१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयको नयाँ स्वरूपले पुरानो दुःख बिर्सायो

रामेछाप - खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित विष्णु जनज्योति माध्यमिक विद्यालय परिसरमा सुविधा सम्पन्न १९ कोठे चारवटा पक्की भवन निर्माण सम्पन्न भएका छन्। नवनिर्मित विद्यालय भवन शनिबार एक कार्यक्रमका बीच व्यस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन्।

दुर्गम गाउँमा सुन्नि विद्यालय भवन पाउँदा विद्यालयमा अध्ययनरत विद्यार्थी त दंग परेकै छन्, अभिभावक तथा शिक्षकले विद्यालय स्थापना कालमा बेहोरेको दुःख पनि बिर्सिएका छन्। संस्थापक प्रधानाध्यापक मानबहादुर कार्कीले २०४४ सालमा ‘भुराभुरी’ जम्मा गरेर बारीको पाटामा पढाउँदाको दुःख विद्यालयको नयाँ स्वरूपले बिर्साएको बताए। कार्कीले भने ‘त्यो बेलामा बारीका पाटामा पनि भुराभुरी जम्मा गरेर पढाउन निकै कठिन थियो। पछि मात्र चन्दा उठाएर चार–पाँच कोठाको कच्ची भवन बन्दा पनि केही खुसी मिलेकोमा अहिले यतिको सुविधा–सम्पन्न विद्यालय बन्दा को खुसी नहोला।’ उनले कुनै दिन यस्तो सुविधा–सम्पन्न विद्यालय बन्ला भन्ने कल्पनासमेत आफूले नगरेको बताए।

विद्यालयले सुविधा–सम्पन्न भवन पाएको खुसीसँगै क्षमतावान विद्यार्थी उत्पादनमा लागि पर्नुपर्ने आवश्यकतातर्फ अब आफूहरू केन्द्रित रहने प्रधानाध्यापक प्रमोद केसीले बताए। ‘हिजो संरचना नहुँदा पठनपाठन प्रभावित हुने गथ्र्यो,’ उनले भने, ‘आज सोचेभन्दा राम्रो संरचना बनेर विद्यालयको वातावरण अर्कै भएको छ। विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नयाँ उर्जा मिलेको छ।’

राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षामार्फत लुम्बिनी÷खानी जेभीले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा ती भवन निर्माण गरेको हो। जेभीका सञ्चालक उज्वल सुवेदीका अनुसार बनेका विद्यालय भवनको लागत ६ करोड ६९ लाख रहेको छ।

प्रकाशित: २४ असार २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App