१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जगन्नाथ र गोपीनाथ मन्दिरको निर्माणबाट पछि हट्यो युनेस्को

काठमाडाैँ - २०७२ को भूकम्पका कारण भत्किएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरवारक्षेत्रका जगन्नाथ र श्री कृष्ण महाविष्णु (गोपीनाथ)  मन्दिरको निर्माण कार्यबाट राष्ट्र संघीय निकाय युनेस्को पछि हटेको छ।

कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मी तथा कामदारहरुलाई धम्काउन थालिएपछि युनेस्का मन्दिर निर्माणबाट पछि हटेको हो।  युनेस्कोले एक सूचना जारी गर्दै उक्त जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापना कार्य फिर्ता लिएको जनाएकाे छ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहाटयले भने,‟भूकम्पपश्चात नेपालका निर्मित सम्पदाहरुलाई संरक्षणका अन्तराष्ट्रिय सिद्धान्त एवं मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने विस्तृत कार्यको एउटा हिस्साका रूपमा काठमाडौँ उपत्यका विश्वसम्पदा स्थल भित्र संचालित यी दुई महत्वपुर्ण मन्दिरहरुको पुर्नस्थापना परियोजनाबाट पछि हट्नु पर्दा युनेस्को काठमाडौँ कार्यालय अत्यन्त दुखी छ।’

युनेस्कोले उक्त पुर्न:स्थापना कार्य पुरातत्व विभागको निकट साझेदारीमा जापान सरकार र नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेडकाे आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको थियो। क्षति आँकलनको रेखाङ्कन गर्ने, पुरातात्विक महत्वका वस्तुहरूको अभिलेखिकरण गर्ने, संरचनागत विश्लेषण गर्ने, जगको पुरातात्विक अनुसन्धान र मन्दिरहरूको विस्तृत रेट्रोफिटिङ गर्ने काम प्राविधिक रूपले जटिल प्रकृतिको रहेकाे युनेस्कोले जनाएकाे छ।

गोपी नाथा मन्दिरकाे सवालमा भुइँतलाका पर्खालहरूको मर्मत गर्ने क्रममा भवनको सम्पुर्ण संरचनालाई नै टेको लगाउनु पर्ने हुन्छ। युनेस्कोले तयार पारेको डिजाइनले मौलिक संरचना र त्यसमा प्रयोग गरिएका सामाग्रीहरूलाई संरक्षण गर्नुका साथै यी दुवै मन्दिरहरूलाई भविष्यमा आउन सक्ने भूकम्पले समेत असर पार्न नसक्ने गरी बालियो बनाउन खोजिएकाे जनाएकाे छ।

मन्दिर पुर्न:स्थापना कार्यको सुरूवात १० डिसेम्बर २०१८ मा गरिएको थियो। यद्दपि अन्तराष्ट्रिय सहायताको सट्टा आफ्नै स्थानीय आर्थिक स्रोतमा मन्दिरहरू पुर्नस्स्थापना गर्ने केही स्थानीय समूदायहरूको इच्छालाई दर्शाउदै दिइएको दबाबका कारण २३ डिसेम्बरमा

उक्त पुर्न:स्थापना कार्य रोकिएको थियो। यसलाई सम्बोधन गर्दै युनेस्कोले सम्बन्धित स्थानीय समुदायका सदस्यहरू संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय पुन:निर्माण प्राधिकरण, पुरातत्व विभाग, प्रदेश ३ का प्रदेश सांसद राजेश शाक्यसँग क्रमबद्द रूपमा बैठकहरूको आयोजना गरी १५ मे २०१९ देखि युनेस्कोले पुर्न:स्थापना कार्य फेरि सूचारू गरेकाे थियो।

तर फेरि कार्यस्थलमा धम्काउन थालिएपछि निर्माण कार्य राेकिएकाे युनेस्कोले जनाएकाे छ। विश्व सम्पदा स्थलका लागि आवश्यकअन्तराष्ट्रिय मापदण्ड अनुसार सम्पन्न गरियो भनी पुर्नस्स्थापना कार्यसँग सम्बन्धित सबै कागजात पत्रहरू पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ।

 

प्रकाशित: २४ असार २०७६ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App