रिन्छन्। महेन्द्रनगरको गड्डाचौकी नाकामा रहेको क्वारेन्टाइन कार्यालय र धनगढीको त्रिनगरमा रहेको गड्डाचौकी क्वारेन्टाइन कार्यालयकै शाखा कार्यालयमा तरकारी, फलफूललगायत खाद्य पदार्थमा बिषादी जाँच्ने उपकरण र जनशक्ति दुवै छैन। क्वारेन्टाइन कार्यालय गड्डाचौकीका प्रमुख गजाधर जोशीले तरकारी, फलफूललगायत आयत हुने वस्तुमा कुनै रोग सार्ने कीरा छन् कि भनेर मात्र जाँच हुने गरेको बताए। ‘हाम्रो अधिकार क्षेत्र तरकारी, फलफूल, वोटबिरुवा जाँच गरेर कुनै बालीलाई नोक्सान पुर्याउने कीरा र रोग नभित्रन दिन जाँच गर्ने हो’, उनी भन्छन्, ‘तरकारी, फलफूललगायत खाद्य पदार्थको विषादी जाँच हुँदैन।’ झारपात, वोटबिरुवा, माटो, खाद्य पदार्थबाट रोग र कीरा भित्रिन नदिन क्वारेन्टाइन कार्यालय राखिएको हो।

गड्डाचौकी क्वारेन्टाईन कार्यालयमा वरिष्ठ बाली संरक्षण अधिकृत, वालिसंरक्षण अधिकृत र त्रिनगर शाखा कार्यालयमा दुईजना प्राविधिक सहायक गरी ४ जना प्राविधकको दरबन्दी रहेको उनले बताए। वरिष्ठ बाली संरक्षण अधिकृतको दरबन्दी रिक्त छ।

उपकरण र जनशक्ति दुवै नहुदाँ नाकामा बिषादी जाँच नहुने उनी बताउँछन। ‘उपकरण भए प्राविधकको हैसियतले तालिम लिएर हामी पनि जाँच गर्न सक्छौं’, उनले भने। धनगढीको त्रिनगर नाकाबाट दिनमा औसत १० ट्रक र गड्डाचौकीबाट औसत पाँच ट्रक तरकारी र फलफूल भित्रिने उनले बताए।

कैलाली उद्योग वाणिज्य संघका प्रमुख पुष्प कुँवर नाकामा विषादी जाँच गर्ने व्यवश्था तुरुन्त गरिनुपर्ने बताउँछन। ‘हामीले कुनै पनि सामान भारत पठाउँदा जाँच नगरी लैजान दिँदैनन्,’ उनी भन्छन, ‘हामीले भने विषादी जाँच नगरी भारतबाट तरकारी, फलफूलसहित खाद्यपदार्थ भिœयाइरहेका छौं।’

अत्तरिया हाटबजारमा विषादी जाँच गर्ने पोस्ट भए पनि त्यो प्रभावकारी हुन नसकेको उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर वोगटी बताउँछन्। ‘नाकाबाट नमुना लिएर अत्तरिया पठाएर विषादी जाँच गर्ने कुरा व्यवहारिक नभएकाले प्रभावकारी भएको छैन’, उनले भने, ‘नाकामा जाँच नहुँदा विषादीयुक्त तरकारी र फलफूल भित्रिरहेका छन्।’ अत्तरियामा पनि आवश्यक उपकरण र जनशक्ति अभाव रहेको उनले बताए।

दिलबहादुर छत्याल/धनगढी, अर्जुनओली/नेपालगन्ज, विनोद परियार/बुटवल, टंक क्षेत्री/सर्लाही, युवराज विवश/दमक

प्रकाशित: २५ असार २०७६ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App