१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किन मिलेन निर्देशिका र सिफारिस राजदूतको मापदण्ड?

काठमाडौ- सरकारले विभिन्न चार देशका लागि राजदूत सिफारिस गरेको छ। उनीहरुको संसदीय सुनुवाई पनि सुरु भएको छ। तर उनीहरुलाई सिफारिस गर्दा सरकारले आफैले बनाएको राजदूत नियुक्ति सम्बन्धी मापदण्ड मिचेको छ। पराराष्ट्र मन्त्रालयले गत वर्ष बनाएको मापदण्डलाई लत्याउँदै राजनीतिक कोटालाई प्रमुख आधार बनाइएको छ।  सरकारले सिफारिस गरेका राजदूतमध्य स्पेनका लागि सिफारिस पर्यटन व्यवसायी एवं यती एयरलाइन्सका सञ्चालक लाक्पा सोनम शेर्पाकी छोरी दावाफुटी शेर्पा र अष्ट्रेलियका लागि सिफारिस महेश प्रसाद दाहालको विषयलाई लिएर सरकारले बढि आलोचना सहनु परेको छ।

केपी ओली नेतृत्व सरकार आफैले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ लाई उल्लंघन गर्दै सरकारले अष्ट्रेलिया, स्पेन, कतार, बंगलादेशसहितका देशका लागि नाम सिफारीस गरेको थियो। उनीहरुको सोमबारदेखि संसदीय सुनुवाई भएको छ।

सरकारले राजदूतको लागि छ पेज लामो निर्देशिका बनाएको थियो। उक्त निर्देशिकामा भनिएको छ, ‘राजदूत नियुक्ति प्रक्रियाको प्रारम्भ मन्त्रालयबाट गरिने छ।’ तर हाल सिफासिस भएका राजदूतहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका शीर्ष नेताहरुको खल्तिबाट सिफारिस भएका हुन्।

निर्देशिकामा भनिएको छ, ‘मन्त्रालयले राजदूतको सम्भावित उम्मेद्वारको सूची तयार गर्नेछ।’ तर राजदूतको नाम मन्त्रिपरिषदमा पेश गर्नु भन्दा पहिले पराराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई यस विषयमा जानकारी समेत नरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ। ‘राजदूत नियुक्तिका लागि परराष्ट्रसेवा अन्तर्गत भए विशिष्ट वा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी हुनुपर्ने छ,’ नागरिकन्यूजलाई प्राप्त राजदूत नियुक्ती सम्बन्धी निर्देशीकामा भनिएको छ, ‘मुलुकको परराष्ट्रनीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कुटनीतिक क्षेत्रमा महत्वपूर्ण दख्खल राख्ने वा योगदान पुर्‍याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुमध्यबाट सिफारिस गरिनेछ।’ सरकारले हाल सिफारिस गरेका चार जनामध्य शेर्पा र दाहालको मापदण्ड निर्देशिकामा व्यवस्था गरे अनुसार देखिदैन।

अष्ट्रेलियाका लागि सिफारिस राजदूत दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समय नेपाली कांगे्रसमा सक्रिय दाहाल गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए। उनको राजदूत बन्ने मुख्य योग्यता नेकपाका अध्यक्ष दाहाल निकट हुनु नै हो। दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो समयमै महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।

दाहालले लाई कांग्रेस कार्यकर्ता हूँदै निर्वाचनमा नेकपा अध्यक्ष दाहाललाई सघाएकाले उनलाई राजदूत पदबाट सम्मानित गरेको निकट स्रोतको दाबी छ। सुशील कोइराला प्रधानमन्त्री हुँदा उनी नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए। उनले तरुणदलमा महत्वपूर्ण जिम्मेवारी समेत निभाएका थिए।

त्यस्तै, शेर्पा स्पेनका लागि राजदूतमा सिफारिस हुनुको मुख्य कारण हेलकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरीङ शेर्पा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको निकट सम्बन्धी भएको स्रोतको दाबी छ। केही समय अघी मात्र उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएकी उनलाई प्रधानमन्त्री ओलीले उनलाई कुटनीतिक पृष्ठभूमि नभएपनि राजदूतमा सिफारिस गरेका हुन्। दावाफुटीले केही समय अघी मात्र आमाको नाममा स्थापित पासाङ ल्हामु पर्वतआरोहण प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी थिइन्।

सरकारले तयार पारेको राजदूत नियुक्ति सम्बन्धी निर्देशिकामा राजदूत नियुक्तिका लागि योग्यतामा भनिएको छ, ‘न्यूनतम ३५ वर्ष उमेर पुरा भएको नेपाली नागरिक, नेपालल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक उपाधी हासिल गरेको, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्ने छ।’

त्यस्तै विदेशी मुलुकको स्थायी अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्रनीति, अन्तराष्ट्रिय सम्बन्ध, द्विपक्षीय/बहुपक्षीय कुटनीतिका आयामबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको र नियुक्त भइ जाने मुलुकको कार्यसम्पादनको ज्ञान वा अनुभव भएको हुनुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।

निर्देशिकामा राजदुत हुनका लागि अंग्रेजी भाषाको राम्रो ज्ञान भएको, सम्बन्धीत मुलुकमा हित बाझिने अवस्था नरहेको र नियुक्तिका बेला कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायतामा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने योग्यतामा उल्लेख छ। उच्च नैतिक चरित्र भएको, कालो सूचिमा नपरेको, लाभको पद धारण गरी वा विदेशी राष्ट्रले नियुक्ति गरेको जिम्मेवारीमा कार्यरत व्यक्त भए अवकाश लिएको १० वर्ष पुरा भएको हुनुपर्ने मापदण्ड निर्देशिकामा उल्लेख छ।

 

प्रकाशित: २३ असार २०७६ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App