१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिग्रियो वीरको इआरसिपी

काठमाडौं - कहिले सिटिसक्यान मेसिन बिगे्रको छ, कहिले एमआरई त कहिले एक्सरे। मेसिन बिग्रेर बिरामीले सेवा नपाउने समस्या वीर अस्पतालको दैनिकी जस्तै बनेको छ। यो वर्ष पनि लगातार मेसिनमा आएको खराबीले बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्।

एकातिर बिरामीको चापअनुसार उपकरण सीमित हुनु र भएकै उपकरण पनि बेलाबेलामा बिग्रिरहने समस्याले वीर अस्पतालमा सेवा लिन पुग्ने बिरामी हैरान भएका छन्। एक महिनाअघि बिग्रिएको एमआआई मेसिन केही दिनअघि मात्र बनेको थियो। नयाँ सिटिसक्यानमा रेडियसन चुहिएको भन्दै केही दिन सेवा बन्द भयो भने उता बिग्रेको पुरानो सिटिसक्यान मेसिन मर्मत भएको छैन।

अस्पतालको अर्को सेवा इआरसिपी उपकरण पनि हालै बिगे्रपछि तीन सातादेखि सेवाग्राही मारमा छन्। यो सेवा लिन अस्पतालमा सातामा १०÷१५ बिरामी आउँछन्। दश वर्ष पुरानो सो उपकरण मर्मत गर्न नेपालमा सम्भव नभएको र नयाँ मेसिन किन्न पनि तुरुन्तै सम्भव नभएकाले सेवा दिन नसकिएको अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख डा. विद्यानिधि पौडेलले बताए। उनले भने, ‘नयाँ किन्न वा मर्मत गर्न टेण्डर गर्नुपर्छ। कहिले बन्छ भन्न सकिँदैन।’

धेरै बिरामीको घुइँचो हुने वीर अस्पतालको इण्डोस्कोपी गराउन पनि धेरै दिन कुुर्नु पर्छ। पालो पाएको दिन घण्टौं खाली पेट पर्खिनु पर्दा बिरामीलाई शास्ती हुने गरेको छ। सोमबार एक सातापछि पालो पाएर अस्पताल आइपुगेकी कलंकीकी कान्ता सुवेदीले पालो पाउन तीन घण्टा कुरिन्। बिहान ९ बजे आएकी उनको पालो १२ बजे आयो। गम्भीर रोगका बिरामीले पनि इण्डोस्कोपी गर्न घण्टौं कुरिरहेको पाइयो।

इण्डोस्कोपी विभागमा मात्र नभएर जाँच गरिने सबैजसो विभागमा बिरामीले यस्तै शास्ती खेप्नु परिरहेको छ। दुई वटा इण्डोस्कोपी मेसिनमा दैनिक ४०÷५० बिरामीको इण्डोस्कोपी हुन्छ। सीमित इण्डोस्कोपीमा धेरै जनालाई गर्नुपर्दा चिकित्सक पनि सधैं तनावमा पर्ने गरेको अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा. भूपेन्द्र बस्नेत बताउँछन्। ‘एउटै उपकरणले धेरै जनालाई सेवा दिनुपर्दा औषधि हालेर सफा गरिरहनु पर्छ।

सफा गर्ने क्रममा चिकित्सकको आँखा पोल्ने गर्छ,’ डा. बस्नेतले भने। एउटै उपकरण तत्काल सफा गरी अर्को बिरामीका लागि प्रयोग गर्दा रोग सर्ने जोखिम पनि हुने उनी बताउँछन्। वीर अस्पतालमै सेवा लिन आउने बिरामीले समयमा उपचार नपाउँदा त्रिपक्षीय मार पर्ने गरेको उनी बताउँछन्। ‘पालो कुर्नकै लागि होटेलमा बस्नुपर्ने, बिरामी कुरुवा राख्नुपर्ने, समय खेर जाँदा दुई जनाको उत्पादकत्व खेर जाने गरेको छ,’ उनी भन्छन्।

अस्पतालको जुनसुकै विभागमा धेरै दिन पालो कुर्नुपर्ने र आइसकेपछि पनि घण्टौं पालो कुर्नुपर्ने समस्या वीरको पुरानै रोग भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको चिकित्सक बताउँछन्। केन्द्रीय तथा रेफरल अस्पतालमा देशभरका बिरामी जटिल रोगको उपचारको लागि आउने हुँदा अस्पतालको सबै सेवामा समस्या हुने गरेको छ। यसको मुख्य कारण अस्पतालमा बिरामीको चापअनुसार थप उपकरण तथा आपत्कालीन उपकरणको व्यवस्था हुन नसक्नु हो भन्छन् डा. बस्नेत। उनी भन्छन्, ‘यो अस्पतालमा आउने बिरामीलाई राम्रो सेवा दिने हो भने उपकरण र जनशक्ति थप्नुपर्छ।

एक करोड जनसंख्या हुँदाको जनशक्ति र उपकरणले अब हुँदैन।’ ठूलो अस्पताल भएकाले एकै पटक हरेक उपकरण बिरामीको चापअनुसार धेरैको संख्यामा चल्नुपर्ने उनी बताउँछन्। ‘बिरामीको चापअनुसार सबै विभागका मेसिन थप र तयारी अवस्थामा चलाउन मिल्ने गरी व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन्।

प्रकाशित: २४ असार २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App