१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पानीमाथिको बसाइँ

जानकी गाउँपालिकाको पिप्रहवामा रहेका झुपडी घरहरू। यहाँ जम्मा हुने पानीको उपयुक्त निकाश नहुँदा यो गाउँ सानो झरिमा समेत डुबान हुने गर्छ। तस्बिर : जी. थापा/नागरिक

नेपालगन्ज– जानकी गाउँपालिका–५, पिप्रहवाका प्रेमबहादुर लोहनिया आइतबार दिउँसो घरभित्रै थिए। बाहिर वर्षा भइरहको थियो। घर अगाडिको बारीमा पानी भरिएर घरभित्र पस्दै थियो। उनी त्यहाँबाट बाहिर पनि जान खोजेनन्। असारे वर्षाले उनी चिन्तित थिए। घर अगाडि जमेको पानी धुमिलो थियो। त्यहीँ पानीमा उनकै अगाडि विषालु सर्प देखियो। उनी जुरुक्क खाटमा उभिए। सर्प पानीबाट तैरिएर उनकै खाटतिर आउँदै थियो। आँखा चिम्लेर कराए। खोल्दा सर्प कता गयो पत्तै भएन। यो नियमित उनको आइतबारको मात्र होइन। जब वर्षा हुन्छ तब उनको यो नियति दोहोरिन्छ।

‘दिउँसै थियो, सर्प देखेर बाँचेँ,’ उनले भने, ‘राति भएको भए खत्तम हुने थियो।’ सानो छाप्रोभित्रै पानी पस्दा त्यहीँ पानीमाथि उनी त्रासैत्रासले रात कटाउँछन्। सोही गाउँकै लाजमति लोहनिया दिउँसो खाटमा छोरीसँगै सुतेकी थिइन्। ‘पानीमाथि खाट थियो,’ गत वर्षको घटना सम्झदै उनले भनिन्, ‘छोरी हेर्दा खाटबाट खसेर पानीमा रहिछ।’ यो नियति उनीहरूको मात्र होइन। यो गाउँका दर्जन बढी कुर्मी र यादव समुदायको नियति हो। वर्षा लाग्दा उनीहरू भगवान् पुकार्दै सुत्छन्।

पिप्रहवाभित्रको गाउँबाट आएको नाला यही बस्तीमा छोडिएको छ। यता नेपालगन्ज–कोहलपुर सडकखण्डको नाला पनि यही बस्तीमा छोडिएको छ। जसले गर्दा सानो पानी प¥यो भने यो गाउँ डुबानमा पर्छ। यो गाउँ नेपालगन्ज–कोहलपुर सडक छेउकै हो। ‘ठूला घर भएका सुरक्षित बसेका छन्,’ अमर लोहनियाले भने, ‘हामी सानो छाप्रोवाला त्रासैत्रासमा बस्छौं।’ डुबानले घरमा रहेको अन्नपानी, लत्ताकपडा सबै भिजाउने गरेको उनले बताए। वडा कार्यालयमा पटक पटक कुरा राख्दा पनि समस्या समाधान हुन नसकेको यहाँका बासिन्दा बताउँछन्। पाँच वर्षदेखि यो गाउँ डुबानमा पर्ने गरेको उनीहरू बताउँछन्। भित्री गाउँ र सडकको ढल यहाँ आउँदा डुबान हुने गरेको अमरले बताए। जनता आवास कार्यक्रमले आफूहरुलाई छुन नसकेको भन्दै यहाँका बासिन्दाले आक्रोशसमेत व्यक्त गरेका छन्। ‘हाम्रो यस्तो झुपडी छ,’ प्रेमबहादुरले भने, ‘जनता आवास हामलाई देख्दैन्।

यहाँका बासिन्दालाई राहतभन्दा यहाँ ढल निकासका लागि नाला निर्माण गर्नु ठूलो सहयोग हुनेछ। यहाँ बालबालिका र वृद्धवृद्धालाई झनै समस्या हुने गरेको छ। ‘रातिको समयमा बत्ती हुँदा कही डर भाग्छ,’ अमरले भने, ‘बत्ती भयो भने डरले निद्रा लाग्दैन।’ साथै यो सँगै लगातार परेको वर्षाले नेपालगन्जका केही क्षेत्र डुबानमा परेका छन्।

प्रकाशित: २२ असार २०७६ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App