१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जब महानगरपालिका कार्यालय क्षेत्रनै ढलको डुबानमा पर्‍यो... (भिडियो)

काठमाडौं- ढल थुनियो, फोहोर थुप्रियो भने नगरवासीहरु जनप्रतिनिधिको कार्यालयमा पुग्छन्। तर काठमाडौं महानगरपालिका कार्यालय रहेको स्थानमा भने दुई दिनदेखि ढल थुनिएको छ।

महानगरको कार्यालय रहेको बागदरवार क्षेत्रहुँदै सुन्धाराको ढल टेकु पुग्नेगर्छ। तर सरकारी कार्यालय त्यो पनि कारागार जस्तो संवेदनसिल निकायले अनधिकृतरुपमा बनाएको संरचनाले ढल थुनिएको हो।

कारागारले विना अनुमति निर्माण गरेका क्यान्टिन, महिला प्रहरी व्यारेकले ढल निकासमा अवरोध पुर्याएपछि पटक पटक उक्त क्षेत्र ढलको डुवानमा पर्दै आएको छ। त्यहीँ रहेको राजकुलोबाट ढल निकासा हुँदै आए पनि कारागारले संरचना बनाएपछि अहिले ढल थुनिएको हो। कारागारसँगै राणाकालको १६ फिटे राजकुलो छ। त्यही राजकुलोको माथी कारागारले संरचना निर्माण गरेको छ।

कारागारले महानगरपालिका र सम्बन्धित वडासगँ स्वीकृति नलिई संरचना निर्माण गरेको बताउँछन् वडा नं ११  का अध्यक्ष हिरालाल तन्डुकार। ढलले निकास नपाउँदा वागदरवार, चाइनाटाउन क्षेत्रमा दुर्गन्ध समेत फैलिएको छ। महानगरपालिका कार्यालयको पार्किङअघि पाँचभन्दा बढी ठाउँमा ढल थुनिएर नाला फुटेको छ। कार्यालय भवनको भुइँतला जलमग्न भएपछि बत्तीको लाइन पास हुन नसक्दा रिपब्लिक मिडियालगायत कम्पनी र कार्यालयको काममा अवरोध भएको छ। चाइनाटाउनका व्यापारीहरु र उक्त क्षेत्रबाट पास हुने सवारी साधन समेत ढलका कारण प्रभावित बनेका छन्।

वडाअध्यक्ष तन्डुकार समस्याको दिर्घकालिन समाधानको लागि पहल गरिरहेको बताउँछन्। 'कारागारले संरचना निर्माण गर्दा समस्या आएको छ। तर यी संरचनाको बारे सुरक्षापरिषदले निर्णय गर्नु पर्ने रहेछ', उनले भने ' हामीले तत्कालको निकासको लागि गृहसचिवसँग कुरा गरेर समस्या समाधानको लागि पहल गरेका छौं।'

सोमबार दिउँसोबाट ढल खुलाउनको लागि डोजर लगाएर केही संरचना भत्काउने र जाम खोल्ने काम वडा कार्यालयको पहलमा सुरु भएको छ। कारागारले निर्माण गरेको एक अस्थायी भवन भत्काइएको तन्डुकारले बताए।

महानगरपालिका र वडा कार्यालयले आइतबार र सोमबार जेटमेसिन लगाएर थुनिएको पानी र ढललाई निकास दिने प्रयास गरे। लामो प्रयास गर्दा पनि ढल पास हुन सकेन।

यसो त यो पहिलो पटक ढल थुनिएको भने होइन। पटक पटक वर्षातमा ढल थुनिने गरेपनि महानगर नदेखेझै गरिरहन्छ। तन्डुकारले नयाँ ढल हालेर समस्या समाधान गर्ने बताए।

ढल थुनिएर बिजुलीको लाइन पास नभएपछि व्यापारमा लाखौं रुपैयाँको क्षति भएको व्यवसायीले बताएका छन्। जेलर वेदनिधि अधिकारीले सार्वजनिक नभई जेलकै जग्गामा महिला व्यारेक निर्माण गरिएको बताए। ‘यो सार्वजनिक जग्गा होइन। ४२ रोपनीभित्रै रहेको जेलकै जग्गामा भवन बनाइएको हो,’ उनले भने, ‘म आउनुअघि नै यो संरचना बनिसकेको थियो। भवन निर्माण गर्दा वडालाई सूचना गर्नुपर्ने हो। त्यतिखेर वडा कोअर्डिनेसन गरिएनछ।’

यस क्षेत्रबाट ढल निकास गरिएको बारे जानकारी नभएका कारण पनि यस्तो समस्या आएको वडाअध्यक्ष तन्डुकार बताउँछन्।

 

प्रकाशित: २३ असार २०७६ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App