१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागारको नयाँ भवनले महानगरको ढल थुन्योे

काठमाडौं - केन्द्रीय कारागारले अनधिकृत ढंगले संरचना निर्माण गरेपछि बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय भवनको ढल थुनिएको छ। कारागारले महानगरपालिका र सम्बन्धित वडासगँ स्वीकृति नलिई महिला व्यारेक संरचना निर्माण गरेपछि ढल थुनिएको हो। शनिबारको वर्षाको पानीले ढलबाट निकास नपाएपछि महानगरपालिका कार्यालय रहेको भवन र चाइनाटाउनको भुइँतला डुबानमा परेको छ। डुबानले आसपासको क्षेत्रसमेत दुर्गन्धित बनेको छ।

महानगरपालिका कार्यालयको पार्किङअघि पाचभन्दा बढी ठाउँमा ढल थुनिएर नाला फुटेको छ। कार्यालय भवनको भुइँतला जलमग्न भएपछि बत्तीको लाइन पास हुन नसक्दा रिपब्लिक मिडियालगायत कम्पनी र कार्यालयको काममा अवरोध भएको छ। पार्किङका रुपमा पनि प्रयोग हुँदै आएको भुइँतला डुबानमा परेपछि गाडी राख्न पनि समस्या भएको छ। डुबानले दुर्गन्ध बढेपछि भएपछि विभिन्न कार्यालय÷कम्पनीका कर्मचारी, चाइना टाउनका व्यापारी तथा सोवाग्राही नाकमुख थुनेर काम गर्न÷सेवा लिन बाध्य छन्।

आफ्नै कार्यालय रहेको भवन वर्षासँगै पटकपटक डुबानमा पर्दा पनि महानगरपालिकाले समस्याको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन। ढल प्रभावित क्षेत्र ११ नम्बर वडाअन्तर्गत पर्छ।

महानगरपालिका र वडा कार्यालयले आइतबार जेटमेसिन लगाएर थुनिएको पानी र ढललाई निकास दिने प्रयास गरे। लामो प्रयास गर्दा पनि ढल पास हुन सकेन। काठमाडौं महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तन्डुकारले कारागार प्रशासनले महानगरपालिका र वडासँग स्वीकृति नलिई सार्वजनिक जग्गामा भवन बनाएपछि ढल थुनिएर समस्या उत्पन्न भएको बताए। ‘कारागारले वडा र महानगरपालिकासगँ कुनै स्वीकृति नलिई भवन बनाएको छ,’ उनले भने, ‘यसरी ढल भएको सार्वजनिक जग्गामा संरचना बनाउन पाइँदैन। सार्वजनिक जग्गामा नक्सा पास नगरी नयाँ भवन बनाइएको छ। यसले गर्दा पटकपटक ढल थुनिएको छ। भवन बनाउँदा ढल पनि हेर्नु पर्छ नि।’

आफ्नै कार्यालय रहेको भवन वर्षासँगै पटकपटक डुबानमा पर्दा पनि महानगरपालिकाले समस्याको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन।

तन्डुकारले सोमबार नयाँ ढल हालेर समस्या समाधान गर्ने बताए। उनले भने, ‘जेटमेसिनले पनि ढल खुलेन। भित्र जाम भएको छ। सोमबार कारागारको भवन भत्काएर भए पनि नयाँ ढल पास गराउँछौँ।’ बागदरबार क्षेत्रका स्थानीय शेरबहादुर श्रेष्ठले कारागार प्रशासनले मापदण्डविपरीत संरचना बनाउँदा ढल थुनिएको बताए। उनका अनुसार कारागारसँगै राणाकालको १६ फिटे राजकुलो छ। त्यही कुलोबाट ढल निकासा भएको थियो। तर कारागारले त्यहाँ संरचना बनाएपछि अहिले ढल थुनिएको छ।

‘कारागारले यसरी सार्वजनिक जग्गामा आफूखुसी संरचना बनाउन नपाउने हो,’ उनले भने, ‘पहिले ढल थुनिएको थिएन। कारागारले भवन बनाएपछि अहिले ढल थुनिएको हो। वडालाई जानकारी नगराई भवन बनाइएको छ।’ उनका अनुसार ढलको दुर्गन्धले विभिन्न रोगहरु फैैलिने सम्भावना उच्च छ। पटकपटक ढल फुट्ने र थुनिने समस्या आएकाले महानगरपालिकाले दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने उनले बताए। उनका अनुसार ढलको अवरोधले व्यापारी, व्यवसायी, कर्मचारी र मजदुरको काममा बाधा पुगेको छ।

ढल थुनिएर बिजुलीको लाइन पास नभएपछि व्यापारमा लाखौं रुपैयाँको क्षति भएको व्यवसायीले बताएका छन्। जेलर वेदनिधि अधिकारीले सार्वजनिक नभई जेलकै जग्गामा महिला व्यारेक निर्माण गरिएको बताए। ‘यो सार्वजनिक जग्गा होइन। ४२ रोपनीभित्रै रहेको े जेलकै जग्गामा भवन बनाइएको हो,’ उनले भने, ‘म आउनुअघि नै यो संरचना बनिसकेको थियो। भवन निर्माण गर्दा वडालाई सूचना गर्नुपर्ने हो। त्यतिखेर वडा कोअर्डिनेसन गरिएनछ।’ उनका अनुसार गत साल नयाँ संरचना निर्माण गरिएको होे। उनले भने, ‘आवश्यक परे भवन भत्काएर भए पनि ढलको निकास गर्छौ।’

प्रकाशित: २३ असार २०७६ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App