२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बाढीका कारण चीन जोड्ने सडक अवरुद्ध

मैलुङ–स्याफ्रु सडकखण्डको ठूलोखोला क्षेत्रमा बाढीले क्षतिले क्षति गरेको सडक। तस्बिर:नागरिक

रसुवा - अविरल वर्षाको कारण आएको बाढीले सडकमा क्षति पु¥याएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक खण्ड अन्तर्गत ठुलोखोला क्षेत्रमा बाढीले क्षति गरेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बेत्रावती–धुन्चे सडक खण्डबाट सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

सडक मर्मतका लागि पहल भइरहेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। ‘सडक मर्मतका लागि हामीले समन्वय गरिरहेका छौं,’ उनले भने, ‘उक्त सडक बन्द भएपछि बेत्रावती धुन्चे खण्डमा सवारीको चाप बढेको छ।’

बाढीले बिगारेको सडक मर्मत गर्न कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। वर्षाको समयमा सडक खण्डमा पहिरोको जोखिम बढी हुने भएकाले करिब तीन महिना सवारीसाधन सञ्चालन गर्न उपयुक्त नहुने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।

नाका जोड्ने वैकल्पिक सडक भएका कारण मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा दसैंपछि मात्रै सवारीसाधन सञ्चालन गर्दा सुरक्षित हुने उनको भनाइ छ। उनले सडक स्तरोन्नतिका लागि दसैंपछि काम सुरु गरिने पनि बताए।

वर्षाको समयमा काम गर्न कठिन हुने भएकाले दसैंपछि मात्रै ने योजना रहेको उनले बताए। नेपाली सेनाले २०७५ जेठ ६ गते सडक निर्माण सम्पन्न गरेको थियो। डिपिआर निर्माण तथा संशोधनमा ढिलाइ, विस्फोटक पदार्थ अभाव, मुआब्जा वितरणमा समस्या, निर्माण सामग्रीको उपलब्धता सहज नभएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ।

यो सडक खण्डमा सुरुङ निर्माणका लागि समेत अध्ययन गरिएको छ। पहिलो चरणमा सडकको स्तरोन्नति गर्ने तथा दोस्रो चरणमा सुरुङ निर्माणको काम हुने योजनाले जनाएको छ।

धादिङको गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ। जसमध्ये १९ किलोमिटर ट्र्याक खोलिएको छ। स्याफ्रुदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीन सरकारबाट निर्माण कार्य अघि बढेको छ। यो सडक बेत्रावती, कालिकास्थान, धुन्चेहुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

प्रकाशित: २३ असार २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App