१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्तर्रजातीय बिहे गर्ने जोडीलाई सम्मान

बाजुरा-अन्तरजातीय बिहे गर्ने ६ जोडीलाई सम्मान गरिएको छ। जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६ जोडीलाई सम्मान गरिएको हो । विवाहीत जोडीलाई व्यवस्थापिका संसद कर्णबहादुर विक, सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले सम्मान गरेका हुन्।


दलित र गैर दलितबीचको अन्यायपूर्ण कुमान्यतालाई तोड्न साहस गर्ने जोडीहरुलाई सम्मान गरिएको सुरेश विकले बताए। जिल्ला विकास समितिसँगको सहकार्यमा नेपाल दलित समाज मञ्च बाजुराले सम्मान गरेको अध्यक्ष विकले बताए।

सम्मानीत हुनेमा गोरख विक र धनी अयडी, दीपक विक र सञ्चीता खड्का, खगेन्द्र सार्की र शितलपुरा शाही, बिशाल वि.क र बसन्ती रावल, प्रेम कार्की भोटे र सरिता नेपाली, गोरख सार्की र अप्सरा अयडी रहेका छन्।

सम्मानीत हुने जोडी मध्ये कसैले पनि माइतिघरमा जान नपाएको गुनासो गरेका छन्। २८ वर्ष पहिले गोरख विक र धनी विकको जोडीले पञ्चायत कालमानै बिहे गरेका थिए। जुन समय उनीहरुलाई गाउँ निकाला गरिएको थियो।

दुई वर्ष भारतको नयाँ दिल्लीमा बिताएर घर फर्कको र गाउँमा बस्ने वातावरण नभएपछि लुकीछिपी जीवन बिताएको सम्मान कार्यक्रममा गोरख सार्कीले दुखेसो सुनाए। दलितसँग विहे गरेकै कारण नौ वर्षसम्म आमा बुबाको मुख समेत हेर्न नपाएको दुखेसो शितलपुरा शाहीले गरिन्।

राज्यका तर्फबाट धेरै पछि भएपनि प्रोत्साहन पाउँदा खुसी लागेको प्रेम कार्की भोटेले बताए । भोटेलाई पनि दलितसँग विहे गरेको भन्दै जनजाति समुदायले गाउँमा बस्न दिएका थिएनन्। गाउँबाट विस्थापीत भएपछि ड्राभिङको काम सिकेको उनले बताए। आफ्नो पेशा छोडेर उनी हाल जिप चलाई रहेका छन्।

गाउँमा धेरैले अन्तरजातीय विहे गरेका भएपनि गुपचुपमा नै छन्। अधिकांश जोडीहरु विदेशीन बाध्य छन्। गैर दलितको छोरीसँग बिहेगर्दा एसएलसीको प्रमाण पत्र समेत अझै नपाएको गुनासो विशाल विकको छ।

सम्मानीत जोडीहरुले प्रमाण पत्र, दोसल्ला र अविर लगाएर मात्र न्याय नमिल्ने बताए। समाजले दिएको चोट, गरिएको अपहेलना र तिरस्कारका विरुद्ध राज्य मौन हुन दुखत भएको गोरख सार्कीले बताए।

प्रकाशित: ७ वैशाख २०७३ ०३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App